चिकित्सा ऐन विपरित विद्यार्थी भर्ना गर्ने केयूका पदाधिकारीलाई कारबाही गर्न डा. केसीको माग

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नामा कानुन विपरित गरेको भन्दै पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गदैं डा. केसीले स्नातक तहको साझा प्रवेश परीक्षा विद्यार्थी भर्ना सम्बन्धमा काठमाडौं विश्वविद्यालयले सिर्जना गरेको विवादप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विश्वविद्यालयले कानुन अनुसार आयोगले तोकेका विद्यार्थी भर्ना गर्न छाडेर विश्वविद्यालयका मेडिसिन संकायका डिनका छोरा लगायतलाई केयू स्कुल अफ मेडिकल साइन्सेजमा भर्ना गर्ने प्रयास गरेको छ,’ डा. केसीले भनेका छन्, ‘मेडिकल शिक्षा क्षेत्रलाई चिकित्सा शिक्षा आयोगले नियमन गर्न खोज्दा त्यसलाई अवरुद्ध गर्न ऐनको प्रतिकूल हुने गरी आदेशहरू जारी हुनु विडम्बनापूर्ण कुरा हो।’

अदालतका आडमा हुने मेडिकल शिक्षा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने चेतावनी उनले दिएका छन्।

केयूका पदाधिकारीहरूलाई कारबाही गर्न उनले माग समेत गरेका छन् ।

केयूले मेरिटको आधारमा नाम निकालेका ९ जना विद्यार्थीलाई भर्ना नलिएको आरोप लागेपछि डा. केसीले ध्यानकर्षण गराएका हुन्।

‘अदालत पुगेर चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकूलको अन्तरिम आदेश समेत पाएको भन्ने समाचारहरू आएका छन। स्मरण रहोस् अदालतका आडमा हुने मेडिकल शिक्षा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध हामीले यसअगाडि समेत लामो संघर्ष गरेका थियौं । लथालिंग भइसकेको मेडिकल शिक्षा क्षेत्रलाई चिकित्सा शिक्षा आयोगले नियमन गर्न खोज्दा त्यसलाई अवरुद्ध गर्न ऐनको प्रतिकूल हुने गरी आदेशहरू जारी हुनु विडम्बनापूर्ण कुरा हो । त्यस्तो आदेशको अदालतको न्यायिक प्रक्रियाबाटै सुधार हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *