फाइजर खोप अन्यभन्दा किन फरक, कति प्रभावकारिता ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे।

 

फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ। खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए।

उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ । उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए।   फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उनले १३२ देशले कोरोना विरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए।

उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ। खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ।

फाइजर–बायोएनटेक खोप अन्यभन्दा किन फरक? 

फाइजर–बायोएनटेक खोप नेपालमा लगाइएका अन्य चार खोप जस्तै दुई मात्रा लगाइन्छ । यो खोप भायलमा उपलब्ध हुन्छ । फाइजर–बायोएनटेक अन्यभन्दा फरक अवस्थामा पाइन्छ ।

यो खोप जमेको अवस्थामा बाक्लो झोलको रूपमा हुन्छ । यो सामान्य अवस्थामा सेतो र हल्का धमिलो रङको हुन्छ । यो खोपको भायलमा ६ मात्रा हुन्छ ।

फाइजर–बायोएनटेकलाई लगाउनुअघि घोलकलाई मिलाएर लगाउनुपर्छ । एउटा भायल घोल्नको लागि १.८ मिलिमिटर घोलकको आवश्यकता पर्छ । अन्य कोरोनाको खोप एक डोजमा ०.५ मिलिमिटर दिइन्थ्यो भने यो खोप भने ०.३ मिलिलिटर मात्र दिइन्छ ।

घोलनलाई घोल्नुअघि माइनस २  डिग्रीदेखि माइनस ८ डिग्री सेल्सियसको तापक्रममा कम्तिमा पनि १२ घण्टा स्टोर गर्नुपर्छ । तब मात्र घोलक भायलमा मिसाएर सुईको माध्यमद्वारा व्यक्तिलाई खोप दिइन्छ ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *