कपिलवस्तुमा हैजा : थप एककाे मृत्यु, मृतककाे संख्याकाे ७ पुग्याे

हेल्थपोस्ट नेपाल

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव (खुस्वु) रहेकाे प्रहरीले जनाएकाे छ।

एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए।

जिल्लामा असोज १८ गते देखिएको फैलिएको हैजाको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षकी बालिकाको समेत झाडापखालाको कारण ज्यान गएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप तीन पालिकामा हैजा देखिएको बताइएको छ ।

कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन्।

बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं। ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ। बुद्धभूमिका वडा नं ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *