पिसिएल नर्सिङ भर्ना अब ४४ कलेजमा मात्र

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पीसीएल नर्सिङको भर्ना यही बुधबारभित्र खुलाउने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार बसेको बैठकले सीटीईभीटीको पीसीएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अगाडी बढाएको हो।
चिकित्सा शिक्षा आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० शय्याका आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरूले भर्ना लिन पाउनेछन् ।
सिटिइभिटीका सचिव जीवनारायण काफ्लेका अनुसार यस वर्ष ४४ वटा नीजि तथा आंगिक क्याम्पसहरुले भर्ना खोल्न पाउने भएका हुन्।
सिटिइभिटी अन्र्तगत ७ वटा आंगिक क्याम्पस रहेका छन्, जसको प्रयोगात्मक शिक्षा सरकारी अस्पतालहरुमा गरिन्छ भने बाँकी कलेजहरुको आफ्नै १०० शैयाको अस्पताल रहेको छ।
काफ्लेले मापदण्ड पुरा नभएका कलेजहरुलाई मापदण्ड पुरा गरेपछि वा आगामि छलफलहरुमा विषय उठान गर्ने बताए।
परिषद्ले भर्ना प्रकृयाका लागि विज्ञापन छाप्ने तयारी गरेको छ भने यस वर्ष सिमित विद्यार्थीहरुले मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाउने छन्।
‘विज्ञापनसँगै मापदण्ड पूरा गरेका कलेजहरुको नाम सार्वजनिक गर्नेछौं भने यस वर्ष १५०० विद्यार्थीका लागि मात्र सिट तोकेका छौं,’ उनले भने।
छात्रवृत्तिको प्रकृया चलिरहेका कारण केही दिन भित्र विज्ञापन सार्वजनिक हुने उनले बताए।
सीटीईभीटी अन्तर्गत पीसीएल नर्सिङ अध्यापनका लागि १०० शय्याभन्दा कम क्षमता भएका अस्पतालले पनि भर्ना लिन पाउनुपर्ने मुद्दामा सहमति हुन नसक्दा लामो समयदेखि निर्णय रोकिएको थियो ।
आइतबार शिक्षा विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेल, शिक्षा सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिव लगायत मन्त्रालय, आयोग र सीटीईभीटीका अन्य सम्बद्ध व्यक्तिहरू सहित बसेको बैठकले १०० शय्या भएका नर्सिङ कलेजहरूका लागि तीन दिनभित्र भर्ना खुला गर्ने निर्णय गरेको हो ।
Pcl Nursing ko scholarship ma ANM certificate bat padhna pauxa ki nai please vandinu na