अघिल्लो सरकारले हचुवामा अस्पताल शिलान्यास गर्‍यो , तर त्यसलाई पार लगाउँछु : मन्त्री खतिवडा

हेल्थपोस्ट नेपाल

नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुनर्गठन गरेको दाबी गरेका छन्।

मकवानपुरको फाखेल गाउँपालिकामा पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरू टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त गराउन युगको मागअनुसार पुनर्गठन गरिएको स्पष्ट पारे।

मन्त्री खतिवडाले आफूहरू गफ गर्न नभई काम गर्न सरकारमा गएको बताउँदै भने, ‘हामी गफका लागि सरकारमा गएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरुसमेत भइसकेको छ।’ उनले प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकी, हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहजरूपमा पहुँच दिनेगरी सरकारले योजना बनाइरहेको जानकारी दिए।

अघिल्लो सरकारले बजेट र जग्गाको सुनिश्चित नगरी हचुवाका आधारमा एकैदिन सबै पालिकामा अस्पताल शिलान्यास गरेर प्रचार मात्र गरेको बताउँदै वर्तमान सरकार व्यवस्थितरूपमा ती अधुरा कार्यलाई पूरा गराउन क्रियाशील रहेको मन्त्री खतिवडाले उल्लेख गरे। भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) को गाउँपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा संघको पालिकास्तरीय कमिटी गठन गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *