सूर्तीजन्य पदार्थको सेवन गर्ने युवा हृदयघातकाे उच्च जाेखिममा

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गर्ने बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गर्ने बताएका हुन्।

उनले मूल्यअभिवृद्धि कर बढाएर र सूर्तीजन्य पदार्थको वट्टामा चित्र राखेर सेवनमा नियन्त्रण गर्न खोजे पनि प्रभावकारी नभएको जनाउँदै चिकित्सकले कुनै डर सिर्जना गरेर सेवनलाई निरुत्साहित गर्नुपर्ने बताए। उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने जानकारी दिए।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने बताए।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्सेनि हजाराैं मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए। उनले सबैको सहयोगबाट सूर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए।

शहीद गङ्गालाल हृदय राेग केन्द्रका निर्देशक डा‌. चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरै मानिसलाई हृदयघात हुने गरेको बताए। उनका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको छ। हृदयघात हुनेमा सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गर्ने युवा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *