हरेक सासमा विषालु हावा निलिरहेछौं हामी

दिनभरि पनि तिखारिन नसकेको मंगलबारको घाम पाँच बज्दा नबज्दै झन् मलिन बनेर पश्चिमी क्षितिजमा लुक्न हतारिइसकेको थियो।बिहानैदेखि काठमाडौंलाई ‘जाडो’ले थुरथुराइरहेको थियो।

र, दिउँसोपख मौसम पूर्वानुमान महाशाखाले भनिदियो- काठमाडौंमा आज वर्षकै चिसो दिन भयो।

यो मौसमै त्यस्तै हो।

जुम्लामा मंगलबार नै तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरिसकेको छ। ८ डिग्री सेल्लियसमा चिसिइरहेको काठमाडौंमा त घामका किरण कसरी पो तंग्रिन्थे र!

यसअघि नै मौसमविदहरूले अनुमान सुनाइसकेका छन्– यो वर्ष काठमाडौंको तापक्रम माइनस सम्मै पुग्नसक्छ। घामका किरणहरू पारिला हुनेछैनन्। तर यो काठमाडौंको पहिलो ‘चिसो इतिहास’ भने हुने छैन। आजभन्दा ३५ वर्षअघि अर्थात् २०४३ पुस २७ गते काठमाडौं माइनस ३.५ डिग्रीसम्मै चिसिएको थियो।

शरद याम सकिएर अब हिँउद सुरू भइसकेको छ। मंसिर १ त्यसैको सुरूवाती दिन हो। मनसुन छिचोलेर यो वर्ष अलि ढिलैसम्म वर्षा भयो। त्यसैले शरद याम पनि हुनुपर्नेजति पारिलो हुन सकेन।

एकातिर चिसोको यो भयानक सुरूवात अनि छिमेकी देश चीन र भारतका आकाश छोप्दै गरेको दूषित हावा।

नेपालमा के होला?

झनझन् चिसिँदै गएको मौसम। जाडो याममा वर्षा विरलै हुन्छ। उसै पनि आकाश धुम्मिइरहन्छ। त्यसैपनि रूखका पातहरूमा धुलोको पत्र बाक्लिएकै हुन्छन्। सडकहरू धुलाम्मे हुने बेलै यही हो। अर्थात् सुख्खा याम।

हाम्रा आकाशगंगामा पनि त्यस्तो फोहोरको एउटा पत्र टाँसिइरहेको हुन्छ। मनुसुनको निरन्तर झरीले त्यसलाई पखाली दिन्छ। त्यसैले त्यो बेला चल्ने हावामा फोहोरका कणहरू सँगसँगै उड्दैनन्। अर्थात् फोहोर निकै कम हुन्छ। यो बेला पानी पर्दैन र यो बेला हावा त्यसै पनि फोहोरका कणहरूमा अल्झिएर बाक्लिइरहेको हुन्छ।

त्यसैमाथि छिमेकी देशका आकाशमा नाचिरहेको त्यो दुषित हावा नेपालका लागि एउटा खतरनाक संकेत हो। फोहोरका अनगिन्ति मसिना कणहरूमा लपेटिएको त्यो हावा नेपाल आउन कति नै बेर लाग्छ र! नेपाल त्यत्तिधेरै टाढा पनि छैन। र, पश्चिमी वायुको स्रोत पनि बंगाल नै हो। त्यो हावा हुत्तिएर आउने हिमालकै काखतिर हो।

हिमालपारिको छिमेकी देश पनि तिहारदेखि नै दूषित हावाले ढाकिन थालेको छ। दुई साताअघि चीनका कैयौं सहरहरूमा फोहोरले बाक्लिएको हावा यसरी फैलियो कि २०० मिटरसम्म पनि आँखाले नदेखिने भयो। सवारी साधनहरू दिउँसै बत्ती बालेर सुस्तसुस्त चल्न थाले। केही दिनसम्म स्कुल र खेल मैदानहरूसमेत बन्द गरियो।

तिहारकै बेला भारतको राजधानी दिल्ली सहर एकाएक तुवाँलोले छोपियो। दुई दिनसम्म विद्यालयहरूसमेत बन्द भए। त्यसको दुई सातापछि पनि दिल्लीको हावा दूषित नै छ।

त्यहाँकाे सर्वोच्च अदालतले फोहोरका विषालु कणहरू मिसिएको त्यो हावाबाट मानिसलाई बचाउनका लागि ‘हदैसम्म’को प्रयास गर्न सरकारलाई आदेश नै दियो।

दिल्ली सरकार सातामा केही दिन ‘लकडाउन’ नै गर्ने तयारीमा जुटेको छ। आजैदेखि दिल्ली र वरिपरिका सहरका विद्यालयहरू बन्द गरिएका छन्। सवारी साधनमा कडाइ गरिएको छ। अत्यावश्यकबाहेक ठूला र मालबाहक सवारीहरूलाई नचलाउन भनिएको छ।

सबै निजी संघसंस्थामा काम गर्ने कर्मचारीहरूलाई कार्यालय नआउन र घरबाटै काम गर्न भनिएको छ। दिल्लीको आकाशमा यो दूषित हावा कतिसम्म रहन्छ त्यसको कुनै अनुमान छैन। त्यसैले सरकारले ‘अर्को आदेश नभएसम्म’ भनेको छ।

किन यस्तो भयो?

भारतमा हावाको यो दुषित कहानी उही पुरानो कथासँग जोडिएको छ। ‘धानबालीका ठूटा जलाउँदा निस्केको धुँवा’ यो निकै पुरानो कथा हो, दिल्लीको हावामा मिसिएर बदनाम भइसकेको धुँवाको कथा। किसानहरूले धानबाली स्याहारीसकेको समय हो यो। धानका बाला काटेर खेतमा बचेका ठुटाहरूमा किसानहरूले आगो लगाइदिन्छन्। विशाल जमिनमा फैलिएको त्यो ‘ठूटे’ आगोको धुँवा अन्तत: बाक्लिने त वायुमण्डलमै हो। त्यही धुँवामा हुन्छन्, ज्यानमारा रसायसनका ससाना टुक्राहरू।

विषाक्त यी टुक्राहरूलाई पिएम २.१० र पिएम २.५ भनिन्छ। यसको मात्रा जति बढ्यो हावा उति नै दूषित हुन्छ। वायुको गुणवेत्ता संकेत (एयर क्वालिटी इन्डेक्सअर्थात्, एक्यूआई)लेपार्टीक्युलेट म्याटर अर्थान् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायका कणहरूको मात्राका आधारमा वायुको प्रदुषण मापन देखाउँछ। नेपाल सरकारले पनि पिएम २.५ लाई आधारभूत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा व्याप्त हुन्छ।

र, यसपालि पनि भारतमा दीपावलीमा पड्काइएका पटाकाको धुँवालाई वायु प्रदुषणका लागि दोषी करार गरियो। हरेक वर्ष दीपावली र खेतका परालमा बालिएका आगो नै दोषी भए। तर, भारत आफै एउटा देश हो जहाँ उद्योगमा व्यापक कोइला प्रयोग हुन्छ। विश्वमा कोइला प्रयोग गर्ने प्रमुख देशमध्य भारत पनि एक हो।

अहिले पनि भारतको राजधानी नयाँ दिल्ली विश्वकै पहिलो वायु प्रदुषण भएको सहरको सूचीमा छ। दश प्रमुख वायु प्रदुषित हुने विश्वका सहरहरूमध्य भारतका दिल्ली, कोलकाता र मुम्बइ सहर प्रमुख छन्। नेपालको काठमाडौं ११औं स्थानमा छ।

चीनको कथा पनि त्यही हो। कार्बन उत्सर्जनका लागि विश्वमै प्रमुख भूमिक चीनकै छ। र अहिले कोइला नै प्रयोग गरेर चीनले सबैभन्दा धेरै बिजुली उत्पादन गर्छ। कोइलाको धुँवा हावाका लागि एउटा भयंकर विष नै हो।

नेपालले के गर्नसक्छ?

‘नेपालले गर्नसक्ने भनेको आफ्ना कारणहरूलाई नियन्त्रण मात्रै हो’ दशकदेखि वायुको गुणस्तर अध्ययन गर्दै आएका भुपेन्द्र दास भन्छन् ‘हावालाई विषालु गराउने कामहरूमा हामीले जति नियन्त्रण गर्छौं त्यति नै हामीले अरू ठूला देशहरूलाई भन्नसक्छौं।’

आफैमा ‘ठूलो’ बन्ने प्रतिष्पर्धा गरिरहेका विश्वका दुई ठूला देशबीचको एउटा देश हो नेपाल।

‘र, वायु प्रदुषणको कुनै सिमाना हुँदैन। यसलाई रोक्न पनि सकिन्न’ दास भन्छन् ‘हामी हाम्रा आन्तरिक क्रियाकलापहरूलाई त केही नियन्त्रण गर्न सकौंला तर अहिले जसरी ‘ओपन वर्निङ’ भइरहेको छ त्यसलाई त कसरी रोक्न सकिन्छ र?’

जस्तो कि केही वर्षअघि अष्ट्रेलियाको विशाल जंगलमा महिनौं भएको आगलागीको असर हिमालमा हिँउ पग्लियो। यो वायु प्रदुषण पनि त्यस्तै हो। चीनको आकाश होस् या भारत। अन्तत: विषालु त्यो हावाको कुनै कुनै झोंक्का नेपाली आकाशमा आइपुगिहाल्छ। त्यसैमाथि नेपालको भूगोल पनि त्यस्तै छ।

त्यसमा पनि अझ काठमाडौं सहर झन् धेरै जोखिममा छ। यो ‘कचौरा’ आकारको काठमाडौं खाल्डोमा बहने हावा हाम्रो कल्पनाभन्दा धेरै दूषित भइसकेको छ। किनकि कचौरा जस्तो यो काठमाडौंको हावा सित्तिमित्ति बाहिरिँदैन। यो निकै लामो समयसम्म यहीँ नाचिरहन्छ।

‘त्यसैले हामी पनि केही कुराहरू कम गरौं, जसले हाम्रो हावालाई थप दुषित बनाइरहेको छ’ दासले दशक अघिदेखि नै सचेत गराउँदै आएका हुन् ‘कि हाम्रो हावा दुषित हुँदैछ। हामीले फेर्ने हरेक सासमा विषालु हावा निलिरहेका छौं।’

‘पाँच वर्षकै अन्तरालमा हाम्रो हावा धेरै फोहोर भइसकेको छ’ उनको अध्ययनले भन्छ ‘पाँच वर्षअघि हाम्रा इन्डेक्सहरूमा हावाको गुणवेत्ता ४९ प्रतिशतभन्दा बढी हुँदैनथ्यो। अहिले हेर्नुस् कुनै पनि समयमा ती मिटरहरू माथिमाथि चढिरहेका हुन्छन्। कुनै न कुनै ठाउँमा हावामा प्रदुषणका कणहरू थुप्रिइरहेका हुन्छन्।’

विश्व स्वास्थ्य संगठनले भनै भनेको छ- ‘विश्वका हरेक दश जना मानिसमध्ये नौ जनाले हरेक सासमा दुषित हावा लिइरहेका हुन्छन्। जो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा निकै विषाक्त छ।’ यसको अर्थ विश्वको जुनसुकै कुनामा हावा विषालु बनोस्, त्यसका छिटाहरू चारैतिर पुगिसकेका हुन्छन्।

संगठनका अनुसार हरेक वर्ष हुने ४२ लाख मानिसको मृत्युमा घरबाहिर नाचिरहेको त्यही प्रदुषित हावा मिसिएको हुन्छ। अनि खाना पकाउँदा प्रयोग हुने इन्धनका कारण निस्किने धुँवा हरेक वर्ष ३८ लाख मानिसको अकाल मृत्युको कारण बनिरहेको छ।

एउटा अध्ययनका अनुसार नेपालमै पनि हरेक वर्ष हुने ४२ हजार १०० मानिसको मृत्युसँग त्यो प्रदुषित हावा कतै त कतै जोडिएको छ। र ती अध्ययनहरूले २२ हजार मानिसको मृत्युलाई त प्रदुषित हावालाई मात्रै किटान गरेका छन्।

फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनले भनेको छ– वायु प्रदुषणकै कारण हाम्रो जीवनको आयु झन्डै ३ वर्षले घटिरहेको छ।

तर हाम्रो सरकार सुन्दैन। हाम्रा नीति-निर्माताले यसलाई एउटा ‘आरामदायी बहस’का रूप लिन्छन्। योजनाहरू बनाउँछन्, वास्तविकता बुझ्दैनन्।

‘तथ्य त यही हो। हरेक मृत्यु दुषित हावाको प्रमाण बनिरहेका छन्’ दास भन्छन् ‘हाम्रा नीति निर्माताहरू त्यसलाई मान्दैनन्। जोसँग ज्ञान छ उसलाई टेर्दैनन् र आफूखुसी योजना बनाउँछन्। समस्या एकातिर हुन्छ कार्ययोजना अर्कोतिर बन्छ।’

केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनले विश्वभर नै ‘वायु’को अवस्था हरेक दिन ‘खराब’ हुँदै गइरहेको भन्दै सचेत गराएको छ। वायु प्रद्षणको असर र त्यसको अवस्था अहिले मानिसले सोचिरहेको भन्दा निकै खतरानाक रहेको पनि उसले चेतावनी दिएको थियो।

‘तर पनि हामीले यसलाई एकदमै साधारण तरिकाले लिइरहेका छौं। हरेक वर्ष होइन, अब हामी हरेक सासमा दूषित हावा निलिरहेका हुन्छौं तर यो कुरालाई हामीले त्यही सास फेरेजस्तै सामान्य तरिकाले लिन्छौं’ दासले यो दूषित हावाको भयानक दृश्य दश वर्षअघि नै देखिसकेका थिए ‘कि अब हामीले फेर्ने सास दशकौंअघिको जस्तै कञ्चन छैन। त्यसमा डरलाग्दा विषालु कणहरू हरेक दिन बाक्लिइरहेका छन्।’

हो हामी हाम्रो ‘प्राण’ त्यही ‘सास’मा विनिमय गरिरहेका छौं, जहाँ विषालु हावा छिरिरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *