नेपालमा आयुर्वेदिक औषधालय स्थापना गर्न सरकारले सक्दाे सहयाेग गर्छ : प्रधानमन्त्री

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताएका छन्।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उनले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरे।

प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गरेका अनुसन्धान, प्रचार र योगदानको सराहना गरे।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उनीहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उनीहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उनीहरु ठूलो क्रान्तिकारी भएको बताए।

प्रचण्डले नेपाल जडीबुटीको भण्डार भएको र उनीहरुले नेपालमा त्यसको प्रशोधन र उत्पादनका लागि उद्योग खोल्ने योजना महत्वपूर्ण भएको बताउँदै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गर्नुभएको योगदानका लागि धन्यवाद दिए।

विद्यार्थीको पठनपाठन लागि स्थापना गरिएको रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटनले नेपाली समाजमा नयाँ प्रेरणा प्रदान गर्ने र यस कार्यले सबैमा नयाँ ऊर्जा प्राप्त भएको उनकाे भनाइ थियो।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए।

उनले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताए।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले कोभिड–१९ बाट विश्व नै आक्रान्त भएका बेला पतञ्जलीजस्ता संस्थाले योगविज्ञान र आयुर्वेदका माध्यमबाट समाजमा गरेको सहयोग र मानिसमा सकारात्मक भावना उत्पन्न गर्नेलगायत काम गरेको भन्दै प्रशंसा गरे। उनले बाबा रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीमा अनुसन्धान, प्रशोसन, उत्पादन, औषधि निर्माण गरी मानव जीवनमा राहतको महत्वपूर्ण काम गरेको बताए।

नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो रहेको बताउँदै उनले दुई देशबीचको संस्कृति इतिहास र विरासत नै शक्ति भएको र यसलाई बढाउन दुवै देशबाट विभिन्न प्रयास हुँदै आएको उल्लेख गरे।

सो अवसरमा उनले अयोध्या–जनकपुर जोड्ने ४३६ किमी रामजानकी सडक र बुद्ध सर्किटमा पर्ने विभिन्न सडकको निर्माण भारत सरकारले तीव्र गतिमा गरिरहेको अवगत गराउँदै यसले दुई देशका संस्कृति सम्बन्ध निर्माण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा व्यक्त गरे।

रामदेवले योग, आरोग्य, प्रणायाम र आयुर्वेद औषधिका लागि नेपाल राजधानीका रुपमा दुनियाँको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे। साथै उनले सबै मानिस एक ईश्वरका सन्तान भएको उल्लेख गर्दै सबै प्रकारका भेदभाव हटाएर सबै समान भन्ने भावनाका साथ अघि बढ्न आग्रहसमेत गरे। आचार्य बालकृष्णले पतञ्जलिका माध्यमबाट नेपालमा गर्न लागेको योजनाबारेमा जानकारी गराएका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *