विष बन्न सक्छ चिकित्सकको सल्लाहविनाका औषधि, कस्तो अवस्थामा प्रयोग गर्ने?

हेल्थपोस्ट नेपाल

तपाईं पनि यदि स्वास्थ्यसम्बन्धी सानातिना समस्याका लागि एन्टिबायोटिक प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस्, किनकि, यो बानीले तपाईंको स्वास्थ्यमा विभिन्न तरिकाले नोक्सान पुर्‍याउन सक्छ।

ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सूक्ष्मजीवविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ।

यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने, तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

दैनिक भागदौडपूर्ण जिन्दगीमा प्रायः हामी टाउको तथा पेट दुख्ने, ज्वरो आउनेजस्ता आमसमस्यामा चिकित्सकको सल्लाहविनै जुनसुकै एन्टिबायोटिक औषधिको सेवन गर्ने गछौं। तर, चिकित्सकहरू आवश्यकभन्दा बढी एन्टिबायोटिकको सेवनले डायरियाजस्ता पेटसम्बन्धी गम्भीर समस्या निम्तिन सक्ने चेतावनी दिन्छन्।

गलत एन्टिबायोटिकको सेवन पनि गम्भीर समस्या बन्न सक्छ, यदि तपाईंलाई त्यसको एलर्जी छ भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला ब्याक्टेरियाबाट हुने सङ्क्रमणलाई कुनै पनि औषधिले काम नगर्ने वा कोभिडकै बिरामीलाई पनि उपचार गर्दा औषधिले काम नगरेको बताउँछन्।

त्यस्तै, मन्त्रालयअन्तर्गत रहेको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्याय पनि जथाभाबी औषधि प्रयोग गर्दा त्यसले रोग निको पार्न कठिन हुनेदेखि बिरामीको जीवनरक्षा गर्नै नसकिने घटना धेरै पटक देखिएको बताउँछन्।

‘घरमै बसेर सामान्य औषधि खाए निको हुने टाइफोइडका बिरामीलाई बढी डोजसहित सुई दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने र कतिपय अवस्थामा त कलेजोमा असर गरेको देखिन्छ। मस्तिष्कमा पनि असर गर्न सक्छ,’ डा. उपाध्याय भन्छन्।

एन्टिबायोटिकको प्रयोग बढिरहँदा त्यसले बिरामीको ज्यानै गएका घटना पनि धेरै देखिएको उनले बताए।

कुनै पनि एन्टिबायोटिकको गलत वा आवश्यकताभन्दा अधिक प्रयोगले अनेक समस्या निम्त्याउन सक्छ। जस्तै, लामो समयसम्म इन्फेक्सन निको नहुनु। यसले एन्टिबायोटिक रेसिस्टेन्स अर्गानिजम पनि विकसित हुन सक्छ । यदि तपाईं चिकित्सकको सल्लाहविना कुनै एन्टिबायोटिक लगातार लिनुहुन्छ भने यो खतरा झनै बढ्न सक्छ।

वर्तमानमा ‘एन्टिबायोटिक प्रतिरोधक क्षमता’ विश्वको सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य समस्यामध्ये एक रहेको चिकित्सक बताउँछन्। तसर्थ, हामीले एन्टिबायोटिकको सही उपयोग र तिनको कामबारे धेरैभन्दा धेरै मानिसलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ, जसले यो समस्याको निदान हुन सकोस्। हामीले एन्टिबायोटिकको गलत प्रयोगको समस्यालाई गम्भीरताका साथ लिनु जरुरी छ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार एन्टिबायोटिक भाइरसको संक्रमणबाट रोक्न र भाइरसको उपचारका लागि उपयोग गरिने औषधि हुन्। एन्टिबायोटिक प्रतिरोध तब हुन्छ, जब यी औषधिको उपयोगको जबाफमा ब्याक्टेरियाले आफ्नो स्वरूप बदल्छन्।

सात वर्षअघि नै निर्देशिका

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगअनुसार तल्लो तहका स्वास्थ्य चौकीदेखि ठूला अस्पतालहरूले कुन अवस्थामा एन्टिबायोटिक सिफारिस गर्न पाउने भन्नेबारे २०७१ सालमै मापदण्ड तयार पारेको थियो।

चिकित्सकको परामर्शका आधारमा मात्र एन्टिबायोटिकको बिक्री(वितरण गर्नका लागि उक्त निर्देशिका ल्याइएको बताइन्छ। तर, नयाँ नियम लागु गरिएको भए पनि जथाभावी बिक्री–वितरण बढ्दै गएको तथ्यांकले नै देखाउने महाशाखाले नै जनाएको छ।

उक्त निर्देशिकाले एन्टिबायोटिक सिफारिस गर्दा त्यसको अनावश्यक प्रयोग नहोस्, त्यसले कुनै असुरक्षा ननिम्त्याओस् र कम खर्चमा उपचार होस् भन्नेमा ध्यान दिन चिकित्सकहरूलाई सुझाव दिएको थियो।

निर्देशिकाले स्वास्थ्यसंस्थाहरूलाई उपलब्ध भौतिक संरचना र जनशक्तिका आधारमा तीन तहमा वर्गीकरण गरेको छ।

डब्लुएचओका अनुसार खास आवश्यकताविना एन्टिबायोटिक औषधि प्रयोग गर्नाले एन्टिबायोटिक प्रतिरोधमा वृद्धि हुन्छ, जो वैश्विक स्वास्थ्यका लागि सबैभन्दा ठूला खतरामध्ये एक हो।

लामो समयसम्मको एन्टिबायोटिक प्रतिरोध संक्रमणले बिरामीलाई अस्पतालमा भर्ना गराउनुपर्ने हुन सक्छ। यस्तोमा उपचारका लागि ठूलो धनराशी खर्च हुनुका साथै बिरामी गम्भीर भएर मृत्युसमेत हुन सक्छ।

डब्लुएचओका अनुसार एन्टिबायोटिक प्रतिरोध संक्रमणले कुनै पनि देशको कुनै पनि उमेरसमूहका मानिस प्रभावित हुन सक्छन्। साथै, ब्याक्टेरिया एन्टिबायोटिकको प्रतिरोध भएपछि पूर्ण रूपमा संक्रमणको उपचार र नियन्त्रण सम्भव हुँदैन।

आजकल हामी टाउको दुखेमा, पेट दुखेमा वा ज्वरो आएमा पनि डाक्टरको सल्लाहविनै जुनसुकै एन्टिबायोटिक सेवन गछौं। कैयौँपटक त हामी कुनै आवश्यकताविनै पनि एन्टिबायोटिक प्रयोग गरिरहेका हुन्छौँ।

नियमित रूपमा गरिने एन्टिबायोटिकको प्रयोगले हाम्रो शरीरमा रहेका माइक्रोब्स वा ब्याक्टेरियाले आफूलाई बदल्छन्, जसका कारण एन्टिबायोटिकले उनीहरूलाई हानी पुर्‍याउन सक्दैनन्, फलस्वरूप ती औषधि पछि आवश्यक परेको अवस्थामा शरीरमा कुनै किसिमको प्रभाव पार्नसमेत असमर्थ हुन्छन्।

एन्टिबायोटिकलाई प्रतिरोध क्षमताका रूपमा लिइन्छ। एन्टिबायोटिकको आवश्यकताभन्दा बढी प्रयोग गर्नाले सबैभन्दा प्रभावशाली एन्टिबायोटिक औषधिको पनि केही ब्याक्टेरियामाथि कुनै असर पर्दैन। यी ब्याक्टेरियाले आफूले आफैँलाई यसरी बदल्छन् कि, औषधि, केमिकल वा इन्फेक्सन हटाउने कुनै पनि उपचारको कत्ति पनि असर यिनमा पर्दैन वा ज्यादै न्यून मात्र पर्छ। तसर्थ, हामी सबैले आफूखुसी वा लगातारको एन्टिबायोटिकसेवनपूर्व सम्भावित परिणामबारे गम्भीरताका साथ सोच्नु आवश्यक छ।

एन्टीबायोटिक्सका कारण हुन सक्ने साइड इफेक्ट

–पखाला, दिशा लाग्नु

–मृगौलामा असर पार्ने

–कानमा असर

–शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्रास आउने

एन्टिबायोटिक प्रयोगसम्बन्धी सरकारी मापदण्ड–
१. स्वास्थ्य स्वयंसेविकाले दिन मिल्ने गरी,
२. गाइडलाइनअनुसार स्वास्थ्यकर्मीले दिन सक्ने,
३. रजिस्टर्ड मेडिकल अफिसरहरूले प्रेस्क्राइब गरेको मात्र खान मिल्ने,
४. विशेषज्ञले प्रेस्क्राइब गरेको एन्टिबायोटिक मात्र खानुपर्ने (जस्तै, आइसियूका बिरामी) ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *