डब्लुएचओको चेतावनी : कोरोनाका कारण युरोपमा थप ७ लाख मानिसको मृत्यु हुनसक्छ

हेल्थपोस्ट नेपाल

सन् २०२२ को मार्चसम्म युरोपमा थप ७ लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा ‘उच्च वा चरम दबाब’ हुने चेतावनी दिएको छ।

युरोपमा अहिले कोरोनाभाइरस संक्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेका छन्।

फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बुस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्णमात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।

तर, केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंस्रक प्रदर्शन भएको थियो।

डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ। ‘अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आंकलन गरिएको छ,’ डब्लुएचओले भनेको छ।

पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोब्बर भएर दैनिक ४ हजार २०० पुगेको डब्लुएचओले बताएको छ।

रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु संख्या १ हजार २०० नाघेको छ।

डब्लुएचओका अनुसार ठूलो संख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरियन्टको कारण युरोपमा संक्रमण दर बढेको हो।

डब्लुएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *