फेरियो वीर अस्पतालको आकस्मिक कक्षको मुहार

हेल्थपोस्ट नेपाल

वीर अस्पतालको आकस्मिक कक्षमा अत्याधुनिक बेड जडान गरिएको छ। अस्ट्रेलिया सरकारको सहयोगमा ३५ वटा बेड आकस्मिक कक्षमा जडान गरिएको हो।

यसअघि साधारण बेडमात्रै थिए। हाल जडान गरिएका बेड मनिटरसहित भएको अस्पताल प्रमुख डा. भुपेन्द्र कुमार बस्नेतले बताए।‘वीर अस्पतालमा आएका बिरामीले गुणस्तरीय सेवाको साथै सुविधा पनि राम्रो पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ डा. बस्नेतले भने, ‘पछिल्ला दिनमा अस्पतालको सेवा नयाँ रुपमा परिणत गर्दै लगेका छौं।’

बिरामीको पहिलो प्रवेशद्वार, आकस्मिक कक्षमा आकर्षक बेड र पर्दा राखिएको छ। वीरको आकस्मिक कक्षमा प्रयोग हुँदै आएका वर्षौं पुराना खिया लागेका बेडलाई विस्थापित गरिएको छ।

अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्कले करिब ४५ लाख मूल्य बराबरका बेड बिहीबार अस्पताललाई हस्तान्तरण गरेकी हुन्। वीर अस्पतालमा दैनिक १ हजार ५ भन्दा बढी बिरामी ओपिडी सेवा लिन आउँछन्। यसभन्दा अगाडि वीरले ओपिडी सेवा लिन घरबाटै टिकट लिन पाउने व्यवस्था लागू गरिसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *