फाइजरले भन्यो : बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी देखियो

हेल्थपोस्ट नेपाल

फाइजर/बायोएनटेकले कोभिडविरुद्ध आफूले उत्पादन गरेका खोपको बुस्टर मात्राले ‘ओमिक्रोन’ भेरियन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ।

अन्य भेरियन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडी अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले अध्ययनपछि जनाएको छ। यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो। विश्वभरका अध्ययनकर्ताहरू अहिले यसमाथि अनुसन्धान गरिरहेका छन्।

बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने बताए। तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिता मूल्यांकन गर्नका लागि तथ्यांक संकलन जारी राख्ने बताएको छ।

फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ। उक्त खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *