आत्महत्या रोकथामका लागि के गर्ने ?

मिडिया र आत्महत्याबीचको सम्बन्धको बारेमा सबैभन्दा पहिलो उल्लेख गोथेको उपन्यास ‘युवा वेर्थरको विलाप’ मा भएको देखिन्छ। सन् १७७४ मा यसको प्रकाशन भएलगत्तै, युवाहरूले पहेंलो प्यान्ट र नीलो ज्याकेट लगाएर मुख्य पात्रको नक्कल गर्न थाले।

उपन्यासमा, वर्थरले आफूले माया गर्ने महिलाले आफूलाई अस्वीकार गरेपछि पिस्तोलले आफैंलाई गोली हान्छ। यसको प्रकाशनको केही समयपछि, युवाहरुले निराशाको कदम स्वरुप आत्महत्या गर्नको लागि त्यही विधि प्रयोग गरेको रिपोर्टहरु आए।

जसका कारण धेरै ठाउँमा उक्त पुस्तक माथि प्रतिबन्ध लगाइयो। यसैले ‘वर्थर प्रभाव’ भन्ने शब्दलाई प्राविधिक साहित्यमा सोही प्रकृतिका आत्महत्याका घटनालाई जनाउन प्रयोग गरिन्छ। यो शब्द दुई शताब्दी पछि अर्थात सन् १९९४ मा शोधकता डेभिड फिलिप्सद्धारा प्रतिपादित गरिएको थियो।

आत्महत्या कमजोर मानसिक स्वास्थ्यको सूचक हो, र यो विश्वभर हुने मृत्युको प्रमुख कारणहरु मध्येमा पर्दछ। २०७६ सालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ६.५ प्रतिशत वयस्क जनसंख्याले आफूलाई आत्महत्याको सोच आउने गरेको बताएका छन्। २०७७ सालमा आत्महत्या कारण हामीले नेपालमा हरेक दिन १९ जनालाई गुमाएका थियौं। आत्महत्याको बढ्दो प्रवृत्तिलाई रोक्न र उल्टाउन असफल भएमा नेपालले दिगो विकास लक्ष्य हासिल गर्न सक्दैन।

व्यवहारसम्बन्धी वैज्ञानिक सान्ड्रा जे क्लार्कको अहिले प्रायः उद्धृत हुने सन् २००१ मा प्रकाशित शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरिएको छ, ‘आत्महत्या गर्ने व्यक्ति एकपटक मर्छ । उसको पछाडि छोडिएकाहरू ती डरलाग्दा पलहरूलाई पुनः जिउन खोज्दै र किन यस्तो हुन्छ भन्ने बुझ्न खोज्दै हजारौँ मृत्यु मर्छन्।’

औसतमा, प्रत्येक आत्महत्याले ६ वा सोभन्दा बढी व्यक्तिलाई आत्महत्या प्रभावितको रूपमा छोड्ने अध्ययनहरूले देखाउँछन्। यी भनेका ती मानिस हुन्, जसले आफूले अति माया गर्ने गरेको कसैलाई गुमाएका छन् र शोकमा छन्। यति मात्र होइन, आत्महत्याका प्रभावितहरूले आत्महत्याका बारेमा सोच्ने, योजना बनाउने वा प्रयास गर्ने जोखिम हुन्छ र यसरी यसले उनीहरूको पीडा र सङ्घर्षको प्रभावलाई अझ बढाउँदै लगिरहेको हुन्छ।

विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथाम गर्न ‘लाइभ लाइफ विधि’ कार्यान्वयनका लागि विस्तृत निर्देशिका जारी गरेको छ। यस निर्देशिकामा सिफारिस गरिएका चार रणनीतिमध्ये एउटा आत्महत्याको जिम्मेवारपूर्ण रिपोर्टिङमा मिडियालाई शिक्षित गर्ने रहेको छ।

आजको बैठकमा हुने छलफल मिडियामा आत्महत्याको जिम्मेवारीपूर्ण रिर्पोटिङबारे विश्व स्वास्थ्य संगठनको अद्यावधिक गरिएको निर्देशकाको नेपाली अनुवादको स्थानीयकरण र विस्तारको सेरोफेरोमा रहने भएकोमा म खुसी छु। दुर्भाग्यवस, आत्महत्यासँग सम्बन्धित विषयवस्तुको सुरक्षित रिर्पोटिङसम्बन्धी स्थानिय मिडिया निर्देशिकाको बारेमा प्रेस, मानसिक स्वास्थ्यकर्मी, र आत्महत्यासम्बन्धी व्यवहार भोगको व्यक्तिहरुबीच सचेतनाको स्तर न्युन रहेको हामीले पाएका छौं।

म मिडिया प्रतिनिधिहरुलाई यस निर्देशिका अध्ययन गर्न आग्रह गर्दछु। आत्महत्याको रिर्पोटिङ अभ्यासमा सुधार गर्न र आत्महत्याको धारणा कम गर्न मिडिया निर्देशिकाको प्रभावकारिताको बारेमा वैज्ञानिक साहित्यमा प्रर्याप्त छन्। त्यसैगरी, हामीले के पनि सिकेका छौ भने निर्देशिकाको विकास वा लेखनमा कुनै मिडियाकर्मी संलग्न छैइन भने यसको पालना गर्न उनीहरु उत्प्रेरित नहुन सक्छन्। बोहन र बाडले सन् २०१२ मा गरेको बृहत समीक्षाले मिडिया निर्देशिकाको प्रभावकारिताको लागि मिडिया समुदायको समर्थन, परामर्श र सहयोग, अर्थात अर्को शब्दमा भन्नुपर्दा ‘मिडियाको अपनत्व’ आवश्यक पर्ने संकेत गर्छ।

मिडिया र स्वास्थ्यसम्बन्धी कार्यशालाहरुको स्वरुप निर्धारण गर्दा प्राय मिडिया आफैंबाट गरिने स्वनियमनले मानिस स्वास्थ्यमा अव्यवसायिक रिपोर्टिङको समस्याहरु समाधान गर्नेछ भन्ने मान्यता राखिने गरिएको छ। मिडिया र मानसिक स्वास्थ्यकर्मीबीच निरन्तर सहकार्यको महत्वको बारेमा क्यानेडियन साइकियाट्रिक एसोसिएसनको सुझावलाई तपाइहरसँग बाड्न चाहन्छु।

उक्त एसोसिएसनका अनुसार यस किसिमको सहकार्यले एकातिर असुरक्षित रिपोर्टिङले पार्ने असरलाई स्वीकार्नुपर्छ भने अर्कोतर्फ पत्रकारको स्वायत्ततालाई पनि मान्यता दिनुपर्छ। यसमा दुवै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य नीति निर्माताहरू र मिडियाकर्मीहरूले आपसमा सहकार्य गर्दै नियमित, बारम्बार र निरन्तर संवादलाई अघि बढाउनुपर्ने हुन्छ।

अस्ट्रिया र अस्ट्रेलियामा, आत्महत्या रिपोर्टिङका निर्देशिकाको विकास, प्रचार–प्रसार र तालिम प्रक्रियाहरूमा मिडिया क्षेत्रको संलग्नताले रिपोर्टिङ अभ्यासहरू परिवर्तन गर्न र आत्महत्याको अनुकरणलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको विपरीत, मिडियाकर्मीको राय सुझावविना मिडिया निर्देशिका विकास गरिएका देशहरूमा यसप्रतिको सहयोग र सहभागिताको स्तर न्यून रह्यो, र यसैले रिपोर्टिङ गुणस्तर न्यून नै रहन गयो।

त्यसैगरी, पत्रकारिताको नैतिक आचरणको एउटा मूलभूत मान्यता जनहितको प्रवद्र्धन गर्नु भन्नेबाट सबै मिडियाकर्मी प्रेरित रहेका हुन्छन् । यी भनेका हाम्रा मेल हुने बिन्दुहरू र सम्भवतः नेपालमा आत्महत्या न्यूनीकरणमा हाम्रो सहकार्यको सुरुवाती बिन्दुहरू हुन्।

तथ्य तोडमरोड नगरीकन मिडियामा प्रयोग हुने शब्दावली, दृष्टिकोण तथा स्थानीयकरणलाई ध्यान दिएर हामीले आत्महत्यासम्बन्धी समाचारको रिपोर्टिङ सुरक्षित भएको सुनिश्चित गर्नुपर्छ।

यसबाहेक, आत्महत्यासँग सम्बन्धित समाचारहरूमा रोकथाम–केन्द्रित रिपोर्टिङको अत्यन्तै आवश्यकता छ, अर्थात्, संकटको समयमा मद्दत खोजिने स्रोतहरूबारे सान्दर्भिक जानकारी समावेश गर्नुपर्छ र आत्महत्याको घटनामा भावनात्मक सहयोगको व्यवस्था हुनुपर्छ।

तपाईलाई आश्चर्य लाग्न सक्छ, तर मानसिक स्वास्थ्यकर्मी र पत्रकारहरुबीचको सहकार्यले आत्महत्यासम्बन्धी समाचारको सुरक्षित रिपोर्टिङ गर्ने कुरामा सम्पादकीय निर्णयहरूलाई समेत प्रभाव पार्न सक्छ।

सामाजिक सञ्जालले कसरी कार्य गर्दछ भन्नेमा हामी सबै केही हदसम्म नयाँ छौँ र सिकिरहेका छौँ । सामाजिक सञ्जालहरुमा हुने असुरक्षित रिपोर्टिङ एउटा बढ्दो चुनौती हो । सामाजिक सञ्जालले अफवाह र गलत जानकारीलाई कति चाँडो मूलधारमा प्रवाह गर्न सक्छ भनेर हामीलाई कोभिड–१९ ले देखाएको छ । हामीले तपाईसँग साझेदारी गर्ने निर्देशिकाले चुनौतीको यस पक्षलाई पनि हेर्छ ।

मोजार्टको ओपेरा ‘द म्याजिक फ्लुट’ मा पापाजेनो नामको पात्रले आफ्नी प्रेमिका गुमाएको ठानेर आत्महत्या गर्ने सोच्छ। तर, अन्तिम क्षणमा, उसलाई आत्महत्याको विकल्पको सम्झना हुन्छ, र उसले वैकल्पिक मार्ग रोज्छ।

आत्महत्याका बारेमा मिडियाको जिम्मेवारपूर्ण रिपोर्टिङका सकारात्मक प्रभावहरुलाई वैज्ञानिक साहित्यमा ‘पापाजेनो प्रभाव’ भनिन्छ। मलाई आशा छ, हामीले नेपालमा पापाजेनो प्रभाव धेरै देख्नेछौं र आत्महत्याका घटनाको संख्यामा कमी आउनेछ।

(धुलिखेलमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश साम्भाजीराव पाण्डवले व्यक्त गरेको विचार)



Leave a Reply

Your email address will not be published. Required fields are marked *