दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक?

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ। नयाँ भेरियन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै संख्यामा भएको बताएका छन्।
उनीहरूले अहिले प्रयोगमा आएका कोरोना भाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्दैछन्।
यसैबीच, बेलायतले दक्षिण अफ्रिकी ६ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्।
नयाँ भेरियन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको संक्रमण थप क्षेत्रमा फैलिएका संकेतहरू पनि छन्।