सरकारमातहतमा भक्तपुर क्यान्सर अस्पतालका एक वर्षः अवस्था सुध्रनुको साटो झन् खस्कँदै

हेल्थपोस्ट नेपाल

सरकारको मातहतमा आएपछि भक्तपुर क्यान्सर अस्पतालको सेवा–सुविधा सुध्रन्छ भन्ने आशा सबै कर्मचारीमा पलाएको थियो।
तर, एक वर्ष बितिसक्दा पनि अस्पतालको सेवा झन् खस्किदै गएको छ।

अस्पतालको नेतृत्व डा. विष्णुदत्त पौडेलले सम्हालेका थिए। तर राम्रो प्रशासनिक ज्ञान भएका उनीबाट खासै काम हुन नसकेको गुनासो कर्मचारीको छ।

‘उहाँ आउनु भएको एक वर्ष पुगिसक्यो । तर, संस्था खासै उचाइमा लैजानु सक्नुभएको छैन,’ अस्पतालका एक कर्मचारीले भने, ‘अहिले अस्पतालको सेवा–सुुविधाभन्दा पनि भष्टाचार बढी मौलाएको देखिन्छ।’

ती कर्मचारीका अनुसार अस्पतालका धेरै उपकरण बिग्रिएका छन्। उपकरण खरिद गर्ने क्रममा धेरै कमिसनको खेल भइरहेको छ।

सरकारमातहतमा अस्पतालको नेतृत्व गएपछि आफूहरु स्थायी हुनुपर्ने माग कर्मचारीको छ। तर, कर्मचारीले राखेका गुनासो सुनुवाइ गर्न अस्पताल प्रशासनले कुनै चासो देखाएको छैन।

‘हामीले पटक–पटक अस्पताल प्रशासनलाई आफ्ना गुनासो राख्दै आएका छौं,’ ती कर्मचारी भन्छन्, ‘तर, नेतृत्व तहबाट कुनै सुनुवाइ हुने गरेको छैन।’

डा. पौडेल अस्पतालका लागि समय दिने भन्दा बढी बाहिर काममा व्यस्त हुने गरेको कर्मचारीको आरोप छ।

‘डा. पौडेलमा अस्पतालको सेवा–सुविधा सुधार होस् भन्ने कुनै चाहना देखिँदैन। बस् उहाँ आफ्नो कार्यकालको समय बितााइरहनु भएको छ। यसरी त झ्न अस्पताल लथालिंग हुँदै गएको छ,’ ती कर्मचारी गुनासो गर्छन्।

उपकरण बिग्रिए, तर मर्मतमा छैन चासो

पहिला सञ्चालनमा आएका धेरै उपकरण अहिले बिग्रेका छन्। एक्सरे मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ। तर, बनाउनमा कुनै चासो छैन।

ती कर्मचारीका अनुसार आइसीयू अहिले नाम मात्रैको भएको छ। बिरामीलाई राम्रो आइसीयू सेवा बाहिर रिफर गनुपर्ने बाध्यता छ।

‘क्यान्सरका बिरामीका लागि चाहिने अति आवश्यक मेसिन बिग्रिएका छन्,’ एक चिकित्सक भन्छन्, ‘थप उपचारका लागि बाहिर पठाउनुुपर्ने बाध्यता छ।’

ती कर्मचारी दाबी गर्दै भन्छन्, ‘न त उपचार सेवा सस्तो छ, न राम्रो गुणस्तरीय सेवा नै। राम्रो व्यवस्थापन नहुँदा झन् बिरामी मर्कामा परेका छन्।
हेमाटोलोजी र ओन्कोलोजी विभागबाट सेवा दिन छोडेको करिब एक बितिसकेको छ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजले एक्सरे मेसिन बिग्रिएको स्वीकार गर्छन्। ‘केही उपकरणहरु बिग्रिएका छन्। हामीले सामान अर्डर गरेका छौ। केही दिनभित्रमै मर्मत हुन्छ,’ तजलेले भने।

कर्मचारीतन्त्र हाबी हुँदै गएको र अस्पताल प्रशासनले कडाइ गर्दै आएको तजले बताउँछन्।

‘केही कर्मचारी आफ्नो ड्यूटी समयमा आउँदैनन्। स्पष्टीकरण वा कारबाहीको दायरा ल्याउन खोज्दा अनेक अफवाह फैलाइरहेका छन्,’ तजले भन्छन्। अस्पतालले बिरामीलाई सेवा–सुविधा गुणस्तरीय दिएको उनको दाबी छ।



Leave a Reply

Your email address will not be published.