केही स्थानमा हल्का वर्षा र हिमपात, कुन–कुन ठाउँमा पर्छ?

हेल्थपोस्ट नेपाल

आज देशका अधिकांश स्थानको मौसम बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र शनिबार केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

देशका कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भू-भागहरूमा आज सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान पनि रहेको महाशाखाले जनाएको छ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भू-भागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ। सो प्रणालीको प्रभावले अधिकांश भू-भागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामासमेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमासमेत आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौंको आजको न्यूनतम तापक्रम ११.१ डिग्री सेल्सियस छ। मौसम बदली भएकाले न्युनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना रहेको छ। आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद बासीले बताइन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *