भक्तपुरका ३ स्वयम्‌सेविका सम्मानित

भक्तपुरका तीनजना स्वयम्‌सेविका सम्मानित भएका छन्। आइतबार १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविका दिवसको अवसरमा भक्तपुर नगरपालिकाले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेकाे हाे।

सम्मानित हुनेहरुमा भक्तपुर नगरपालिका–७ का लक्ष्मीकेशरी तुईतुई, ८ नम्बर वडाकी तारादेवी धन्छा र ५ नम्बर वडाकी सजना कवां छन्। भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा उत्कृष्ट सेवा प्रदान गरेवापत उनीहरूलाई सम्मान गरिएकाे नगरपालिकाले जनाएकाे छ।

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नेपालमा बालबालिका र मातृ मृत्यु दर घट्नुमा स्वास्थ्य स्वयम्‌सेविकाहरूको भूमिका उल्लेखनीय भएको बताए।

महिला स्वयम्‌सेविकाहरूले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने काम गरिरहेको उनले जानकारी गराए। साथै उनले महिला स्वास्थ्य स्वयम्‌सेविकाहरूको कदर र मनोबल बढाउने उद्देश्यले यो दिवस मनाउँदै आइरहेको बताए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वयम्‌सेविकाहरूको भूमिका उल्लेखनीय रहेकाे बताइन्।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकको रुपमा स्थापित गरेको र उक्त संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गरेको बताए।

 



Leave a Reply

Your email address will not be published.