डाक्टरको विवरण ‘चोरी’ प्रकरण : काउन्सिलले स्वीकार गर्‍यो, तर, आरोपित व्यक्ति लुकायो

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले निर्वाचनका समयमा काउन्सिलका चिकित्सकको विवरण चोरी भएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेको छ।

एक विज्ञप्ति जारी गर्दै काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भइ व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने सार्वजनिक भएको सूचना प्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उम्मेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुसँग भोट मागेको आरोप छ।

सो बिषयमा काउन्सिलले गरेको अनुसन्धानमा दर्ता भएका चिकित्सकहरुलाई छोटो सूचना पठाउनका लागि एक आइटी कम्पनीबाट फोन म्यासेस सेवा लिएको पाइएको स्वीकार गरेको छ।

तर, काउन्सिलले उक्त विषयमा आरोप लगाइएका व्यक्तिका विषयमा भने केही पनि बोलेको छैन।

काउन्सिलले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनीद्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर, सो नम्बर नेमेकाको लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो।’

दर्तावाल चिकित्सकहरुको कुनै विवरण वा कागकाज कतै सेयर नभएको काउन्सिलले प्रष्ट पारेको छ।

काउन्सिलले एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध भने गरेको जनाएको छ।

काउन्सिलले आइटी कम्पनीको लुकाएको छ। काउन्सिलका एक सदस्यले दिएको जानकारी अनुसार उक्त आइटी कम्पनीको नाम सिरान टेक्नोलोजीज प्राली हो। यही कम्पनीले नै काउन्सिलको वेभसाइटको काम पनि गर्दै आएको छ।

यस्तो छ काउन्सिलले सार्वजनिक गरेको धारणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *