वीरको सेवा डिजिटलाइज हुँदै, यसरी काट्नुहोस् घरबाटै टिकट

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले थप सेवा विस्तार गरेको छ। यो सँगै बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात भएको छ। उपचार गराउन अब मोबाइलबाट नै टिकट लिन पाइने अस्पताल प्रशासनले जनाएको छ।
मोबाइल एप्लिकेसनमार्फत अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालका प्रमुख डा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
त्यसका लागि बिरामीले अस्पतालको एप ‘वीर हस्पिटल’ मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। सो एपमा गएर आफूले कुन सेवा लिन चाहेको हो रोजेर टिकट लिन सकिने छ।
यो प्रविधिको विकाससँगै घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यताको अन्त्य भएको डा. बस्नेत बताउँछन्। यसरी टिकट लिएर इसेवा वा खल्तीमार्फत टिकट शुल्क तिनुपर्ने हुन्छ।
अस्पतालमा पुगेर बिरामीले सिधै ओपिडीमा सेवा लिन जान पाउनेछन्।
‘अब बिरामीले सिधै चिकित्सक भेट्न मात्रै अस्पताल जान सकिन्छ। यो प्रविधि अहिलेलाई ओपिडी सेवामा मात्रै लागू गरिएको छ। विस्तारै अन्य सेवामा पनि विस्तार गर्छौं,’ डा. बस्नेतले भने।
अस्पतालले यसअघि नै ल्याब रिपोर्टहरु अनलाइनमार्फत नै हेर्न मिल्ने व्यवस्थासमेत गरिसकेको छ।