मेडिकल काउन्सिल निर्वाचनको घट्दो रौनक, मैदानमा युवा, को कति बलियो?

चिकित्सक दर्ता, लाइसेन्स परीक्षा, व्यावसायिक आचरण तथा उन्नयन गर्न गठित अर्धन्यायिक निकाय नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्षसहित आठ सदस्यका लागि दोस्रो चरण उपत्यका केन्द्रित मतदान आज (शुक्रबार) र भोलि शनिबार हुँदैछ।

अघिल्ला वर्ष चिकित्सकका लागि विशेष उत्सवजस्तै बन्ने काउन्सिल निर्वाचनमा यसपालि खासै रौनक देखिएको छैन। चिकित्सा शिक्षा आयोग गठनसँगै मेडिकल कलेजलाई सम्बन्धनदेखि सिट निर्धारणलगायत विषयमा रहेको अधिकार कटौतीसँगै काउन्सिलको रौनक घट्दै गएको हो।

अघिल्ला वर्ष काउन्सिल निर्वाचनको चहलपहलसँगै निर्वाचन भड्किलो र खर्चिलो हुने गथ्र्यो।

चिकित्सा शिक्षासम्बन्धी अधिकार भएका कारण पनि काउन्सिल निर्वाचनमा मेडिकल कलेजहरू प्रत्यक्ष÷अप्रत्यक्ष आफूअनुकूल चिकित्सकलाई सदस्य जिताउन सबैखालका हत्कण्डा अपनाउँथे। अहिले कलेजहरूका स्वार्थमिश्रित चासो घटेसँगै काउन्सिल चुनावको पनि रौनक घटेको छ।

२८ हजारभन्दा बढी चिकित्सक सदस्य रहेको काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३२ चिकित्सक मैदानमा छन्। नेपालमा क्रियाशिलताका आधारमा झन्डै १५ हजारभन्दा बढी चिकित्सक मतदानमा सहभागी हुने अपेक्षा गरिए पनि गत साता उपत्यकाबाहिर सम्पन्न निर्वाचनमा खसेको मत (झन्डै ४ हजार ६ सय) हेर्दा कूलमा ११ हजारहाराहारीमा मात्रै मतदान हुने संकेत देखिएको छ।

उपत्यका बाहिर उम्मेदवारका कार्यक्षेत्र, अध्ययन गरेका संस्था एवं देशका आधारमा भोटको दर उस्तै÷उस्तै हुने भएकाले उपत्यकाको मत निर्णायक मानिन्छ। यसपटक मैदानमा उपाध्यक्ष र केही सदस्य पदमा उमेदवारी दिएका चिकित्सकबाहेक चर्चित अनुहार छैनन्।

यसले पनि वरिष्ठ चिकित्सकहरूमा भोट हाल्न जाने जाँगर कम हुने आशंका गरिएको छ। यद्यपि, उपत्यकाभित्र नेपाल प्रज्ञा प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मंसिर १० र ११ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म, उपत्यका नजिकैको धुलिखेल अस्पतालमा शुक्रबार एक दिन मतदान तोकिएको छ।

निर्वाचन क्रममा हुने जमघट, प्रचारप्रसार सामग्री उत्पादन तथा वितरण र आमचिकित्सक सहभागिताका आधारमा रौनक कम देखिए पनि मैदानमा उत्रिएका चिकित्सकका लागि निर्वाचनको रस कम हुन्न।

यसपालि मैदानमा उत्रिएका प्रतिपस्पर्धीका राजनीतिक आस्थासँगै, इन्स्टिच्युट, विशेषज्ञ विषय, भौगोलिक निकटता, वरिष्ठतालगायत विषयले निर्वाचनमा प्रभाव पार्ने देखिन्छ।

उपाध्यक्षमा को बलियो?

काउन्सिल विधानअनुसार अध्यक्ष, रजिस्ट्रारबाहेक सात सदस्य सरकारले मनोनित गर्छ भने उपाध्यक्ष र आठ सदस्य निर्वाचन प्रक्रियाबाट चुनिन्छन्। निर्वाचनबाट छानिनेमध्ये उपाध्यक्ष पदमा सर्वाधिक चर्चा र आकर्षण रहन्छ। एक पदका लागि डा. प्रमोद यादव, डा. रामपरीक्षण यादव र डा. शिवजी पौडेल मैदानमा छन्।

प्रतिस्पर्धीमध्ये हाल जनकपुर अस्पतालका मेसु रहेका डा. प्रमोद यसअघि ट्रमा सेन्टरको मेसु थिए। उनी राजनीतिकरूपमा जनता समाजवादी पार्टी (जसपा) निकट मानिन्छन्।

अर्का प्रतिस्पर्धी डा. रामपरीक्षण वरिष्ठ चिकित्सक हुन्। जनकपुरका पुराना चिकित्सकमध्ये मानिने उनी वामपन्थी विचारधारा राख्छन्।

उपाध्यक्ष पदका लागि मैदानमा रहेका वरिष्ठ र युवा चिकित्सकमध्ये डा. शिवजी बलियो उम्मेदवार मानिन्छन्। बिपी कोइराला क्यान्सर अस्पतालका रेडिएसन अंकोलोजिस्ट उनी अस्पतालको विभागीय प्रमुखसमेत हुन्।

चिकित्सक संघ र काउन्सिलका विगतका निर्वाचनमा जितेको र काम गरेको बलियो ‘लिगेसी’ डा. शिवजीको सबल पक्ष हो। उनी नेपाल चिकित्सक संघमा एक कार्यकाल सहकोषाध्यक्ष, एक कार्यकाल सदस्य भए। त्यसैगरी मेडिकल काउन्सिलमा पनि सदस्य पदमा दुईपटक लोकप्रिय मतसहित जितेका थिए।

राजनीतिकरूपमा प्रजातान्त्रिक समूहमा खुलेका डा. पौडेल अन्य सामाजिक र चिकित्सा शिक्षा अभियानसँग पनि जोडिएका कारण बलियो उम्मेदवार मानिन्छन्।

युवा उम्मेदवारको बाहुल्य, को बलियो?

विगतका निर्वाचनमा डा. सुबोध अधिकारी, डा. दामोदर पोखरेल, डा. रोशन पोखरेल, डा. अनिलकुमार झा, डा. गणेश गुरुङजस्ता वरिष्ठ चिकित्सकसमेत मैदानमा उत्रिने काउन्सिलमा यसपालि वरिष्ठ चिकित्सकहरूको खासै आकर्षण छैन।

मैदानमा उत्रिएका मध्ये डा. नारायणसिंह गुरुङ, डा. बिना श्रेष्ठ, डा. लक्ष्मी पाठक, डा. सूर्यनारायण साहलगायत केही बाहेक अरु ३० देखि ४० वर्षभित्रकै चिकित्सकको हालिमुहाली छ। त्यसमा पनि १० हजारभन्दा कममा काउन्सिल नम्बर भएका डाक्टर नै पनि मैदानमा मुस्किलले भेटिएका छन्। यस अर्थमा सुसुप्तरूपमा बन्ने प्यानलमा पर्ने र अलि धेरै भोट भएका क्लस्टरको भोट एकमुष्ठ ल्याउन सक्ने चर्चित अनुहारले चुनाव जित्ने सम्भावा बढी रहन्छ।

विशेषगरी तेस्रोपटक चुनावी मैदानमा रहेका डा. विश्वराज दवाडी, डा. हुलास अग्रवाल, डा. गुरुशरण साह, डा. बिना श्रेष्ठ, डा. रोहित मिश्रा, डा. रीता महासेठ, डा. रुपक घिमिरे, डा. कुम्भराज जोशी, डा. लवकुमार साहको चिकित्सकमाझ बढी चर्चा सुनिन्छ।

यीबाहेक दोस्रोपटक मैदानमा रहेका डा. कालुसिंह खत्री र डा. तोसिमा कार्की व्यक्तिगत भोट बढी भएका उम्मेदवार मानिए पनि पछिल्लोपटक काउन्सिलबाट चिकित्सकहरूको फोन नम्बरलगायत व्यक्तिगत विवरण अनधिकृत लिएर दुरुपोग विवादमा तानिएका छन्।

अन्य उम्मेदवारले नपाएको चिकित्सकको महत्वपूर्ण तथ्यांक दुरुपयोगको घाटा यी दुवै उम्मेदवारलाई ठूलै पर्ने आँकलन गरिएको छ। त्यसमा पनि काउन्सिलले छानबिन गरिरहेको यो विषयमा अपराध अनुसन्धान महाशाखा (सिआइबी) र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी परेको छ।

मैदानमा उत्रिएका मध्ये जनरल प्राक्टिसिनर (जिपी) डा. अजयसिंह थापा ग्रान्डी अस्पतालका पूर्वचिकित्सक हुन्। त्यसैगरी चिकित्सक संघको गत निर्वाचनमा स्वतन्त्र लडेर सम्मानजनक मत ल्याएका डा. अमित चतुर्वेदीले उपत्यकाबाहिर राम्रै मत पाएको अपेक्षा गरिएको छ।

त्यसैगरी अर्का उम्मेदवार डा. अमृत भुसाल चिकित्सा समुदायमा ‘र्यासनल अजेन्डा’ उठाउन चिकित्सकका रूपमा चिनिन्छन्। डेन्टल चिकित्सक डा. अनुप पन्थी प्रगतीशील विचारधाराका चिकित्सकमाझ चिनिएको नाम हो।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिना श्रेष्ठ काउन्सिलको गत निर्वाचनमा आठजनाले चुनाव जित्दा २० मत कम पाएर पराजित भएकी थिइन्।

यसपटक उनलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। काउन्सिल सदस्य पदका लागि तेस्रोपटक मैदानमा रहेका डा. विश्व दवाडी चिकित्सक संघका पनि सहकोषाध्यक्ष हुन् । काउन्सिल र संघमा पनि दवाडको आफ्नै खालको छवि र ‘सर्कल’ छ।

वीर अस्पतालका न्युरो फिजिसियन (डिएम) डा. घनश्याम खरेल राजनीतिक रूपमा स्वतन्त्र मानिन्छन्। ‘क्लिनिकल साउन्ड’ हुन र ठूलो संस्थामा काम गर्नुसँगै राजनीतिक रूपमा स्वतन्त्र हुनुले उनलाई फाइदा वा घाटा के गर्छ अहिल्यै आँकलन गर्न कठिन छ।

चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. गुरुशरण साह वरिष्ठतम् चिकित्सकमध्येका हुन्। ‘पेरिफेरी’ मा रहेर काम गरेका र काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका डा. साहको उपत्यकाभित्र चिकित्सक भोटरमाझ पनि बलियो सम्बन्ध छ।

नेपाल चिकित्सक संघको जुनियर डक्टर्स कमिटीमा सदस्य भएर काम गरेका डा. हुलास अग्रवाल सामाजिक र चिकित्सक हितका अभियानबाट छोटो समयमै चिनिएको नाम हो। कोरोना महामारीका समयमा मास्क बैंक खोलेरै मास्क वितरण अभियान चलाएका उनी पछिल्ला दिनमा युवा चिकित्सकलाई विभिन्न तालिम, सिएमईमार्फत समेटिरहेका छन्।

सदस्य पदका प्रतिस्पर्धीमध्ये कान्ति बाल अस्पतालमा कार्यरत बाल दन्त विधाका विशेषज्ञ डा. कुम्भराज जोशी चिकित्सा क्षेत्रका विकृतिविरुद्ध बोल्ने आँट भएको चिकित्सक मानिन्छन्। पछिल्लो निर्वाचनमा पनि भएको डाटा चोरीविरुद्ध निष्पक्ष छानबिनका लागि आवाज उठाउने उम्मेदवारमध्ये उनी अगाडि देखिएका छन्। यसले पनि उनलाई मतदाता चिकित्सकमाझ राम्रैसँग चिनाएको छ।

वीरमा कार्यरत डिएम कार्डियोलोजिस्ट डा. कुन्जाङ शेर्पा भलादमी र तर्कसंगत कुरा राख्ने चिकित्सका रूपमा चिनिन्छन् ।

मैदानमा रहेका मध्ये युनिभर्सल मेडिकल कलेजमा लामो समय निर्देशक भएर काम गरेकी डा. लक्ष्मी पाठक पनि सामाजिक तथा पेसागत विषयमा निडर भएर कुरा राख्ने चिकित्सकका रूपमा चर्चित नाम हो।

त्यस्तै बालरोग विशेषज्ञ डा. लवकुमार साह, नेसनल अस्पताल कलंकीका डा. प्रकाश पौडेल, चिकित्सक संघको गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित डा. प्रविणकुमार गिरी, टेकु अस्पतालमा कार्यरत डा. राकेशकुमार साह, क्यान्सर रोग विशेषज्ञ डा. रीताकुमारी महासेठ, ग्यास्ट्रोमा एमसिएच गरेका डा. रोहितकुमार मिश्रा, मिस्टर ह्यान्डसम नेपालका पूर्वविजेता एवं छाला रोग विशेषज्ञ डा. रुपक विश्वकर्मा (घिमिरे) र संघको निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित डा. सञ्जीतकुमार साह, योङ डक्टर्स एसोसिएसनका संस्थापक डा. सुलोचन लोहनी, धरानका डा. सन्दिप साह पनि चिकित्सकमाझ व्यक्तिगत सम्पर्क राम्रो भएका उम्मेदवार मानिन्छन्।

राजनीतिक ध्रुवीकरण कम

विगतका निर्वाचनमा राजनीतिक अस्थाका आधारमा प्यानल नै बनाएर समेत हिँड्ने प्रवृत्ति यसपटक सतहमा देखिएको छैन। तुलनात्मक रूपमा चिकित्सा समुदायमा तोकतान्त्रिक समूहका चिकित्सकको बहुल्य रहे पनि धेरै उम्मेदवार त्यही समूहबाट भएका कारण प्यानल बनाउन कठिन देखिएको छ। उपाध्यक्षमा डा. शिवजी पौडेलसहित र केही सदस्यका सन्दर्भमा प्रजातान्त्रिक समूहका चिकित्सक खुलेर लागेका छन्।

सदस्यका सन्दर्भमा डा. विश्व, डा. हुलास, डा. गुरुशरण, डा. बिना, डा. रोहित, डा. रीता र डा. रुपकलाई जिताउन बढी लबिङ गरेका छन्।

प्रगतीशील समूहका सन्दर्भमा भने ठूलो दल नेकपा र पछि एमालेसमेत विभाजन भएकाले पनि चिकित्सकहरूले प्यानल बनाउन सकेका छैनन्।

त्यसैगरी लेफ्टतर्फ पनि एमाले विचारधारा राख्ने चिकित्सकहरूले डा. कालु र डा. तोसिमा, डा. अमृत, डा. प्रकाश, माओवादी निकट चिकित्सकका डा. कुम्भराज, डा. अजयसिंहले बढी भोट पाउने सम्भावना छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *