के नेपालमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि छ?

नेपालमा पनि ओमिक्रोन भेरियन्ट पत्ता लगाउन सकिन्छ। हाल उपयोग गरिरहेकै विधिबाट ओमिक्रोन भेरियन्ट पत्ता लगाउन सकिन्छ।

पिसिआर विधि तथा एन्टिजेन विधिबाटै यो भेरियन्ट सजिलैसँग पत्ता लाग्दछ। हामीले अहिले प्रयोग गरेको रियजेन्टहरुले ओमिक्रोन भेरियन्टलाई पोजिटिभ भए सोही सूचना देखाउँछ।

तर भाइरस पोजिटिभ देखिएपनि यो कुन भेरियन्ट हो भन्ने बताउँदैन। त्यसको लागि प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ नै गर्नुपर्दछ।
हालसम्म नेपालमा यो भेरियन्ट देखा परेको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अप्रिल महिनादेखि नै सिक्वेन्सिङ गर्दै आएको छ, र यो भेरियन्ट देखा परेको छैन।

पिसिआर विधिबाट ओमिक्रोन भेरियन्टको परीक्षण गर्दा ‘एस जीन’ नेगेटिभ आउँदछ। नेपालमा प्रयोग गरिने पिसिआर विधिबाट दुई वटा जीन जाँच गर्न सक्ने क्षमता छ। प्रोटोकल अनुसार पिसिआर विधिले दुई वटा जीन सम्म पत्ता लगाउन सक्ने क्षमता हुन्छ।

भाइरसको प्रकृति म्युटेसन भइरहनु हो। यदि परीक्षण गर्दा एउटा जीन पत्ता लगाउन नसके अर्को म्युटेसन भएको पत्ता लाग्न सकियोस भनेरै दुईवटा जीन पत्ता लगाउने पिसिआर भित्राइएको हो।

कुनै रियजेन्टले तीनवटा जीन सम्म पनि पत्ता लगाउन सक्दछ, जसमा एस जीन पनि पर्दछ।

ओमिक्रोन भेरियन्टमा एस जीन पोजिटिभ आउने र बाँकी दुई वटा नेगेटीभ आउँदछ। कोरोना परीक्षण गर्दा यस्तो भेटिए ओमिक्रोन भेरियन्ट भएको बुझ्दा पनि हुन्छ।

यस्तो खालको एस जीन ड्रपआउट अल्फा भेरियन्टमा पनि देखिएको थियो। नेपालमा अन्य भेरियन्ट आउनुभन्दा पहिले नै अल्फा भेरियन्ट देखिएको थियो। त्यतिबेला देखि नै एस जीनको परीक्षण हँुदै आएको छ।

डेल्टा भेरियन्टको शंका गर्दा पनि कोरोना संक्रमण पुष्टि भएका नमुनाहरुमा एस जीन परीक्षण गर्दा अल्फा नै रहेको पुष्टि भएको छ।

देशभर २–३ प्रतिशतमा मात्र एस जीन नेगेटिभ देखिएको छ। हामी यसको परीक्षण गरिनै रहन्छौं। हालसम्म ओमिक्रोन पुष्टि नभएका कारण हाम्रो निगरानी रहिरहन्छ। हामीले परीक्षण पनि तीव्र गरेका छौं भने नाकाहरुबाट तथा विमानस्थलहरुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका नमुनाहरुमा पनि एस जीन परीक्षण गरिरहेका छौं। हामी आफैले यो भेरियन्ट पत्ता लगाउन सक्षम छौं।

सामाजिक संजालहरुमा आएका होहल्लाहरुलाई विश्वास नगरी आधिकारीक तथ्यलाई विश्वास गर्न आग्रह गर्दछौं भने जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि आग्रह गर्दछौं।

डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूका निर्देशक हुन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *