के बूस्टर डोज लगाउनु कोभिड खोप खेर फाल्नु हो?

धेरै देशले कोभिड-१९ विरुद्ध पूर्ण मात्रामा खोप लिएका मानिसलाई बूस्टर डोज भनिने अतिरिक्त मात्रा दिन सुरु गरिरहँदा यसको प्रभावकारिता प्रमाणित भए वा नभएको विषयमा बहस चलिरहेको छ।
कैयौँ मानिसले कोभिड खोपको एक मात्रा पनि नपाएको अवस्थामा खोप पाइसकेका व्यक्तिलाई बूस्टर डोज दिनु “अनैतिक” हुने धारणा पनि व्यक्त भएको छ।
पूर्ण मात्रामा खोप लिइसकेका व्यक्तिलाई अतिरिक्त मात्रा दिने उद्देश्यका पछाडि कोरोनाभाइरसको डेल्टा भेरिअन्टको त्रास भएको ठानिन्छ।
प्रमाणहरू सीमित भएकाले प्रभावकारिता तथा आवश्यकता पुष्टि नहुँदै कोभिड खोप अपर्याप्त भएको बेलामा अतिरिक्त मात्रा दिन खर्च गरिएको विषय अहिले विवादित बनेको छ।
“केही मानिसहरू डुब्ने निश्चित हुँदाहुँदै डुब्नबाट जोगाउने ज्याकेट यसअघि नै पाइसकेका मानिसलाई दोहोर्याएर दिने योजना हामी बनाइरहेका छौँ,” कोभिड-१९ महामारीलाई एउटा डुब्न लागेको डुङ्गासँग तुलना गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक तथा महामारीविज्ञ माइक रायन भन्छन्।
डब्ल्यूएचओले एउटा बलियो नैतिक आधार देखाएर सरकारहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज रोक्न भनिरहेको छ। उसले विश्वको जनसङ्ख्याको ठूलो भागले खोप नपाउँदा सम्म बूस्टर डोज रोक्न आग्रह गरेको छ।
तर बूस्टर डोजका पक्षमा पनि केही वैज्ञानिक प्रमाण र तर्कहरू प्रस्तुत गरिएको छ। कतिपयले यस्तो मात्रा आवश्यक भए पनि दिने समय आइनसकेको धारणा राखेका छन्।
कुनकुन देशमा दिइँदैछ बूस्टर डोज?
विश्व स्वास्थ्य सङ्गठनको अपील आग्रहविपरीत धेरै देशले निश्चित उमेर समूहका मानिसमा बूस्टर डोज लगाउन सुरु गरिसकेका छन्।
अमेरिकाले मोर्डेना वा फाइजरको दोस्रो खोप लगाएको आठ महिना पुगेका जुनसुकै उमेर र स्वास्थ्यस्थितिका मानिसलाई बूस्टर डोज लगाउन भनिसकेको छ।
यूएईको दुबईमा उच्च जोखिम समूहका मानिसहरू खोपको दोस्रो मात्रा लगाएको तीन महिना र अरू मानिसहरू छ महिनापछि बूस्टर डोज लगाउन योग्य हुने भनिएको छ।
इजरेलले दोस्रो मात्रा लगाएको पाँच महिना पुगेका ४० वर्षमाथिका सबै नागरिकलाई बूस्टर डोज दिँदै आएको छ।
चिले, युरुग्वे र क्याम्बोडियाले जोखिम समूहमा रहेका र ज्येष्ठताका आधारमा यसअघि सिनोफार्म र सिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका मानिसलाई बूस्टर डोज लगाउन भनिरहेका छन्।
थाईल्यान्ड र इन्डोनेशियाले यसअघि सिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका स्वास्थ्यकर्मीहरूलाई तेस्रो मात्रामा फरक कम्पनीको खोप लगाउन भनेका छन्। थाईल्यान्डमा जम्मा आठ प्रतिशत र इन्डोनेशियामा जम्मा १२ प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा कोभिड खोप लगाउने अवसर पाएका छन्।
फ्रान्स र जर्मनीले आगामी सेप्टेम्बरबाट बूस्टर डोज दिने तयारी अघि बढाएका छन् भने ब्रिटेनले यसबारे अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन।