१४७ दिनमा जन्मिएका शिशुले राखे विश्वरेकर्ड

अमेरिकामा जन्मिएका एक शिशुले विश्वकै सबैभन्दा ‘प्रिम्याच्योर (अवधि नपुगि जन्मिएको)’ बच्चाको रेकर्ड राखेका छन्। अलाबामाको बर्मिङघममा जन्मिएका कर्टिन्स मीन्स नामका ती बच्चाको जन्म २०२० को जुलाईमा भएको थियो। उनलाई हालैमात्र गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड्सले प्रमाणपत्र दिएको हो।
२१ सातामै जन्मिएका ती बच्चा जन्मको समयमा आधा किलो तौलका थिए।
सामान्यतः गर्भावस्थाको समय ४० हप्ताको हुन्छ। तर कर्टिन्स २१ हप्तामै जन्मिएका थिए। अर्थात्, उनी अन्य बच्चाको तुलनामा १९ हप्ता पहिल्यै जन्मिएका थिए।
कर्टिन्ससँगै जन्मिएको अर्को जुम्ल्याहा शिशुको भने केही समयमै मृत्यु भएको थियो।
यति कम समयमा जन्मिएका शिशु जिउँदो रहने सम्भावना एक प्रतिशतभन्दा कम हुन्छ। तर डाक्टरहरुले आशा छाडेनन्। कर्टिसलाई आइसीयूमा भर्न गरियो र डाक्टरहरुले उनको हेरविचारमा जुटिरहे।
करिब ३ महिनापछि कर्टिन्सको भेन्टिलेटर हटाइयो। २७५ दिन अस्पतालमा रहेपछि उनी डिस्चार्ज भए।
तर चुनौती अझै सकिएको थिएन। डाक्टरहरुले कर्टिन्सलाई मुखबाट खाना खुवाउन सिकाउनु थियो। डाक्टरहरुले उनलाई मुखबाट सास लिन र खाना खान सिकाए।
बर्मिङघमको अलाबामा विश्वविद्यालयका नियोनेटोलोजिस्ट डा ब्रायन सिम्सले गिनिज बुकसँग भनेका छन्, ‘म करिब २० वर्षदेखि यो पेशामा छु, तर मैले कुनै पनि बच्चालाई यस्तो मजबूत देखेको थिइनँ। उसमा केही विशेष थियो।’
यसअघि प्रिम्याच्योर बच्चाको रेकर्ड विस्कन्सिन्समा जन्मिएका रिचर्ड हचिन्सनको नाममा थियो। उक्त बच्चा २१ साता २ दिनमा जन्मिएको थियो।
रिचर्डअघि ३४ वर्षसम्म यो रेकर्ड ओटावामा जन्मिएका बच्चाको नाममा थियो। उक्त बच्चा २१ साता ५ दिनमा जन्मिएका थिए।