कोरोनाकाे दुवै खोप लगाएका मानिसमा पनि सङ्क्रमण, यस्ता छन् जोखिम र लक्षणहरू

हेल्थपोस्ट नेपाल

धेरैको घरमा दशैँको रमझम चलिरहँदा काठमाण्डूको कौशलटार बस्ने ४० वर्षीय प्रकाश घिमिरे भने कोरोनाभाइरसको सङ्क्रमणका कारण बिरामी थिए। उनमा कोभिड पुष्टि भएको केही दिनपछि घिमिरेकी ७९ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र आठ वर्षीय छोरामा पनि सङ्क्रमण देखियो।

घिमिरेलाई दोहोर्‍याएर सङ्क्रमण भएको हो। कोभिड-१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको पाँच महिना नबित्दै आफूमा सङ्क्रमण पुष्टि भएको उनी बताउँछन्।

“घरमा वृद्ध बुवाआमा र बच्चा भएकाले म निकै सतर्क बस्थेँ। महामारी सुरु भएदेखि नै साथीहरूसँग बसेका खाजा खाएको याद छैन। झन् दुवै डोज खोप लगाए पनि केही समयलाई ढुक्क हुन्छ भन्ने थियो तर भएन। झन् दुई पटक सङ्क्रमण भयो,” घिमिरेले  सुनाए।

दुवै मात्रा खोप लगाउनु र पछाडिको सङ्क्रमण अनुभव भने भिन्न रहेको उनको कथन छ।

“पहिलो चोटि हुँदा सामान्य टाउको दुखाइ मात्र थियो। दोस्रो पटकका लक्षणहरू केही गाह्रो बनायो,” उनले भने।

उनका अनुसार प्रारम्भिक पाँच दिनसम्म शरीरको तापक्रम १०२ डिग्री फरेन्हाइटभन्दा बढी पुगेको थियो। त्यस्तै छैटौँ दिनदेखि खोकी उग्र भयो। शरीर फतक्क गल्यो र टाउको अत्यधिक दुखेको थियो।

अस्पताल नै भर्ना हुनुपर्ने स्थिति नआए पनि आफूमा भएका शारीरिक परिवर्तनहरूले गाह्रो बनाएको उनले बताए।

उनी नियमित काममा फर्किएको करिब २० दिन भयो। सङ्क्रमणबाट मुक्त भए पनि शरीरमा थकान उस्तै रहेको, केही कुरामा राम्ररी ध्यान दिन नसकेको, सुतिराख्न मन लाग्ने र ससाना कुराहरू बिर्सने अनुभव सुनाउँछन्।

खोपको दुवै मात्रा लगाए पनि सङ्क्रमण भएको वा सङ्क्रमणका कारण स्वास्थ्य समस्याहरू देखिएका प्रकाश घिमिरे एक्ला होइनन्।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कुल बिरामीमध्ये ८३ प्रतिशत कोभिड-१९ विरुद्ध दुवै खोप लगाएकाहरू छन्।

त्यस्तै १७ प्रतिशत सङ्क्रमित खोप नलगाएकाहरू भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।

“दुवै खोप लगाएका सङ्क्रमितहरू सामान्यदेखि गम्भीर लक्षण पनि देखिएका छन्। कोही आईसीयूमा उपचाररत हुनुहुन्छ,” उनले भने।

कोभिड खोपले बनाएको एन्टिबडी कति प्रभावकारी?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपले सर्वसाधारण मानिसको शरीरमा विकास गर्ने एन्टिबडी कति समय प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धान गरेको थियो। उक्त अध्ययनले ती एन्टिबडी ९० दिनपछि कमजोर बन्दै जाने देखाएको छ।

अनुसन्धानमा संलग्न डा. विष्णु मरासिनीका अनुसार काठमाण्डू भित्रका १,८०० जनामा अनुसन्धान गरिएको हो।

“हामीले समुदाय स्तरका खोप लगाएका, नलगाएका र एक मात्र मात्रा लगाएकाहरूमा अध्ययन गरेका हौँ। दुवै मात्रा खोप लगाएकाहरूमा पनि खोप लगाएको ९० दिन पछि एन्टिबडी घट्दै गएको देखियो,” डा. मरासिनीले भने।
सबै उमेर समूहका मानिसको शरीरमा खोपले विकास गरेको एन्टिबडीको प्रभावकारिता कम हुने देखिएको हो।

“धेरैले खोप लगाएको छ महिना नबितेकाले एन्टिबडीको प्रभाव शून्यमा झरिसकेको छैन। अध्ययन जारी छ। अध्ययनमा सहभागी केही मानिसमा फलोअप गर्छौँ,” उनले भने।

कोभिड खोप लगाएपछि सङ्क्रमण हुन्छ कि हुँदैन?
नेपालमा ५० प्रतिशतभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमणले नै प्रतिरक्षा प्रणाली सबल बनाएको र खोप लगाएका मानिसमा पनि कोभिड-१९ विरुद्ध एन्डिबडी बनेको सङ्क्रामक रोगविज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

सङ्क्रमण भएको वा खोप लगाएको छ महिनासम्म एन्टिबडी सक्रिय हुने भएकाले सङ्क्रमणको जोखिम कम हुने वा सङ्क्रमण भए पनि सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल नबन्ने चिकित्सकहरूले बताउँदै आएका छन्।

नेपालमा खोप लगाउन सुरु भएको छ महिना र दोस्रो लहर सकिएको पाँच महिनाजति भएकाले दुवै मात्रा खोप लगाएकाहरूमा पनि सङ्क्रमण देखिएको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।

“खोप लगाउनुको अर्थ सङ्क्रमण हुँदै नहुनु होइन,” अधिकारीले भने, ”नेपालको हकमा दोस्रो लहर सकिएको कम्तीमा चार महिना त भयो। अबको एक दुई महिनामा त समुदाय स्तरको कोरोनाभाइरसविरुद्ध प्रतिरक्षा प्रणाली धेरै मात्रामा कम हुने सम्भावना छ।”

खोप लगाएकाहरू आईसीयू र भेन्टिलेटरमै पुग्ने वा मृत्यु हुने सम्भावना भने कम रहने अधिकारीको दाबी छ।

अधिकारीका अनुसार खोप लगाउँदैमा सबैमा प्रतिरक्षा प्रणाली विकास नहुन सक्छ। खोप लगाउँदा प्रयोग गरिने साधन र लगाउने प्रक्रिया सही भए मात्र प्रभावकारिता उच्च रहने उनको भनाइ छ। अनि सम्बन्धित मानिसको प्रतिरक्षा क्षमताले पनि सङ्क्रमणको जोखिम निर्धारण गर्ने उनले बताए।

 

बीबीसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *