नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालन

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ।

उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजनाअनुसार सदरमुकाम विदुरस्थित ढुंगे–१ मा अस्पताल सञ्चालन गरिएको हो।

सञ्चालनमा रहेको १५ बेडको नुवाकोट अस्पतालसँग व्यावसायिक साझेदारीपछि ५० बेडमा स्तरोन्नती गरेर स्टार नुवाकोट सञ्चालनमा ल्याइएको हो।

स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर महर्जजनले बुधबार औपचारिक उद्घाटनगरेसँगै स्टार नुवाकोट औपचारिक सञ्चालनमा आएको हो।

जनरल प्राक्टिसनबाट नियमित विशेषज्ञ सेवासँगै सातामा एक दिन काठमाडौंबाट गएका विशेषज्ञले विशिष्टिकृत सेवा दिने अस्पतालले जनाएको छ।

सिटी स्क्यानसहित अत्याधुनिक उपकरण रहेको अस्पतालमा पेटरोग, छाला रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोगलगायत विशेषज्ञ सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

नुवाकोटमा निजी क्षेत्रबाट विशेषज्ञ सेवासहित हाल कार्डियाक र न्युरो सर्जरीबाहेकका सबै सेवा उपलब्ध हुने प्रबन्ध निर्देशक राजु अमात्यले जानकारी दिए।

अस्पताल स्थापनासँगै नुवाकोटसहित धादिङ र रसुवाका ३ लाखभन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास महर्जनको छ।

‘यो क्षेत्रका झन्डै ३ लाख जनसंख्याका लागि २ सय बेडजति मात्रै उपलब्ध छ,’ महर्जनले भने।

उनले उपलब्ध बेड अनुपातमा ३ हजार जनसंख्याबराबर १ बेड हुने भन्दै यो क्षेत्रमा सेवाको ठूलो ‘स्कोप’ देखेरै अस्पताल स्थापना गरेको स्पष्ट पारे।

महर्जनले नजिकै स्वास्थ्य संस्था भएमा बिरामी रोग पालेर नबस्ने र समयमै उपचारका लागि जाने बताए। ‘समयमै उपचारका लागि जाँदा समयमै रोग पत्ता लाग्छ, थोरै खर्चमा जटिल अवस्था आउनबाट रोक्न सकिन्छ र लामो आयु बाँच्न सकिन्छ,’ उनले भने, ‘नुवाकोटवासीमा रोग पालेर बस्नुपर्ने बाध्यता नआओस् भनेर हामी विशेषज्ञ सेवा दिन यहाँ आएको हौं।’

निजी क्षेत्र सरकारसँग हातेमालो गरेर सेवा दिन अग्रसर हुँदा पनि सरकारले भने सहज अवस्था नदिएको उनको भनाइ थियो।

‘५० बेडको स्वीकृति लिन, एउटा सुविधा सम्पन्न एम्बुलेन्स किन्ने अनुमतिका लागि हामीले स्थानीय, प्रदेश र केन्द्र सरकारका ढोकामा महिनौं चहार्नुपर्छ,’ महर्जनले गुनासो गरे।

स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले स्टार एउटा नाफामूलक संस्थामात्रै नभएर स्वास्थ्य सेवामा छुट्टै पहिचान बनाएको संस्था भएको बताए।

‘सानेपामा रहेको परिसरमा भर्टिकल ग्रोथबाट बहिर निस्किएर होरिजोन्टल ग्रोथका लागि नुवाकोट आएका हौं,’ रुपाखेतीले भने।

स्टार अस्पतालले कोरोना महामारीमा उल्लेखनीय सेवा दिएको भन्दै रुपाखेतीले निजी क्षेत्रमै पिसिआर परीक्षण गर्ने पहिलो संस्था भएको स्मरण गरे।

‘कोरोना परीक्षणको रिपोर्ट आउन तीन–चार दिन लागिरहेको अवस्थामा हामीले पाँच घन्टामै रिपोर्ट दिने अवस्था बनायौं,’ उनले भने।

स्टारमा सबैखालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको विशेषज्ञ सेवाको ‘ब्याकअप’ बन्नका लागि स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको स्पष्ट पारे।

उनले सुलभ स्वास्थ्य सेवाका लागि सरकारले ल्याएको बिमा कार्यक्रमसँगै स्टार अस्पतालले ल्याउन लागेको ‘स्टार अस्योरेन्स’ नामक बिमा पनि लागू गर्ने जानकारी दिए।

‘यी दुवै बिमा सञ्चालनमा ल्याए पनि स्टार नुवाकोट अस्पताल विपन्न समुदायका नागरिकको पनि पहुँच स्थापित भएको नमुना अस्पताल बन्ने विश्वास छ,’ उनले भने।

कार्यक्रममा नुवाकोट प्रहरी प्रमुख डिएसपी रुपक खड्का, नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य, त्रिशुली अस्पतालका मेडिकल डाइरेक्टर डा. दिपेन्द्र पाण्डे, पूर्वमेयर ठाकुर गजुरेललगायतले निजी क्षेत्रका स्वास्थ्य संस्था आमनागरिकको पहुँचमा नभएको भन्दै नुवाकोट स्टार अस्पतालले यो सन्दर्भमा भिन्न छवि बनाओस् भन्ने शुभकामना दिए।

अस्पतालले सञ्चालन सुरुवातको उपलक्ष्य पारेर तीन दिने निःशुल्क विशेष स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ।

 

 

 



One thought on “नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालन

  1. Great job , Kishore and Star hospital management ! Very happy to know about this Horizontal expansion Shail ! Wishing you all the best , prosperity and progress .

Leave a Reply

Your email address will not be published. Required fields are marked *