डब्ल्यूएचओले भन्याे- ओमिक्रोन डेल्टाभन्दा घातक छैन

हेल्थपोस्ट नेपाल

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘ओमिक्रोन’ काेराेना भाइरसका अन्य भेरियन्टभन्दा गम्भीर नभएको बताएकाे छ।

ओमिक्रोन संक्रमणको त्रासले कैयौं राष्ट्रहरूलाई सीमा प्रतिबन्ध, लकडाउनको सम्भावना बढाएपनि याे अन्य भेरियन्ट भन्दा घातक नभएकाे ब्ल्यूएचओकाे निष्कर्ष छ। “प्रारम्भिक तथ्याङ्कले यो धेरै गम्भीर छ भन्ने संकेत गर्दैन,’ डब्लूएचओको आपतकालिन निर्देशक माइकल रायनले एक अन्तर्वार्तामा भनेका छन्।

यद्यपी थप अनुसन्धान आवश्यक रहेको बताउँदै उनले भने, ‘हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन्, जुन अहिलेसम्मका सबै भेरियन्टहरुविरुद्ध प्रभावकारी सावित भएका छन् ।’

अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले डब्ल्यूएचओको दृष्टिकोणप्रति सहमति जनाउँदै ओमिक्रोनका प्रारम्भिक संकेतहरुको आधारमा अघिल्लो ‘स्ट्रेन’ डेल्टा या अन्य भेरियन्टभन्दा याे बढी गम्भीर नदेखिएको र सम्भवतः हल्का भएको बताएका छन्। उनले ओमिक्रोन अन्य कोरोना भाइरसका भेरियन्टहरु भन्दा घातक नभएपनि यसबारे थप अनुसन्धान आवश्यक रहेकाे बताए।

यसैबीच कोभिडविरुद्धका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको डब्ल्यूएचओले जनाएको छ।

ओमिक्रोन भेरियन्टमा खोपको असर अन्य भेरियन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा. माइकल रायनले बताए।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक रायनले भनेका छन्, ‘हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन्, जुन गम्भीर रोग र अस्पताल पुर्‍याउने सन्दर्भमा हालसम्मका सबै भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन् । ओमिक्रोनविरुद्ध त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन।’

‘प्रारम्भिक तथ्याङ्कअनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरियन्ट वा अन्य स्ट्रेनभन्दा बढी बिरामी नपार्ने देखिएको उनले जानकारी दिए।

ओमिक्रोन भेरियन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ। नयाँ भेरिअन्टविरुद्ध मोडेर्ना, जोन्सन एन्ड जोन्सन र अन्य खोपहरूले कस्तो काम गर्न सक्छन् भन्ने विषयबारे उल्लेख्य डाटा प्राप्त भइसकेको छैन।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । सुरुमा यो भेरियन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हाल यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरूको सङख्या बढ्दो क्रममा छ।



Leave a Reply

Your email address will not be published.