देशले गुमायो एकैदिन दुई युवा चिकित्सक

हेल्थपोस्ट नेपाल

सवारी दुर्घटनामा परी एकैदिन दुई युवा चिकित्सकले ज्यान गुमाएका छन्।

कपिलवस्तु र मोरङमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा डा. दीपक खरेल र निखिल पन्जियारको मृत्यु भएको हो। उनीहरू दुबै जना २७ वर्षका थिए।

डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए।

कपिलवस्तुको बुद्धभूमिमा मोटरसाइकल दुर्घटनामा परेका डा. खरेलको उपचारको क्रममा बिहीबार बिहान काठमाडौं ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।

त्यसैगरी, डा. पञ्जियार चढेको मोटरसाइकललाई बिहीबार राति मिनी ट्रकले ठक्कर दिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काअनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो।

उपचार क्रममा राति ११ः४५ बजे उनलाई अस्पतालले मृत घोषित गरेको थियो।

डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी छ।

जनकपुर–३ घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबिबिएस पास गरेका थिए। उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *