स्वास्थ्यमन्त्रीले चुरोट तानेको अनुभव सुनाएपछि…

हेल्थपोस्ट नेपाल

होटेल हिमालयको सानो हल, बुधबार बिहान खचाखच थियो। नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका विषयमा एउटा कार्यशाला थियो।

विषयविज्ञ अनि पत्रकार र सरकारी अधिकारीहरूले भरिएको त्यो हलमा प्रमुख अथिति थिए- विरोध खतिवडा।

सबैजसो विज्ञले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रको  एउटै सार थियो-सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण। र, उनीहरूले सरकारले(सम्बन्धित मन्त्रालय)ले कुनै न कुनै ‘एक्सन’ लेओस् भन्ने अपेक्षा पनि राखे।

सबैका विचार, कार्यपत्र र छलफल सुनिसकेपछि मन्त्री खतिवडा बोले।

सुरूमै उनले भने- म त सुन्न आएको मान्छे। बोल्न लगाएर के हुन्छ खै!

हलभरि हाँसो गुञ्जियो।

‘जनचेतनाको कमी भएर होला, चेतना भयो भने मानिसले सेवन गर्दैनन् भन्ने भयो। तर कम भएनन्। बट्टाहरू त्यस्तो तस्बिर राखियो। त्यसले पनि काम चलेन।’

सूर्तिजन्य पदार्थको बट्टामा केही वर्षदेखि ‘खराब फोक्सो’को चित्र राखेर मानिसलाई सचेत पार्न खोजिएको छ।

अरू पनि त्यस्तै त्यस्तै भाषण गर्दै मन्त्री खतिवडाले डाक्टरहरूलाई एउटा उपाय सिकाए, खतिवडाको त्यो उपाय थियो ‘डर!’

‘कोही बिरामी डाक्टरलाई देखाउन आयो भने उसलाई भनिदिने, १० दिनभित्र चुरोट नछोडे त चङ्गाचैट्’

खतिवडाको त्यो ‘आइडिया’मा फेरि हलभरि हाँसो गुञ्जियो।

उनले डाक्टरहरूलाई अझै सिकाउँदै थिए ‘त्यो बिरामीलाई सूर्तीजन्य वस्तुले २५प्रतिशतमात्रै असर गरेको छ भने पनि उसलाई ९९ प्रतिशत डर देखाइदिनुस्’  उनले भने – ‘अब अरू केही उपाय लागेन। डरै देखाउनुपर्ने भयो।

सबैले त्यो कार्यशालामा मन्त्रीलाई कुनै न कुनै ‘एक्सन’का आग्रह गरेका थिए। कुनै न कुनै प्रतिवद्धता मागेका थिए तर उनले भने – मैले गर्नसक्ने केही छैन।

उनको टेबुल अघि पुगेको एउटा चिर्कटलाई पनि उनले अशुद्ध पढेर सुनाए- ‘७३ गाउँपालिका उपसचिव वा अधिकृत, ७७ वडाका सहायक सिडियोलाई बोलाएर , अफिसमा सूर्तीजन्य पदार्थ टाँस्ने , बितरण, नियगमन गर्न सुरु गर्ने…. निरक्षण गर्न सुरु गर्ने, विज्ञापन अन्य प्रयोजन बन्द गराउने… ’

खासमा मन्त्रीलाई सुझाव दिइएको त्यो चिर्कटमा ७५३ वटै स्थानीय तह अनि ७७ जिल्लाका सचिवहरू… भनेर उल्लेख गरिएको थियो। तर उनले त्यसलाई अशुद्ध पढिरहेका थिए।

अनि त्यसको जवाफमा उनले फेरि छोटोमा भने ‘यसमा त पहिला पनि काम भइसकेको होला। लागु भएकै होला। अब मैले के भन्ने त लौ तपाईंहरू नै भन्नुस्…’ प्रष्टै थियो। उनलाई यसअघि सरकारले लागु गरेका प्रावधान र नीति नियम कानुनहरू नै थाहा थिएन।

 

फेरि उनले पुरानै कुरा दोहोर्‍याए  – स्वास्थ्य क्षेत्रका साथीले कसरी हुन्छ बिरामीको दिमाग खाइदिनु पर्‍यो। दिमाग यसरी चट् पारिदिनु पर्‍यो कि, अब ज्ञान र बुद्दीले केही नहुने भयो।’

उनले केही ठाउँमा पोष्टर अनि पम्प्लेटहरू टाँस्दैमा मानिसले सुर्तीजन्य पदार्थ छोड्न नसक्ने जिकीर पनि गरे। ֥

‘सात दिनमा रक्सी, चुरोट मुक्त गर्ने आउनुहोस् भन्दै टासिँएको हुन्छ’ ‘रत्नपार्कमा चटकेले एक चक्कीले ५२ उपचार भन्या जस्तै हो कि। एक चक्कीले पेट दुखेको, महिनावारी बिग्रेको काम गर्छ भनेर दिन्छन्, त्यो हो कि होइन?’

हलमा फेरि हाँसो चल्यो। तर उनी त्यस्तै तर्क र तथ्यहीन कुरा बोल्दै गए।

‘मेरो आफ्नौ अनुभवले के देखाएको छ भने रुवाखोकी लागेको बेलामा चुरोट खान मन लाग्दैन। कमजोर भइन्छ भनेर खान मन लाग्दैन। किनभने शरीरले नै माग्दैन’ उनको अनुभव थियो, चुरोट तान्ने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *