बेलायतमा कोरोना संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्री जाेन्सनको आग्रह

हेल्थपोस्ट नेपाल

लण्डन- बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ। स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्। शनिबारमात्र पनि बेलायतमा ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ।

बेलायतमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजूद पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन्। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित यहाँ यो भाइरसबाट अहिलेसम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ।

बेलायतका स्वास्थ्य अधिकारीले गत २४ घन्टामा मात्र यहाँ काेराेनाबाट १२७ जनाको मृत्यु भएको जनाएका छन्। योसँगै बेलायतमा कोरोनाका कारण एक लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन्।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *