चिकित्सकको विवरण ‘चोरी’ प्रकरणः यसो भन्छन् अध्यक्ष डा. भगवान कोइराला

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि दुई उम्मेदवारले चिकित्सकको डाटा दुरुपयोग गरेको कुरा सार्वजनिक भएपछि काउन्सिले छानबिन प्रक्रिया अगाडि बढाएको छ।

यस बिषयमा काउन्सिलले आज ‘फुल’ बैठक बोलाएको छ।

काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले आज बस्ने बैठकमा चिकित्सकको विवरणको सुरक्षाको अवस्था तथा भविष्यको योजनाको विषयमा छलफल हुने बताए।

‘चिकित्सकको विवरण बाहिर गएको भन्ने विषयमा अनुसन्धान सुरु भएको छ,’ डा. कोइरालाले भने, ‘चिकित्सकको व्यक्तिगत विवरणको सुरक्षा गर्ने जिम्मेवारी काउन्सिलको हो।’

दर्तावाला चिकित्सकको व्यक्तिगत ‘विवरण’ बाहिर गएको भन्ने बिषयमा काउन्सिल गम्भीर रहेको उनले बताए।

‘चिकित्सकहरुका व्यक्तिगत विवरण जति हामीकहाँ आउँछन्। त्यसको गोपनीयता कायम गर्ने जिम्मेवारी काउन्सिलको हो। यो विषयमा हामी एकदमै गम्भीर छौं,’ उनले भने।

काउन्सिलले नै नम्बरलगायतका विवरण उम्मेदवारहरुलाई उपलब्ध गराएको आरोप लागेको छ।

काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उम्मेदवार डा कालुसिंह खत्री र डा तोशिमा कार्र्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुसँग भोट मागेको आरोप छ। काउन्सिलले चिकित्सकहरुलाई सूचनाका लागि प्रयोग गर्दै आएको ३७८८८ नम्बर दुरुपयोग गरेको उनीहरुमाथि आरोप छ।

‘यस बिषयमा कुरा उठेपछि वास्ताविकताबारे छिनोफानो हुन्छ। दर्तावाला चिकित्सकको व्यक्तिगत विवरण बाहिर गएको भए थप जोखिम पर्ने भएकाले त्यही अनुसार काम गछौं,’ डा. कोइरालाले भने।

कानुनले बिनाअनुमति अरुको डाटा प्रयोग गर्नुलाई अपराध मान्छ। डाटा चोरी भएको ठहर भएमा उनीमाथि कानुन अनुसार कारबाही हुनेछ।

उम्मेदवारले नै गरे चुनावमा सरकारी नम्बरको दुरुपयोग, काउन्सिलले थाल्यो कारबाही



Leave a Reply

Your email address will not be published. Required fields are marked *