सिओपिडी :  स्वाँ–स्वाँदेखि छातीमा ठूलो संक्रमणसम्म

हेल्थपोस्ट नेपाल

क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी ) एक प्रकारको फोक्सो सम्बन्धी दीर्घकालीन रोग हो । यो रोगले सास अवरुद्ध गर्छ  जसले गर्दा सास फेर्नमा कठिनाई हुने गर्छ । यो रोग समयक्रम सँगै क्रोनिक हुने गर्छ ।

जाडो बढेको छ। यो मौसममा विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीका समस्या धेरै हुने गर्दछ। जसका कारणले सिओपिडी बिरामी अस्पताल भर्ना हुने क्रम बढेको छ।

सिओपिडी भएमा क्रोनिक ब्रोनकाइटिस तथा इम्फजिमा दुवैको समस्या हुन सक्दछ । क्रोनिक ब्रोनकाइटिस भएमा ब्रोन्कियल ट्युब सुन्निने गर्छ । ब्रोन्कियल ट्युबले फोक्सोमा हावा पुर्‍याउने काम गर्छ । त्यस्तै, इम्फजिमा भएमा फोक्सोको ससाना हावाको थैली क्षतिग्रस्त हुन्छ ।

प्रमुख कारण धूमपान

सिओपिडी दमको प्रमुख कारण धूमपान हो । धूमपान सिओपिडीको मुख्य कारण भए पनि यसका अन्य कारण पनि छन् । बढ्दो सहरीकरण, वायु प्रदूषण पनि सिओपिडीका कारण हुन् । ग्रामीण भेगमा मुख्य रूपमा चुलोमा प्रयोग गरिने दाउरा, गुइँठा, पराललगायतबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलामा सिओपीडी दमको समस्या बढ्दै गएको छ ।

यसका साथै बढ्दो विकास निर्माणका कार्य, विभिन्न उद्योगबाट निस्कने धुवाँ, धुलोले वायुलाई प्रदूषित बनाइरहेका छन्, जसका कारण विशेषगरी त्यहाँ काम गर्ने मजदुर सबैभन्दा प्रभावित भइरहेका छन् । यद्यपि, यसको असर कामदारमा मात्र सीमित नभई सर्वसाधारणमा पनि काफी मात्रामा परेको छ ।

सिओपिडीका लक्षण :  स्वाँ–स्वाँदेखि छातीमा ठूलो संक्रमणसम्म
सिओपिडी दममा मुख्यतया दुईवटा समस्या देखिन्छन्– श्वासप्रश्वासमा समस्या हुने, स्वाँ–स्वाँ हुने । सुरुवातको चरणमा गाह्रो काम गर्दा वा भारी बोक्दा, उकालो चढ्दा स्वाँ–स्वाँ हुने हुन्छ भने बिस्तारै रोग गएपछि सामान्य कार्य गर्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ । यसका अलावा खोकी लाग्नु पनि यसको प्रमुख लक्षण हो । खोकी लाग्दा सेतो वा पहेँलो खकार आउने हुन्छ । त्यसैगरी अन्य लक्षणमा छाती ध्वार–ध्वार गराउने, औँला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटक–पटक छातीको संक्रमण भएर निरन्तर स्वास्थ्यसंस्थामा गइराख्नुपर्ने हुन्छ ।

उपचार
इन्हेलर सिओपिडी रोगको मुख्य र सबैभन्दा प्रभावकारी उपचारपद्धति हो । यो उपचारपद्धतिमा श्वासप्रश्वासको माध्यमबाट सीधै फोक्सोमा औषधि पुर्याइन्छ । कुल बिरामीको ३ प्रतिशत मात्रै इन्हेलर उपचारपद्धतिमा आबद्ध भएको पाइएको छ । यो उपचारपद्धतिबारे हाम्रो समाजमा निकै नकारात्मक सोच रहेको छ । यो अन्तिम अवस्थामा प्रयोग गर्ने औषधि हो, सकेसम्म लिन हुन्न, बानी पार्न हुँदैन भन्ने सोच व्याप्त छ । सिओपिडीका ३४ लाख बिरामीमध्ये ५० हजारले मात्र सही उपचार पाएका छन् ।

सिओपिडीको मुख्य उपचारपद्धति नै इन्हेलरको प्रयोग गर्नु हो । नियमित रूपमा चिकित्सकसँग जाँच गराएर यो रोगको प्रकोपबाट बच्च सकिन्छ । दोस्रो उपाय भनेको जोखिम कम गर्नु हो । यसका लागि धूमपान, वायु प्रदूषण आदि कम गर्नुपर्ने हुन्छ । सिओपिडी भएका मानिसलाई उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक तनावको जोखिम बढी हुन्छ ।

सिओपिडीका बिरामीले नियमित व्यायम गर्नुपर्ने हुन्छ । दम भएका मानिसले व्यायम गर्नुहुँदैन भन्ने छाप परेको छ, जुन गलत हो । सामान्य मानिसका लागि जति व्यायमको आवश्यकता छ, त्यति नै सिओपिडीका बिरामीका लागि पनि व्यायम जरुरी छ । स्वस्थ्यकर आहारले पनि सिओपिडीको उपचारमा मद्दत पुर्याउँछ ।

 सिओपिडीका भ्रम र यथार्थ
सिओपिडीबारे केही भ्रम रहेका छन्, जसलाई चिर्नु आवश्यक छ ।
भ्रम १ :  सिओपिडी रोग धेरै मानिसलाई हुँदैन ।
धूमपान र प्रदूषणको चपेटामा आउने तथा वंशानुगत जोखिम भएका जोकोहीलाई सिओपिडी रोग हुन सक्छ । नेपालमा प्रत्येक १० जनामध्ये १ मा सिओपिडी छ र यो संख्या केही वर्षमा उल्लेख्य मात्रामा बढ्ने अनुमान छ ।
भ्रम २ :  सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ ।
सिओपिडी धूमपान गर्ने मानिसलाई धेरै हुने भए पनि वायु प्रदूषण तथा वशांनुगत जोखिम भएका मानिसमा पनि हुने गर्छ ।
भ्रम ३ : सिओपिडीका बिरामीले व्यायाम गर्नुहुँदैन ।
सिओपिडी दमका बिरामीले नियमित व्यायाम गर्नुपर्ने हुन्छ । एक स्वस्थ र सामान्य मानिससहर दमका बिरामीलाई पनि व्यायाम आवश्यक हुन्छ ।
भ्रम ४ : अन्तिम अवस्था नआएसम्म दमको तान्ने औषधि इन्हेलरको प्रयोग गर्नुहुँदैन ।
यो गलत हो । सिओपिडी दमको सबैभन्दा प्रभावकारी उपचारपद्धति नै इन्हेलर हो । त्यसैले दमका रोगीले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा इन्हेलरको प्रयोग गर्नुपर्छ ।
भ्रम ५ : उमेर बढ्दै गएपछि स्वाँ–स्वाँ हुनु सामान्य हो ।
स्वाँ–स्वाँ हुनु स्वाभाविक प्रक्रिया नभएर सिओपिडीको पहिलो लक्षण हो । सुरुवाती चरणमा उपचार गरेको खण्डमा यो रोग पूर्ण रूपमा निको हुन्छ । सिओपिडी रोगको पूर्ण उपचार सम्भव छैन, सही उपचारपद्धति अपनाएको खण्डमा आममानिसको जस्तै समान्य जीवन जिउन सकिन्छ ।  सिओपिडीको उपचार धेरै मानिसलाई जीवनभर गर्नुपर्ने हुन सक्छ, तर नियमित उपचार गरिएको खण्डमा यी बिरामीले सामान्य जीवनयापन गर्न सक्छन् ।

चुनौती
सिओपिडी दमसम्बन्धी जनचेतना कम रहेको छ । धूमपानविरुद्धको जनचेतना पर्याप्न बन्न सकेको छैन । धूमपान सिओपिडीको मात्र होइन, क्यान्सर, मुटुसम्बन्धी रोग, छाला तथा आँखासम्बन्धी अनगिन्ती रोगको कारक हो ।  ग्रामीण भेगमा अहिले पनि आगो फुक्न गुइँठा, पराल, दाउरा आदिको प्रयोग भइरहेको छ ।

बढ्दो सहरीकरणले वायु प्रदूषण र पेसागत जोखिम बढाइरहेको छ । भौगोलिक विकटता र गरिबी भएका स्थानमा सिओपिडी रोगको प्रभाव बढी देखिएको छ । त्यसैगरी, इन्हेलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा जनमासमा व्याप्त छ । सिओपिडीको निदान र उपचार सुविधा प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु, स्पाइरोमेट्री तथा सोसम्बन्धी तालिम भएका जनशक्तिको कमी हुनु, आसपासमा चेस्ट हस्पिटलको अभाव हुनु, रेफरल सिस्टमको विकास हुन नसक्नु, उपचार महँगो हुनु, अधिकांश रोगी स्वास्थ्यबिमाको पहुँचमा नहुनु यस रोगको नियन्त्रण तथा उपचारका प्रमुख चुनौती हुन् ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *