नक्कली रिपोर्ट बनाएर बेच्ने यादव जागिरबाट बर्खास्त

हेल्थपोस्ट नेपाल

नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका बरिष्ठ ल्याब टेक्नीसियन तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ।

यादवलाई केन्द्रको सञ्चालक समितिको साउन २८ गतेको बैठकको निर्णयअनुसार विभागीय सजायको सजायको आदेश दिने उपसिमितिको निर्णय अनुसार सेवाबाट हटाइएको केन्द्रले जनाएको छ।

गत वैशाखमा पीसीआर परीक्षणको नक्कली (फेक) रिपोर्ट बनाउने र विक्री गर्ने गरेको पाइएपछि सञ्चालक समितिको २८ साउन २०७८मा बसेको बैठले विभागीय सजायको आदेश दिनका लागि उपसमिति गठन गरेको थियो।

यादवले पिसिआर रिपोर्टको नक्कली रिपोर्ट बनाउँदै रकम असुल्ने गरेको सेवाग्राहीले उजुरी गरेपछि केन्द्रले छानबिन सुरु गरेको थियो। डा आशेषगोपाल अमात्यको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक छानबिन समिति गठन भएको थियो।

उक्त समितिले स्वास्थ्य मन्त्री विरोध खतिवडा र निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीलाई आइतबार कारवाही सिफारिस प्रतिवेदन बुझाइसकेको छ।

प्रयोगशाला प्रमुख यादवले नक्कली रिपोर्ट बनाएर पैसाको बार्गेनिङ गर्दै गरेको भिडियो रिपोर्ट एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो।
‘परीक्षण नै नगरि २४ जना भन्दा बढीलाई नेगेटिभ रिर्पोट दिएको पाइएको छ,’ मन्त्री खतिवडाले भने, ‘ यस बिषयमा कारबाही प्रक्रिया अगाडी बढिसकेको छ।’

छानबिनको क्रममा यादवले बसुन्धरास्थित धवलागिरी पोलिक्लिनिकबाट स्याम्पल मगाउने र पैसा लिने तर जाँच नै नगरी रिपोर्ट उपलव्ध गराउने कार्य गरेको समेत भेटिएको थियो।

केन्द्रको कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५८ को नियम १३.५ को खण्ड (छ) र (ट) को कसुरमा सोही नियमावलीको नियम १३.१ को खण्ड (ख) को १ बमोजिम १९ गते आइतबारदेखि लागू हुने गरी भविष्यमा केन्द्रको सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको हो।

मन्त्रालयको समितिले पनि छानिबिनका क्रममा यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको पाइएको थियो। यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको समितिले बुझाएको प्रतिवेदनम उल्लेख छ।



Leave a Reply

Your email address will not be published.