आफ्नै देशका ‘वैद्यखाना’हरू डुबाएर रामदेवलाई ‘जग्गा’ मिलाउँदै सरकार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार साँझतिर एउटा ट्विट गरे– ठूलो लगानी हुनसक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन/संरक्षण संझौता(विप्पा)गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफु अनुकुलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने? यो कस्तो राष्ट्रवादी विकास नीति हो?नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने?’

टेलिभिजन च्यालनलगायत नेपालमा आफ्नो व्यावसायिक ब्राण्ड ‘पतञ्जली’को प्रवर्द्धन गर्न आएका भारतीय योग गुरूको एउटा कार्यक्रमपछि डा.भट्टराईले यो ट्विट गरेका थिए।

 

पतञ्जलीका दुई टेलिभिजन च्यानल उद्घाटन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका सबैजसो दलका नेताहरू रामदेवको कार्यक्रममा पुगेका थिए।

त्यही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रामदेवका उद्योग व्यवसायहरू फैलाउनका लागि आवश्यक पर्ने जग्गाजमिन सरकारले दिने घोषणा गरेका थिए।

उनले भनेका थिए– ‘प्लान्टहरू लगाउने सबै कुरामा सहयोग हुनेछ। जग्गा जमिन उपलब्ध गराउने कुरामा उहाँलाई केही बाधा भएको छ भन्ने थाहा भएको छ। त्यो जग्गा नेपाल सरकारले उपलब्ध गराउनेछ।’

त्यही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेवलाई ‘महान वैज्ञानिक र क्रान्तिकारी’ भनेर सम्बोधन गरेका थिए। उनले रामदेवलाई भनेका थिए– ‘जहिलेदेखि बाबा रामदेवसँग नजिक भएँ त्यो बेला पहिला त लाग्थ्यो उहाँ रूढीवादी, परम्परावादी हुनुहुन्छ तर उहाँ त महान वैज्ञानिक अनि क्रान्तिकारी पो हुनुहुँदो रहेछ। त्यसैले अझ निकटता बढ्यो।’

बाबुरामको आक्रोश प्रचण्डका यिनै टिप्पणी र प्रधानमन्त्री देउवाले रामदेवका लागि जग्गा दिने घोषणाप्रति हो। भलै उनी पनि सत्ता गठबन्धनमध्ये जनता समाजवादीका नेता हुन् र उनको पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि त्यही कार्यक्रममा थिए। बाबा रामदेवले यादवलाई आफ्ना एक ‘प्रखर शीष्य’ भनेर चिनाएका थिए।

बाबुराम भट्टराईले भलै त्यो कुरालाई ‘राजनीतिक दर्शन’का भाषामा टिप्पणी गरेका छन्। तर प्रधानमन्त्री देउवाको त्यो घोषणा र प्रचण्डको टिप्पणीलाई लिएर अहिले सामाजिक सञ्जालमा अनेकखाले बहस र आलोचना भइरहेका छन्।

यही आलोचनामै सही सबैजना नेपालीले सम्झेको एउटा संस्था हो– सिंहदरबार वैद्यखाना।

झन्डै चार सय वर्षको इतिहास बोकेको सिंहदरबार बैद्यखाना सरकारी मातहतको एउटा आयुर्वेद औषधी उत्पादन गर्ने संस्था हो।

शासक र भाइभारदारको उपचार गराउने उद्देश्यले मल्लवंशी राजा प्रताप मल्लको समयमा आयुर्वेदिक औषधी उत्पादन गर्ने उद्धेश्यले स्थापना गरिएको थियो सिंहदरबार वैद्यखाना। ४ सय वर्षको इतिहास बोकेको यसको नाम सुरुमा वैद्यखाना थियो। लामो समयपछि मात्र यसको नाम सिंहदरबार वैद्यखाना राखिएको थियो।

सुरूमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो। पछि राणाकालका प्रधानमन्त्री जंगबहादुर राणाको पालामा यसलाई थापाथली दरबार सारियो। र, चन्द्रसमशेरले सिंहदरबारमा सारेपछि बल्ल यो ‘सिंहदरबार वैद्यखाना’ भयो। र, २०४६ सालको जनआन्दोनपछि प्रजातन्त्रको पुनस्थापनासँगै यसलाई २०५२ सालमा सरकारले सिंहदरबार वैद्यखाना समिति बनायो।

कुनै समय १०० वटा भन्दा बढी आयुर्वेदिक सामग्री उत्पादन गर्दै देशभर आयुर्वेद औषधीहरूको व्यापार गर्ने बैद्यखाना अहिले यसरी थलिएको छ कि, ‘ब्रान्ड’ बनिसकेको ‘च्यावनप्रास’समेत उत्पादन गर्न सकिरहेको छैन। मुस्किलले अहिले एक दर्जनजति यस्तै सामान्य सामग्रीहरू मात्रै वैद्यखानाले उत्पादन गर्छ।

कुनै समय आयुर्वेदिक औषधी उत्पादनमा निकै परिचित थियो वैद्यखाना। तत्कालीन राजा त्रिभुवन शाहले सर्वसाधारणको पहुँचमा ल्याएको सिंहदरबार वैद्यखाना २०५२ सालदेखि विकास समितिमार्फत् सञ्चालन हुँदै आएको छ। आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल र निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष २०६९ सम्म सबल नै थियो।

त्यसपछि राजनीतिक नियुक्ति र अस्तव्यस्तताले यो थलिंदै गयो। यो समितिसँग देशभर पनि आयुर्वेद औषधालयहरूको सञ्जाल थियो।

देशभर रहेका आयुर्वेद क्षेत्रीय अस्पतालहरूदेखि गाउँगाउँमा भएका औषधालयहरूसम्मै यसको एकछत्र राज थियो। यो समिति अन्तर्गत देशभरका स्थानीय स्तरमा ३८० आयुर्वेद संस्थाहरु र दुई वटा आयुर्वेद चिकित्सालयहरू सञ्चालनमा छन्।

आफै पनि थलिइरहेको वैद्यखानाका उत्पादनहरूलाई विस्तारै बहुराष्ट्रिय कम्पनीहरूले चेप्दै लगे। भारतमै उत्पादन हुने बाबा रामदेवको ब्रान्ड पतञ्जलीले यसलाई अझ थला पारिदियो। र, २०७३ सालमा रामदेवले नेपालकै बारा जिल्लामा कम्पनी खोलेर उत्पादन थालेपछि वैद्यखानाका उत्पादनहरू बजारबाट लगभग हराउनै थाले।

एकातिर राजनीतिक वेवास्ता अनि अर्कोतिर बजार व्यवस्थापनको कमजोरी यी सबैले थिचिदै गएको वैद्यखानासँग अहिले अनामनगरमा एउटा भवन छ। त्योभित्र केही कर्मचारीहरू छन्। तर, त्यसको पहिचान बजारबाट लगभग मेटिइसकेको छ।

केही वर्षअघि आर्युवेद विभागले प्रत्यक स्थानीय निकायमा आयुर्वेदको समन्वय गर्ने र सेवा प्रदान गर्ने इकाइ हुनुपर्ने, प्रत्यक प्रदेशमा ५० सैय्याको पञ्चकर्म तथा योग सेवा सहितको प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना गर्ने, प्रत्यक प्रदेशमा आयुर्वेद उद्यान र प्रशोधन केन्द्र निर्माण गर्ने, संघीय व्यवस्थाअनुकुलको जनशक्ति उत्पादन, व्यवस्थापन परिचालन एंव सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने, आयुर्वेन तथा जडिबुटीका नाममा हुने गरेको अवान्छित क्रियाकलापलाई नियन्त्रण तथा नियमन गर्न नीति नियम बनाउनुपर्ने मागसहितको एउटा प्रतिवेदन सरकारलाई बुझाएको थियो।

त्यस्तै उसले भवनहरू बनाउनका लागि नेपाल सरकारसँग जग्गाजमिनको पनि माग गरेको थियो। तर कुनै पनि सरकारले वैद्यखानाको त्यो अनुनयलाई सुनेनन्। तर, विश्वभरि आयुर्वेद औषधीको साम्राज्य फैलाउँदै नेपालको जडिबुटीमा समेत व्यापार थालिसकेका रामदेव बाबाका अघि प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीलाई नेपालमा उद्योग स्थापनाका लागि जग्गाजमिनको व्यवस्था गरिदिने भनेर सार्वजनिक घोषणा नै गरे।

सरकारले आयुर्वेदलाई थप प्रवर्द्धन गर्न २०३८ सालमा एउटा कम्पनी बनायो– जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड। तर यसको हालत त वैद्यखानाको भन्दा पनि झन नाजुक भइसकेको छ। केही वर्षअघि अर्थमन्त्रालयले एउटा प्रतिवेदनमा चाहिनेभन्दा कैयौ गुणा कर्मचारी रहेको यो कम्पनीले वर्षेनी २० करोडभन्दा बढी घाटामा रहेको जनाएको थियो। देशका विभिन्न ठाउँमा जडिबुटी खेती गरेर प्रशोधनको पनि काम गर्ने यो कम्पनीलाई चिनाउने एउटा उत्पादन ‘सन्चो’ हो। र, अरू दुईचारवटा जडिबुटी तेलहरू यसले उत्पादन गर्छ।

आफ्ना आयुर्वेद संस्थानहरू ओरालो लागिरहेका बेला रामदेवप्रति सरकारले देखाएको यो ‘उदारता’लाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

यसैप्रति टिप्पणी गर्दै एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता दीपकराज जोशीले लेखेका छन्– ‘राजा प्रताप मल्लको पालामा अर्थात् (वि.सं. १६९८–१७३१)मा शुरु भएको दक्षिण एसियाकै ठूलो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानालाई टाट पल्टाएर रामदेवको पतञ्जलीलाई बिना लगानी जग्गा दिन लाग्दा पनि नसुने झैँ गरी वडा र प्रदेशको चुनावमा मस्त छौँ हामी नेपाली।’

उनले एउटा लामो स्टाटसमा अगाडि लेखेका छन्– राज्य व्यवस्था र सरकारको तौर तरिका हेर्दा त यसो भन्न मन लाग्छ ‘सरकार म पनी बेचिन तयार छु , मलाई पनि बेचिदेऊ। किनकि आफ्नै बेचिने पालो नआइन्जेल सम्म हाम्रो पुस्ता टिकटिकमा नै मस्त रहन्छौँ। अब एक दिन हामी आफैँ र आफनै सन्ततिलाई पनि हाम्रै भोटले सत्तामा पुगेका नकावधारीहरुले खुल्ला बिक्री वितरण गर्नेछन्। तब मात्रै तपाईँ हाम्रो घैंटोमा घाम लाग्नेछ।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *