नेपालमा पहिलोपटक भक्तपुरबाट घरदैलो नर्सिङ सेवा सञ्चालन

 

नेपालमा पहिलोपटक भक्तपुरबाट घरदैलो नर्सिङ सेवा संचालन हुने भएको छ। नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले घरदैलो नर्सिङ सेवाकाे उद्घाटन गरेका छन्।

भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रम गर्न लागिएकाे हाे।

कार्यक्रमकाे उद्घाटन गर्दै सुवालले घरदैलो नर्सिङ सेवाबाट आमजनता लाभान्वित हुने आशा व्यक्त गरे। स्वास्थ्य समस्याको समाधान विज्ञानसम्मत हुनुपर्ने बताउँदै उनले विज्ञान र प्रविधिको उपयोग सबै देशले समान ढंगले गर्न पाउनुपर्ने बताए। साथै उनले स्वास्थ्य बीमा, नि:शुल्क औषधि बिक्री- वितरणमा अनुगमन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा सुरु गरिरहेकोमा खुसी व्यक्त गरे। नगरप्रमुख प्रजापतिले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाको प्राविधिक सहयोग प्राप्त गरी अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै यो योजना देशकै निम्ति नमुना योजनाको रुपमा विकास गरिँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा नर्स तथा आवश्यक चिकित्सककाे व्यवस्था गरी जनतालाई गुओस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यअनुरुप आधुनिक र सुविधायुक्त ख्वप अस्पताल सञ्चालन गरिएकाे उनले जानकारी गराए।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताइन्।

कार्यक्रमका सभापति एवम् स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी समुदाय स्तरमा स्वास्थ्य सेवा सञ्चालन गरेकाे जानकारी गराइन्। उनले घरदैलो नर्सिङ नेपालमा पहिलोपटक भक्तपुरमा यस कार्यक्रमको सुरुवात गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन्।

कार्यक्रममा महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले नेपाल सरकारको घरदैलो नर्सिङ कार्यक्रमको परिचय र उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।



One thought on “नेपालमा पहिलोपटक भक्तपुरबाट घरदैलो नर्सिङ सेवा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *