जाडोयाममा हुने संक्रमणबाट कसरी जोगिने ? यस्ता छन् विज्ञका सुझाव

हेल्थपोस्ट नेपाल

जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमकासंक्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएको देखिएको छ। तर, चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन्।

 

त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

जाडोमा देखिने अन्य सङ्क्रमण

चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड-१९ बाहेक अन्य सङ्क्रमण पनि हुन सक्छन्।

यस बेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन्।

चिकित्सकहरूका भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुन सक्छ।

कोभिडपछि जाडोमा हुन सक्ने अर्को घातक सङ्क्रमण इन्फ्लूएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि इन्फ्लूएन्जा भाइरसको सङ्क्रमण जाडोमा बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ।

मन्त्रालयले चार दिनअघि जारी गरेको एउटा सूचनामा भनिएको छ, ‘इन्फ्लूएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लूएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ।’

मन्त्रालयले इन्फ्लूएन्जाबाट बच्न अपनाउनुपर्ने सतर्कताबारे पनि सूचनामा उल्लेख गरेको छ।

इन्फ्लूएन्जाबाट बच्न पनि कोभिडबाट जोगिन अपनाएका जस्तै स्वास्थ्य सावधानीहरू भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख छोप्ने, बिरामी हुँदा घरैमा बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने, झोल कुरा खानेलगायतका कुरा गर्नुपर्ने मन्त्रालयको सुझाव छ।

इन्फ्लूएन्जा भएका व्यक्तिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी र हाछ्युँ आउने, नाक बन्द हुने, सिँगान बग्ने, थकान महसुस हुने, जीउ दुख्ने लगायतका लक्षणहरू देखिने मन्त्रालयले जनाएको छ।

इन्फ्लूएन्जाबाट बच्न त्यसविरुद्ध पनि खोप पाइने भएकाले जाडो लाग्नेबित्तिकै विशेषगरी दीर्घरोगी र पाको उमेरका व्यक्तिहरूले खोप लगाउनु उपयुक्त हुने डा सुवेदीको सुझाव छ।

सुत्केरी र नवजात शिशुको स्याहार

चिकित्सकहरूका अनुसार जाडो महिनामा जन्मिएका बच्चा र सुत्केरी आमाहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

नवजात शिशुहरूलाई पनि इन्फ्लूएन्जा हुन सक्ने बताउँछन् काठमाण्डूस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा‌. श्रीप्रसाद अधिकारी।

‘आमाको कोखमा ३७ डिग्री सेल्सीअसको तापक्रममा रहेको बच्चालाई जन्मिएपछि चिसोले सताउन सक्छ। बच्चालाई चिसोबाट बचाउन नसक्दा कतिपय अवस्थामा मृत्यु पनि हुन सक्छ। त्यसैले विशेष सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

‘जाडोका बेला विशेषगरी फ्लू लगाउने भाइरस सक्रिय हुने भएकाले आमा र बच्चालाई त्यसबाट बचाउनु आवश्यक हुन्छ।’

आँखामा संक्रमण

जाडो मौसममा आँखामा पनि विभिन्न खाले सङ्क्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी सहप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा। रञ्जु खरेल सिटौलाका अनुसार जाडोका बेलामा विशेषगरी आँखा सुक्खा हुने, आँखा पाक्ने र आँसु बगिरहने जस्ता समस्या देखा पर्न सक्छन्।

त्यस्तै चस्माको साटो लेन्स लगाउनेलाई जाडो मौसममा असहज हुन सक्छ।

जाडो र वायु प्रदूषण बढेका बेला प्रदूषणको असरका कारण आँखामा गम्भीरखाले असर पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

उनले भनिन्, ‘जाडोमा हामी जीउलाई तातो राख्नका लागि घरैभित्र बस्छौँ र झ्यालढोका लगाएर हीटर बालेर बस्छौँ त्यसले गर्दा घरभित्र सुक्खा अवस्था बन्छ। त्यस कारण हाम्रो आँखा सुक्खा बन्छ।’

‘घरबाहिर निस्कँदा पनि मानिसहरूले जाडो महिनामा सनग्लास लगाउने गर्दैनन् तर घाम बादलभित्र भए पनि त्यसको खराब विकिरण आइरहेको हुन्छ। त्यसैले सनग्लास लगाउनु उपयुक्त हुन्छ।’

वातावरण तथा मौसमविद्हरूका अनुसार अहिले नेपालका विभिन्न भेगमा भारततर्फबाट आएको प्रदूषण भित्रिएको अवस्था छ।

यस्तो बेलामा आँखा पाक्ने लगायतका सङ्क्रमण पनि हुन सक्ने उनी बताउँछिन्।

सहप्राध्यापक सिटौलाका अनुसार जाडोमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने एडिनोभाइरस निकै सक्रिय हुने गर्छ।

उक्त भाइरसले श्वासप्रश्वासमा मात्र होइन आँखा र नाकमा पनि सङ्क्रमण गराउन सक्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *