डा. रीता थापा : सन्तान वियोगले जीवनको उत्तरार्द्धमा मोडिएको बाटो

अग्लो पर्खालभित्रका ‘बुढा’ रूखहरूबीचमा एउटा भक्तपुरे इँटामा टल्किएको घर। किताबका खात अनि पुरस्कार र ‘मेडल’हरूले साँघुरो बनाएको त्यो कोठामा पर्खिरहेकी उनले सुरूमै भनिन्– पानी पिउनुस्।

तातो पानीको बोत्तल खोल्दै उनले हामीलाई भन्दै थिइन् – शरीरका लागि धेरै पानी पिउनुपर्छ।

सिरानमा एउटा तस्विर हाँसिरहेको थियो। अलि पुरानो भइसकेको त्यो फोटोका दुई ‘मुस्कान’ अहिले उनीबाट धेरै टाढा गइसकेका छन्, कहिल्यै नफर्किनेगरी।

पहिलो मुस्कान छोरी तेजश्री!

विश्वका धेरै देशमा भएका लडाईंभित्र ‘युद्धअपराध’ खोज्ने तेजश्री नेदरल्याण्ड बस्थिन्। युद्धका बेला महिलामाथि यौन हिंसा उत्पीडनलाई विश्वसामु ल्याएर ‘न्याय’को पक्षमा लड्ने उनी एक मानवअधिकारवादी वकिल थिइन्।

विश्वका धेरै युद्धहरूमा उनले यौन उत्पीडन भोगेका महिलाहरूको न्यायको पक्षमा लडेकी छिन्।

बंगलादेशको रोहिङ्ग्या विद्रोहका क्रममा मुस्लिम महिलामाथि भएको ‘ज्यादती’बारे बुझ्न तेजश्री शरणार्थी क्याम्पमा पुगेकी थिइन्। त्यो बेला मुस्लिम समुदायको एउटा ठूलो पर्व ‘मोहर्रम’को माहोल थियो।

प्रोटोकलले त दिँदैनथियो। तर, अरूका पीडामा आफै दुख्ने तेजश्री, पीडितहरूको आग्रहलाई कसरी पो नकार्न सक्थिन् र!

उनले त्यहाँ खाएका खानेकुराको प्रभाव विस्तारै शरीरमा देखिन थाल्यो। ५२ वर्षको उमेरमा सन् २०१९को मार्चमा उनको निधन भयो। ‘फुड पोइजन’का कारण उनका शरीरका मुख्य अंगहरूले काम गर्न छोडेका थिए।

उनका बारेमा ‘द न्यूयोर्क टाइम्स’ले एउटा अविच्युरी छाप्यो। त्यसपछि मात्रै डा. रीता थापालाई थाहा भयो, छोरीले आफ्नो जीवनमा कति महान काम गरेकी रहिछन्।

विश्वचर्चित भइसकेको रीताको जीवनको एउटा ‘तेज’ त्यसैगरी हरायो।

त्यही फोटोमा थियो अर्को मुस्कान, छोरा भाष्कर थापा।

‘जियो टेक्निकल इन्जिनियरिङ’ पढेर नेपालमै काम गरिरहेका उनको हृदयघातबाट निधन भयो। ४९ वर्षीय भाष्करको अमेरिकामा टेबल टेनिस   खेल्दाखेल्दै मृत्यु भएको थियो।

चुरोटको लत थियो। र, डाक्टर रीताको आफ्नै अध्ययनले पनि देखाएको छ कि हृदयघातका ८० प्रतिशतभन्दा धेरै कारणहरू त्यस्तै सूर्तीजन्य सेवनसँग गाँसिएका छन्।

जीवनका दुई थुंगाहरू त्यसै ओइलाएर झरिसकेका थिए।

सन् २००१मा सरकारी जागिरबाट अवकाश लिइसकेपछि पनि डा. रीताले आफूलाई घरमै थन्क्याइनन्। छोरा-छोरीको त्यो अकाल मृत्युले झस्किरहेकी उनी गाउँगाउँ घुम्न थालिन्।

स्कुले विद्यार्थीलाई ‘कुलत’बाट टाढा रहन कक्षामै गएर सिकाउन थालिन्। ‘भाष्कर’का यादहरू उनले त्यसमै मिसाउँथिन्। अनि स्कुले केटा-केटीलाई उनी ‘यौन हिंसा’का विरूद्ध लड्न र आवाज उठाउन सिकाइन्, त्यहाँ तेजश्रीको झल्को मेटिन्थ्यो।

र, यिनै यादहरूको एना बन्यो, भाष्कर-तेजश्री प्रतिष्ठान।

यही प्रतिष्ठानमार्फत अहिले उनी गाउँगाउँका स्कुलहरू पुग्छिन्। विद्यार्थीहरूलाई कुलतका ‘घात’बारे सम्झाउँछिन्। लैंगिक हिंसाले जन्माउने यौन उत्पीडन र यौन हिंसाका बारेमा बुझाउँछिन्।

‘हृदयघात किन हुन्छ र कसरी हुन्छ अनि यसको न्यूनिकरण पनि गर्न सकिन्छ भनेर मैले छोराको मृत्युपछि अध्यन गरें। छोरीले मलाई यौन हिंसाको बारेमा सिकाएर गइन्।’

जीवनको उत्तरार्द्धमा डा. रीताको जीवन फेरि यही बाटोमा दौडिन थालेको छ।

संघर्ष र पीडाले जन्माएको पहिलो जनस्वास्थ्यविद्डा. रीता थापा

स्कुले जीवनमै ‘ब्याटमिन्टन’लाई निकै प्रेम गर्ने उनी नेपालकै पहिलो महिला ब्याटमिन्टन च्याम्पियन पनि हुन्। डाक्टरी पढिन् तर, खेल कहिल्यै छोडिनन्।

कोठाभरि छरिएका गल्फका छडीहरूले प्रष्टै भनिरहेका थिए अहिले पनि उनको जीवनमा खेल छुटेको छैन। त्यसैको दसी हो, उनको ‘बुढ्यौली’ ज्यान, जो ७०को उकालोमा पनि उत्तिकै हृष्टपुस्ट छ।

डिल्लीबजारस्थित मध्यम बस्नेत खानदानमा जन्मिएकी उनले स्कुले उमेरसम्म अरू कुनै पुस्तक पढ्न पाइनन्। राणाको दबदबा थियो। त्यसमाथि अझ ‘छोरी मान्छे।’ घरमा त छोराछोरीको भेद थिएन तर शासनै त्यस्तै थियो।

घरमै धर्मशास्त्रका पुस्तक पढिन्।

बस्नेत। ‘काजी’ खानदानको त्यो परिवारभित्र राणा शासनका बाछिटाहरू पसिसकेका थिए। तर, उनलाई राणाको त्यो शासन मन पर्दैनथ्यो।

२००७ सालमा राणा शासनको अन्त्य भयो। प्रजातन्त्र उदाउँदै गर्दा रीताजस्ता धेरै ‘केटी’हरूको जीवन पिंजडाबाट फुत्किएजस्तै भयो।

रीतालाई लाग्छ, २००७ सालको क्रान्ति उनीजस्ता धेरैका लागि ‘वरदान’ थियो। प्रजातन्त्रको त्यो उदयसँगै धेरैका घरका ढोकाहरू खुले। केटाकेटीहरू बाहिर निस्किन थाले। रीता पनि निस्किइन्।

धर्मग्रन्थहरूमा अक्षर चिनेकी रीता पद्मकन्या स्कुलमा भर्ना भइन्। पढ्दै जाँदा उनमा डाक्टर बन्ने सोच पलायो।

डाक्टर बन्ने तर त्यसका लागि पढ्नुपर्ने आइएस्सी। त्यो बेला त्रिचन्द्रमा मात्रै आइएस्सी पढाइ हुन्थ्यो। तर नामै निकाल्न मुस्किल। सिटै पाउन गाह्रो। धेरै ‘रीताहरू’का लागि त्रिचन्द्र सपनाजस्तै थियो।

उनले कोलम्बो कार्यक्रमअन्तर्गत छात्रबृत्तिमा आवेदन दिइन्। र, पटनामा पढ्न गइन्।

प्रजातान्त्रिक व्यवस्थामा पनि उनले घरभित्रै गर्नुपरेको यो एउटा संघर्ष अनि विद्रोह थियो। हुन पनि त्यो बेलाको समाजै त्यस्तै।

‘पढेलेखेका छोरीको त बिहे नै हुँदन भन्ने थियो’ रीतालाई अझै पनि ती दिनहरूको याद उस्तै छ ‘तर, सानैदेखि डाक्टरै बन्छु भन्ने थियो। अनि म पढ्नै गएँ।’

सन् १९६१ तिर उनी अन्तिम जाँच दिएर घर फर्किइन्। घरमा बिहेको कुरो चलिसकेको रहेछ।

विद्यार्थीकालमै ब्याटमिन्टन प्रतियोगिताहरू ‘नजर’ लगाइसकेका डा. भेषबहादुर थापाले घरमा प्रस्ताव लगिसकेका थिए। रीता भने मेडिकल डाक्टर नबन्दै बिहे नगर्ने भन्नेमा थिइन्। उसो त पढाइको अन्तिम क्षणसम्म पनि ‘बिहे’ जिन्दगीको कुनै अजेन्डै थिएन।

घर फर्किएर परिवारको करकापछिमात्रै उनले ‘डाक्टर’ भएपछि भनिन्। तर, परिवारका अघि उनको नाइनास्ती धेरैबेर टिकेन।

डा. भेषबहादुर थापासँग उनको लगनगाँठो कसियो। त्यही बेला रिजल्ट आयो र उनी पास भइन्। सरकारले उनलाई प्रसुती गृह पठायो।

डा. भेषबहादुर थापा अमेरिकालगायतका देशहरूमा राजदूत भइसकेका छन्।

जनस्वास्थ्यमा पाइला

प्रसव पीडा कस्तो हुन्छ? प्रसुती गृहमा काम गर्दा उनले त्यहाँ देखिन्, भोगिन् र धेरै सुनिन् प्रसव वेदनाहरू। वर्षैपिच्छे गर्भवती भएर आउने महिलाहरू धेरै देखिन्।

एकदिन कसैलाई उनले सोधिन्– किन वर्षनी बच्चा जन्माइरहेको?

जवाफ आयो– शरीर पो हाम्रो, श्रीमानले जे भन्यो त्यही मान्नुपर्छ।

आमा र बच्चाको ज्यान दुवैको जोखिम। बच्चा जन्माउन नसकेर मृत्यु हुने आमाहरू अनि जन्मिन नसकेर गर्भमै मृत्यु भइसकेका शिशुहरू। हरेक वर्ष यो मृत्युदरको ग्राफ बढ्दै थियो।

अर्कोतिर प्रसुती गृहको त्यो प्रवस बेदनाले रीताको मनमा बेचैन पनि बढ्दै थियो।

अहो! कस्तो पीडा।

अब उनले यसबारे चेतना जगाउनुपर्छ भन्ने सोचिरहेकी थिइन्। त्यहीबेला सरकारले ‘परिवार नियोजन तथा मातृ शिशु कल्याण’ परियोजना सुरू गर्दै थियो।

त्यो ‘जनस्वास्थ्य’तिरको कार्यक्रम थियो। न ‘ग्लामर’ थियो, न ‘पैसा।’ तर डाक्टरीमा दुवै थियो।

धेरैले उनलाई त्यतातिर नजान भने। धेरैले सम्झाए।

मोडिइसकेका उनका पाइलहरू फर्किन मानेनन्। हरेक चुनौतीसँग लड्न त उनले घरबाटै सिकेकी थिइन्।

परियोजनाको प्रमुख त भइन्। तर केही थिएन, जनशक्ति न स्रोत साधन। न नीति थियो न, कुनै कार्यक्रम।

सिंहदरबारभित्रको एउटा साँघुरो कोठा उनको कार्यालय थियो।

महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने भनेको त्यही एउटा प्रसुती गृहमात्रै थियो।

त्यो समयमा साक्षरता दर जम्मा १० प्रतिशत थियो। नेपालको औसत आयु ४० वर्षभन्दा कम थियो।

तर पनि उनी ‘आमा र शिशुको मृत्यु’ रोक्न हिँडेकी थिइन्। शिक्षा थिएन। चेतना थिएन। परिवार नियोजनका साधन प्रयोग गर्नु वा परिवारका कुनै योजना बनाउनु त ‘पाप’ थियो।

केही समय उनले नेपालको मातृ-शिशु अध्ययन अनुसन्धान गरिन्। प्रसुतिको प्रमुख जिम्मेवारी तत्कालिन बेलामा डा. दिनेशानन्द्र वैद्यले सम्हालेका थिए। रीताले महिलाले भोगिरहेको त्यो ‘गर्भपीडा’ कम गर्नका लागि ‘स्याटेलाइट क्लिनिक’ खोल्ने अनुमति मागिन्।

सबैभन्दा जनधनत्व भएको ठाँउबाट सेवा सुरु गर्ने योजना बनाइन्। काठमाडौंको क्षेत्रपाटीको ‘पोडे टोल’बाट क्लिनिक राख्ने योजना भयो। त्यहाँका मानिसले सेवा सञ्चालन गर्न मन देखाए। तर, ठाँउको समस्या भयो।

कसैको घर थिएन। टोलकै एउटा ‘चौतारी’बाट क्लिनिक सुरू भयो। सुरू सुरूमा त मानिसहरू आउन मानेनन्। एक हप्तासम्म चलेको उनको त्यो क्लिनिकमा अलिपछि भने भीड लाग्न थाल्यो।

सबैतिर त्यसको राम्रै चर्चा हुन थाल्यो। टोलका एकजना समाजसेवीले आफ्नो घरको कोठा दिए। चौतारीबाट त्यो क्लिनिक त्यसपछि घरमा सर्‍यो।

रीताको डाक्टरी जीवनमा अस्पतालबाहिर यो पहिलो क्लिनिक सेवा थियो। जसले उनलाई धेरै कुरा सिकायो। मानिसलाई स्वास्थ्यप्रति ‘कन्भिन्स’ गर्न सिकायो। समाजको मनोविज्ञान बुझायो। त्यो बेलाको शिक्षा र चेतनाको महत्व बुझायो।

तीन बर्षसम्म ‘क्लिनिक सेवा’ काठमाडौं बाहिर जान सकेन।

तर, काठमाडौंभरि क्लिनिकहरू विस्तार भइरहेका थिए। स्वास्थ्यसँग जोडिएको त्यो क्लिनिकमा विस्तारै राजनीतिक आँखा लाग्न थाले। राजनीति नै सही, कम्तीमा नेताहरूले त्यसलाई गाउँगाउँ लैजानुपर्छ भन्ने आवाज उठाउन थालिसकेका थिए।

त्यो बेला डाक्टर, नर्सहरू गाउँगाउँ जानु भनेको त कल्पनासम्म पनि थिएन। तर रीताका लागि त्यो एउटा मौका थियो। उनले आफ्नो समूहमा छलफल गरिन्। सबैले डाक्टर र नर्सहरू नै गाउँगाउँका क्लिनिकमा जानुपर्छ भन्ने सल्लाह दिए।

उनले केही जनशक्तिको व्यवस्था गरेर उनीहरूलाई ‘हेल्थ डेस्क’को तालिम दिइन्। त्यसपछि उनको त्यो कार्यक्रम जिल्ला जिल्लामा विस्तार भयो।

अनि जन्मिए स्वास्थ्य स्वंयसेविका

‘जनस्वास्थ्य’को एउटा मन्त्र हो, धैरैभन्दा धेरै मानिसको स्वास्थ्यमा परिवर्तन।

अस्पताल पूरै समुदायमा पुग्न सक्दैन। सबै ठाउँमा डाक्टर, नर्सहरू पुग्न सक्दैनन्।

त्यसका लागि समुदायकै व्यक्तिलाई तालिम दिएर तयार गर्नुपर्छ भन्ने रीताले योजना बनाइरहेकी थिइन्। सन् १९७५ मा नेपाल सरकारको एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास योजनाको प्रमुख भएकी उनका लागि स्वास्थ्य सेवालाई जनसमुदायसम्मै फैलाउने अर्को एउटा मौका थियो।

सरकारले उनलाई १९ जना सहयोगी दिएको थियो। उनीहरू मलेरिया, परिवार नियोजन तथा मातृ शिशु, दादुरा उन्मूलन,  क्षयरोग,  कुष्ठरोगको क्षेत्रमा काम गरेर आएका अनुभवी स्वास्थ्यकर्मीहरू थिए।

यी पाँचवटा स्वास्थ्य योजनाहरूको छुट्टाछुट्टै संरचना थियो। यसलाई एकीकृत सामुदायिक स्वास्थ्य सेवाको एउटै निकायबाट प्रदान गर्ने लक्ष्य थियो। एकीकृत सामुदायिक स्वास्थ्यसेवा विकास योजनाअन्तर्गत विभिन्न अवधारणाको विकास भयो। जिल्ला जनस्वास्थ्य कार्यालय, प्रत्येक गाउँमा एक स्वास्थ्य कार्यकर्ता, एक स्वास्थ्य चौकी र प्रत्येक वडामा एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई देशव्यापी विस्तार भयो।

आधारभूत स्वास्थ्य सेवा कार्यक्रमलाई समुदाय स्तरसम्म पुर्‍याउन महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा विकास भयो। हरेक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविक राख्ने विचारले उनी तत्कालीन स्वास्थ्य सचिवकहाँ त्यो प्रस्ताव लिएर गइन्।

‘सामुदायिक स्वास्थ्य अगुवा’ नाम दिइएको त्यो प्रस्तावना उनको समूहले खूब मेहनत गरेर बनाएको थियो।

हाम्रो कर्मचारीतन्त्र न हो, त्यो फाइल सचिवकै टेबलमा महिनौं थन्कियो।

फेरि एक दिन सचिवकहाँ त्यसबारे कुरा गर्न गइन्।

‘तर, सचिव ज्यूले त मार झपारेर पठाउनुभयो’ उनी सम्झिन्छन्।

त्यही प्रस्तावलाई ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ को नाममा परिवर्तन भयो।

आमा समूहबाटै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छानिए।

उनीहरूका लागि सम्बन्धित हेल्थपोस्टले प्रत्येक महिना एक दिने रिफ्रेसर तालिम व्यवस्था गरिएको थियो। गाउँघरका स्वास्थ्य समस्याबारे उनीहरूले रिपोर्ट ल्याउँथे। तालिम लिन्थे। नयाँ प्रविधिबारे समुदायमा जानकारी दिन्थे।

‘उनीहरुले स्वास्थ्य क्षेत्रको जगको रुपमा काम गरे। महिलाको कारणले गर्दा स्वास्थ्य क्षेत्रमा चमत्कारिक विकास भयो,’ उनी भन्छिन्।

र, अहिले ‘स्वास्थ्य स्वंय सेविका’ समुदायको एउटा आवश्यकता बनिसकेको छ। देशभर ५२ हजारभन्दा बढी स्वंयसेविकाहरू छन्।



8 thoughts on “डा. रीता थापा : सन्तान वियोगले जीवनको उत्तरार्द्धमा मोडिएको बाटो

    1. एउटी आमालाइ आफ्नो संतान गुमाउनु भन्दा अर्कोपिडा के हुन सक्छ र !! हिम्मत आफैले जुटाउनुपर्ने यो भन्दा ठुलो उदाहरण अर्को हुन सक्दैन !भगवान ले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन 🙏🙏🙏

Leave a Reply

Your email address will not be published.