माओवादी नेता पुनलाई उपचारका लागि बैंककबाट चीन लगियो, कलेजो प्रत्यारोपण गर्नुपर्ने

हेल्थपोस्ट नेपाल

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो।

लामो समयदेखि पुनको स्वास्थ्य हेरिरहेका पेटरोग विशेषज्ञ डा. युवराज शर्माका अनुसार उनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएको छ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

‘बैंककमा उहाँको उपचार भयो। तर, सन्तोषजन उपलब्धि भएन,’ डा. शर्माले हेल्थपोस्टसँग भने, ‘जन्डिसको लेबल नघटेपछि चिकित्सकले नै चीन लैजाने सुझाव दिएका थिए।’

काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जण्डिससँगै शरीरका अन्य अंग (लिभर) मा पनि त्यसको असर देखिएको छ।

डा. शर्माको अनुसार अब पुनको लिभर प्रत्यारोपण नै गनुपर्ने हुनसक्छ। ‘उहाँको लिभर प्रत्यारोपण वा अन्य नयाँ विधि अपनाउनुपर्ने हुनसक्छ,’ डा. शर्माले भने।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पतालमा डा. शर्मासँग परीक्षण गराएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *