ख्वप बहुप्राविधिक अध्ययन संस्थानले नर्सिङ अध्यापन गराउन नपाउने

हेल्थपोस्ट नेपाल

भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले यसवर्ष स्टाफ नर्सको अध्यापन गराउन नपाउने भएको छ।

देशभरका १०९ वटा नर्सिङ अध्यापन गराइरहेका क्याम्पसमध्ये सिटिइभिटीले यसवर्ष ४५ वटा कलेजलाई मात्र अध्यापन गराउने अनुमति दिएको छ।

शुक्रबार संघीय सांसद प्रेम सुवालको नेतृत्वमा शिक्षामन्त्री देवेन्द्र पाैडेललाई भेटेर मागपत्र बुझाइएको छ। कोटामा स्टाफ नर्स विषयको भर्ना आवेदन फारामसम्बन्धी सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको भन्दै ध्यानाकर्षण गराएको हो।

सांसद सुवालले शिक्षामन्त्री पाैडेलसँग स्थानीय तहले सञ्चालन गरेका कलेजहरुलाई निजी कलेजहरुको आँखाले हेर्न नमिल्ने आग्रह गरे।

उनले जनताका छोराछोरीको प्राविधिक शिक्षा अध्ययन गर्न पाउने अधिकारबाट बञ्चित नगरी संस्थानको नाम समावेश गरुेर अर्को सूचना प्रकाशित गर्न शिक्षामन्त्री पौडेललाई अनुरोध गरेकाे बताए।

शिक्षामन्त्रीसँग भएकाे छलफलमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले ख्वप अस्पतालमा १४ जना विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, २९ जना स्टाफ नर्सलगायत १२५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमार्फत दैनिक करिब ६ सय बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए।

शिक्षामन्त्री पौडेलले चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नुपरेको बताए।

च्याम्हासिंह जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले बेडभन्दा पनि सीपको परीक्षण गर्न आवश्यक भएको बताए।

‘सय बेड भनिएपनि ६० बेड जहिले खाली हुन्छ,’उन भने, हामी कहाँं २५ बेड मात्रै छ। जहिले प्याक हुन्छ। निरन्तर सेवा प्रदान गर्दै आएका छाैं।’

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले यही मंसिर ८ मा ४५ वटा शिक्षण संस्थाहरुको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाको लागि सूचना प्रकाशित गरेको छ।

सटिईभिटीले हालसालै नर्सिङ अध्ययनका लागि भर्ना खुलाउँदै कोटा निधारित गरेको छ। आफ्नै १०० शय्याको अस्पताल नभएका कारण यो वर्ष जम्मा १७ सय विद्यार्थीहरुले मात्र पिसिएल नर्सिङ अध्ययापन गर्न पाउने भएका छन्।



Leave a Reply

Your email address will not be published.