काठमाडौंमा डेंगु फैलाउँदै ‘एसियन टाईगर’ लामखुट्टे!

मैले यो वर्षको पहिलो डेंगु बिरामीलाई एक महिनाअगाडि परामर्श दिएको थिएँ। तर, सो समयमा थप डेंगु संक्रमितहरु थिए/थिएन भन्नेमा भने अनभिज्ञ नै थिएँ। हरेक वर्षको दसैं-तिहारमा म बिरामीको सेवामा अस्पताल जाने गर्छु। र, सो समयमा डेंगु बिरामी देखिनु अपेक्षित नै हुन्छ। तर, एक डेंगु संक्रमितले परामर्शको क्रममा सीतापाइला, घट्टेकुलो क्षेत्रमा व्यापक डेंगु फैलिएको जानकारी दिँदै गर्दा त्यो मेरो लागि भने अप्रत्याशित नै थियो।

सो क्षेत्रबाहेक कोटेश्वर, कुपन्डोल, चन्द्रागिरी आदि ठाउँहरुमा पनि डेंगुका बिरामीहरु देखिन थालेका छन्। डेंगु मानिसबाट मानिसमा सर्ने नभई संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ। एडिस जातको लामखुट्टेको टोकाईबाट यो रोग सर्ने हो। यो कालो-सेतो छिरबिरे रंगको हुन्छ। डेंगु मुख्यत: इजिपटाई र एल्बोपिक्ट्स नामक एडिस लामखुट्टेले सार्ने गर्दछ। एल्बोपिक्ट्स एडिस लामखुट्टेलाई ‘एसियन टाईगर’ लामखुट्टेको नामले पनि चिनिने गरिन्छ। लामखुट्टे र त्यसको बासस्थान पहिचान गर्न सके मात्र डेंगु प्रशारणमा ब्रेक लगाउन सकिन्छ।

सन् २००९ देखि २०१० सम्म गरेको एक अनुसन्धानले काठमाडौं र ललितपुरमा ‘एसियन टाईगर’ लामखुट्टे प्रशस्त भएको देखिएको थियो। यसको शरीर कालो-सेतो छिरबिरे रंगको देखिन्छ। यो विशेषत: बिहान र सुर्यास्त हुनु भन्दाअगाडि बढी सक्रिय हुने वा टोक्ने गर्दछ। लामखुट्टेको वृद्धि, विकास सबैभन्दा बढी फालिएका टायरहरुमा तथा फलाम/प्लास्टिकका ड्रमहरु हुने अनुसन्धानले देखाएको थियो।

पछिल्लो समय काठमाडौं तीव्र गतिमा शहरीकरण हुँदै गएको र त्यसैको अनुपातमा यातायातका साधनहरु पनि बढ्दै जाँदा फालिएका टायरहरुको व्यवस्थापन गर्न नसक्दा लामखुट्टेको वृद्धि तथा विकास सहज बनेको देखिन्छ। फलस्वरूप, डेंगु तीव्र गतिमा फैलने वातावरण बनेको/बन्दै गएको देखिन्छ। ‘एसियन टाईगर’ लामखुट्टेको उत्पत्ति दक्षिणपूर्वी एसिया भएको मानिन्छ।

लामखुट्टेले टोकेको ४ देखि १० दिन सम्ममा डेंगुको लक्षणहरु देखिने गर्दछ। मैतीदेवीबाट आएका एक डेंगु संक्रमित महिलाले सुरुमा शरीर चिलाउले गरेको र त्यसपछि उच्च ज्वरो आउने र आँखाको गेडी दुखेको अनुभव सुनाएकी थिइन्। यी लक्षणबाहेक अत्याधिक टाउको दुख्ने, मांशपेशीमा विशेष गरेर पिँडुलाको मांशपेशी धेरै दुख्ने गर्दछ। त्यस्तै जोर्नी पनि दुख्ने हुन्छ। कसैकसैलाई वाकवाकी लाग्ने गर्दछ। यी लक्षणहरु ‘एसियन टाईगर’ लामखुट्टेबाट नै सर्ने चिकनगुनिया तथा जीका भाइरससँग पनि केही हदसम्म मिल्ने भएकोले रगतको परीक्षण अनिवार्य हुन्छ।

नेपालमा हाल आरडिटी किट प्रयोग गरेर डेंगु निदान गर्ने गरिन्छ। रगत परीक्षणमा प्लेटेलेट्स, श्वेत रगत, हेमाटोकृतको संख्याको आधारमा संक्रमितको अवस्थाको बारेमा थाहा पाउन सहज हुन्छ। धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा डेंगु जटिल अवस्थामा जान सक्छ। निरन्तर बान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलेजोको आकार बढ्नु, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नु र हेमाटोकृत बढ्ने अवस्थालाई डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ र यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिनु पर्दछ।

डेंगु संक्रमितले ज्वरो/शरीर दुखेमा सिटामोलको प्रयोग गर्न सकेता पनि ब्रुफेन, एस्पिरिन, फ्लेक्सनजस्ता पेनकिलर औषधीहरुको प्रयोग भने गर्नु हुँदैन। यसले संक्रमितमा रक्तश्राव गराउने सम्भावना हुन्छ। धेरैले ज्वरो घट्नेबित्तिकै डेंगु निको भयो होला भन्ने सोच्छन् तर, यसको ठीकविपरीत घटेको २४ देखि ४८ घण्टामा संक्रमित जटिल अवस्था जान सक्ने सम्भावना हुन्छ।

डेंगु फैलदा विगतमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने गरिन्थ्यो। ‘एसियन टाईगर’ लामखुट्टे विशेषत: फालिएका टायरहरुमा बढी देखिएकोले मोटर कलकारखाना भएका ठाउँ वरिपरी लामखुट्टेका लार्भाहरु खोज्नु पर्दछ। त्यस्तै घर वरिपरी वा घरभित्र पनि जम्मा गरिएका स्थिर पानीमा बेलाबेलामा लामखुट्टेको लार्भा भए/नभएको निश्चित गर्नु पर्दछ। ‘एसियन टाईगर’ अरु प्रजाति लामखुट्टेको तुलनामा बढी आक्रामक र धेरै मानिसलाई टोक्दै जाने भएकोले डेंगु छोटो समयमा व्यापक फैलने गर्दछ। हाल काठमाडौंमा ‘एसियन टाईगर’ लामखुट्टे आक्रामक भएकोले डेंगु पनि तीव्र गतिमा फैलिइरहेको छ। तसर्थ यसको लागि जतिसक्दो चाडो नियन्त्रणका उपायहरु अपनाउनु पर्दछ। सम्बन्धित निकाय र स्थानीय मिलेर लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई अगाडि बढाउन ढिलाई गर्नु हुँदैन र सँगसँगै डेंगुसम्बन्धी जानकारीमूलक कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्दछ।

-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *