आयुर्वेद तथा योग शिक्षा विना स्वस्थ रहन सकिँदैन : महानिर्देशक उपाध्याय

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले आयुर्वेद तथा योग प्रणाली नअपनाउँदासम्म रोगबाट मुक्त हुन नसकिने बताएका छन्। उनले मानिस स्वस्थ हुन योग गर्नु अपरिहार्य रहेकाे बताउँदै सबैलाई योग गर्न आग्रह समेत गरेका छन्।

‘अस्पताल खोलेर रोग निर्मुल हुँदैन,’ महानिर्देशक उपाध्यायले भने,‘मानिस स्वस्थ हुन योग गर्नु अपरिहार्य छ, योग संगै आयुवेर्दिक औषधी पद्धति अपनाउनु त्यतिकै आवश्यक देखिन्छ।’

पछिल्लो पिँढीका बालबालिका घरबाहिर ननिस्कने र मोबाइलमा बढी ध्यान दिने गरेको भन्दै उनले ती बालबालिकाको स्वास्थ्य झनै रोगी हुने ठाेकुवा गरे। ‘व्यायमको कमीसँगै अल्छिपना बढ्दै जाँदा नेपालमा दिर्घ रोगीको संख्या बढिरहेको छ,’ उनले भने,‘अहिलेका बालबालिका झनै अल्छी भएका छन्, उनीहरुलाई समयमै सुधार्न नसके भविष्यमा नेपालका सबै नागरिक दिर्घरोगी बन्ने खतरा बढेको छ।’

उनले बालबालिकालाई ‘डिप्रेसन’ बाट मुक्त गराउनु पर्ने बताए। शारीरिक आलस्यता बढ्दा अहिले धेरै मानिस डिप्रेसनको शिकार भइरहेका छन्,’ उनले भने,‘डिप्रेसनका कारण आत्महत्याको दर बढिरहेको छ, त्यो सबै योगको कमीले हो।’

महानिर्देशक उपाध्यायले बालबालिकालाई अल्छिपनाबाट बाहिर ल्याउँदै फुर्तिलो बनाउन विद्यालयस्तरमै योग शिक्षा सञ्चालन गरिनु पर्नेमा जोड दिए।

शुक्रबार धनगढीमा आयोजित विद्यालय आयुर्वेद तथा योग शिक्षासम्बन्धी तीन दिने कार्यक्रमकाे उद्घाटन गर्दै उनले तल्लो कक्षादेखिनै विद्यार्थीलाई योग शिक्षा सिकाउनु अहिलेको आवश्यकता भएको बताए। विद्यार्थीलाई योग शिक्षा सिकाउन सके परिवार र समुदायमा पनि याेगकाे ज्ञान बाड्न सकिने उनको भनाइ छ।

योगसँगै आयुर्वेद शिक्षाबारे पनि तल्लो कक्षा देखिनै विद्यार्थीलाई ज्ञान दिनुपर्नेमा उनले जोड दिए। परम्परागत आयुवेर्दिक औषधि प्रणाली अहिलेको वैज्ञानिक औषधि प्रणाली भन्दा धेरै प्रभावकारी रहेको दाबी गर्दै उपाध्यायले अब आयुवेर्दिक औषधि प्रणालीको संरक्षण गरेर औषधिमा गरिने खर्च घटाउनु पर्नेमा जाेड दिए।

सुदूरपश्चिम स्वास्थ्य तालिम केन्द्रका प्रमुख तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले योग शिक्षा र आयुवेर्दिक चिकित्सा प्रणालीलाई सबै तहका सरकारले संरक्षण गर्नु पर्ने बताए। ‘हाम्रै घर वरिपरि धेरै औषधियुक्त गुण भएका जडिबुडी हुन्छन्,’ उनले भने,‘तर तिनको प्रयोग हुन सकेको छैन, सबै तहका सरकारले ती जडिबुटीको संरक्षण र प्रयोग गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ।’

प्रदेश आयुर्वेद स्वास्थ्य निर्देक डाक्टर खगेन्द्र बमका अनुसार विद्यालय स्तरबाटनै योग शिक्षा र आयुवेर्दिक औषधि पद्धतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका चार जिल्लाबाट १० विद्यालयका शिक्षकलाई पहिलो चरणमा तालिम प्रदान गर्न थालिएको छ। तालिमपछि १९ वटा विषयसूची भएको पाठ्यपुस्तक ती विद्यालयलाई उपलब्ध गराइने बमले जानकारी दिए। तालिम प्राप्त विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापनका अधारमा विद्यार्थीलाई आयुर्वेदिक तथा योग शिक्षासम्बन्धी ज्ञान दिनु पर्ने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *