अझै कति दिन पर्छ पानी ? यसो भन्छन् मौसमविद्

हेल्थपोस्ट नेपाल

बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागले शनिबार एक विशेष बुलेटिन निकालेर सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएकाले उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्नै सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं एक, दुई र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

 

आइतबारबाट पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन्। उनका अनुसार सो पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सोमबारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ यो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *