चिकित्सक संघको पहलमा पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, पोखरा धाउनुपर्ने बाध्यता अन्त्य

नेपाल चिकित्सक संघको पहल र सूची फाउण्डेसन ताइवानको सहयोगमा पर्वत जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्ट औपचारिक रुपमा संचालनमा आएको छ।
४० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ।

पर्वतबाट संघीय संसद प्रतिनिधि सभाका सदस्य पदम गिरी, चिकित्सक संघका अध्यक्ष डा. लोचक कार्की र महासचिव डा. बद्री रिजालले संयुक्त रुपमा उद्घाटन गरे।

अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रमका सबै वक्ताले यसले पर्वत जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीसँगै छिमेकी जिल्ला, म्याग्दीका अस्पताललाई समेत अक्सिजन भर्ने सुविधा दिन सकिने भन्दै उद्घाटनको दिन पर्वत जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक दिन भएको टिप्पणी गरे।

कार्यक्रममा बोल्दै सासंद पदम गिरीले कोरोना महामारीका समयमा अक्सिजनको भरथेग गर्न ठूलो सास्ती भोग्नु परेको स्मरण गदै आगामी दिनमा यस्तो कहाली लाग्दो परिस्थिति आइनपर्ने विश्वास लिए। ‘पर्वतको राजनीतिक नेतृत्व, सामाजिक संघ/संस्थालगायतका पहलमा पर्वत अस्पताल कायपलट भएको छ’ गिरीले भने।

उनले नेपाल चिकित्सक संघलगायतका सबै सहयोगी संस्था र व्यक्तिप्रति धन्यवाद दिए।

संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना महामारीका समयमा संघले सदस्य चिकित्सकको व्यवसायीक हितसँगै आम नागरिकको जीवन रक्षाका लागि महत्वपूर्ण काम गरेको बताए।

उनले यसबीचमा संघले सूची फाउन्डेसनको सहयोगमा पर्वतसहित मेची अस्पताल, कोसी अस्पताल र भोजपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गराएको जानकारी दिए।

डा. कार्कीले स्वास्थ्य पूर्वाधारले मात्रै स्वास्थ्य क्षेत्रमा कायपलट नहुने भन्दै चिकित्सक र स्वास्थ्यकर्मीको भौतिक, सामाजिक र व्यवसायीक सुरक्षाका लागि विशेष ध्यान दिन स्थानीय सरोकारवालासँग आग्रह गरे।

‘बिरामीको उपचार गर्दा स्रोतसाधनको सीमिततालगायतका कारणले सधै चाहेजस्तै नतिजा नआउँन सक्छ, त्यस्तो बेला डाक्टर र स्वास्थ्यकर्मीमाथि दोस थोपरेर उनीहरुको मनोवल नगिराइदिनुस्’ डा. कार्कीले भने, ‘सबै हिसाबले उपचारका लागि उपयुक्त वातावरण बनाइदिन प्रयास गर्नुस्’

महासचिव डा. रिजालले संघले महामारीको समयमा मात्रै ३० करोड हाराहारी मुल्य बराबरको स्वास्थ्य उपकरण, सुरक्षा सामग्री विभिन्न स्वास्थ्य संस्थामा पुर्याएको बताए। उनले अक्सिजन प्लान्ट स्थापना पर्वतको स्वास्थ्य सेवामा कोशेढुंगा बन्ने विश्वास लिए।

कार्यक्रममा संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, नेपाल चिकित्स संघ गण्डकी प्रदेश कमिटीका सचिव डा. कृष्ण रिजाल, डा. राजेश शर्मा पौडेल, लायन्स क्लव, नगरपालिका, स्थानीय प्रशासन तथा सुरक्षा प्रमुखको उपस्थिति थियो।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डी पौडेलले अक्सिजन प्लान्टसँगै लायन्सको सहयोगमा सिलिण्डर भर्ना प्रयोगहुने कम्प्रेसरसमेत जडान हुन लागेको भन्दै योसँगै अन्य अस्पताललाईसमेत सिलिण्डर भर्ने सुविधा दिनसक्ने बताए।

‘दैनिक उत्पादन सबै हामीलाई नचाहिने अवस्थामा वरपरका अन्य स्वास्थ्य संस्थालाई पनि अक्सिजन सिलिण्डर भर्ने सेवा दिन सकिन्छ, यसले पोखरा जानुपर्ने बाध्यता घटाउँने छ’ डा. पौडेलले भने।

अस्पताल संचालक समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अस्पतालमा तीन विशेषज्ञसहित दर्जनभन्दा बढी चिकित्सक कार्यरत रहेको, नयाँ भवनसमेत निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए।

उनले शल्यक्रिया र डायलाइसिस सेवाको निरन्तरताले पर्वतका बिरामीलाई ठूलो राहत पुगेको दावी गरे।

भोजपुरमा पनि संचालनमा, कोसी र मेचीमा बन्दै
सूची फाउन्डेसनको सहयोग र नेपाल चिकित्सक संघको पहलमा बनेको ४० सिलिण्डर प्रतिदिन क्षमताको अक्सिजन प्लान्ट भोजपुरमा समेत संचालनमा आएको छ। राज्यमन्त्री उमेश श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले केही दिनअघि सो प्लान्ट उद्घाटन गरेका थिए।
संघका कोषाध्यक्ष डा. बुढाथोकीका अनुसार कोसी र मेची अस्पतालमा स्थापित प्लान्ट स्थापनाको केही काम बाँकी रहेकोले बन्नासाथ हस्तान्तरणगरी संचालनमा ल्याइनेछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *