के पाँच वर्षमा सम्भव छ गर्भवति महिलामा एचआईभी संक्रमण उन्मूलन गर्न?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२६ सम्ममा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको उन्मुलन गर्ने रणनीतिक योजना बनाएको छ।

तर सन् २०२१ सम्म आइपुग्दा सम्म जम्मा ७३ प्रतिशत गर्भवति महिलाहरुले एचआईभी विरुद्धको एन्टिरेट्रोभाइरल उपचार पाएका छन्।

सरकारको लक्ष्य अनुसार यो वर्ष सम्म ९० प्रतिशत गर्भवति महिलाहरुलाई उपचारको पहुँचमा ल्याउने रहेको थियो। सन् २०१५ मा ३५ प्रतिशतलाई मात्र उपचारको पहुँचमा लगियो भने हाल ७३ प्रतिशतले मात्र उपचार पाएका छन्।

अबको पाँच वर्षमा सबै गर्भवति महिलालाई एन्टिरेट्रोभाइरल (एआरटी) उपचार पाउने व्यवस्था गरिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहले बताए।

यतिमात्र नभई बालबालिका तथा बयस्कहरुमा पनि १०० प्रतिशत एआरटी उपचार गराउने लक्ष्य लिइएको छ। हालसम्म ६९ प्रतिशत मात्र उपचारको दायरामा आएका छन्।

नेपालमा पहिलो एचआईभी संक्रमित व्यक्ति सन् १९८८ मा पहिचान गरिएको थियो। हाल संक्रमितको संख्या ३० हजार ३०० पुगिसकेको छ।
यस अनुमानित संख्या मध्य १६ हजार ३१४ पुरुष र १३ हजार ९८६ संक्रमित रहेका छन्।

त्यस्तै यी मध्य ४ प्रतिशत (१२६८) बालबालिका रहेका छन् भने २१६ गर्भवति महिला रहेका छन्।

नेपालमा वर्षेनी ७५४ नयाँ एचआईभी संक्रमित थपिन्छन् भने ६३६ जनाको मृत्यु भइरहेको छ।

‘हामीले सबै समूहहरुलाई उपचारको दायरामा ल्याउन समुदायमै गएर उपचार तथा परीक्षण गराउने गरेका छौं भने खुलेर आउन नसक्ने व्यक्तिहरुलाई एचआईभी संक्रमण भएका व्यक्तिहरु मार्फत नै परामर्श दिने कार्य गर्दै आएका छौं,’ साहले भने।

हाल सामान्य जनसंख्यामा १ प्रतिशत एचआईभी सर्ने सक्ने सम्भावना वा संक्रमण दर रहेको छ भने जोखिममा रहेको समूह जस्तै, सुईबाट लागूपदार्थ प्रयोगगर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारका लागि विदेशिनेहरु र जेलका कैदीहरुमा भने ५ प्रतिशतको दरले अझै जोखिम रहेको छ।

‘यदि यो जोखिमपूर्ण समूहलाई उपचारको दायरामा ल्याउन सके र सबैलाई जनचेतना फैलाउन सके २०३० सम्ममा हामीले एचआईभी संक्रमण निर्मुलन गर्न सक्छौं,’ उनले भने।

अझै पनि १७ प्रतिशत संक्रमित लुकेर बसेको अनुमान गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *