खोप लगाएपनि युरोपमा फेरि बढ्न थाल्यो कोरोना, लकडाउन गर्न थालियो

हेल्थपोस्ट नेपाल

युरोपका केही देशहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरूमा वृद्धि भएपछि कोभिडको नयाँ लहरका बारेमा चिन्ता व्यक्त गरिएका छन्।

जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र यूकेमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको छ।

अस्ट्रियामा पूर्ण लकडाउन

अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ।

“हामी पाँचौँ लहर चाहँदैनौँ,” चान्सलर एलेक्सजान्डर स्यालेन्बर्गले नौ प्रान्तका गभर्नरहरूसँगको छलफलपछि भने।

अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनाको दरले सङ्क्रमण भएको तथ्याङ्कले देखाउँछ।

कुल ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा शुक्रवार थप १५,८०९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्।

अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन्।

अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ।

अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएका छन्।

जर्मनीमा बढ्दो सङ्क्रमण

जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ। स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्।

यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।

अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिहरूलाई प्रतिबन्धहरू लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन्।

नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ।
मेर्कलले जर्मनीको कोभिड अवस्थालाई नाटकीय भन्दै तुरुन्तै सङ्क्रमणमा ब्रेक लगाउनु पर्ने बताएकी छन्।

जर्मनीमा बिहीवार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *