२४ अस्पतालबाट फाइजर लगाइँदै , यी दीर्घरोगीले लगाउन पाउँछन् खोप

हेल्थपोस्ट नेपाल

कोभिड–१९ विरुद्वको फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्ष माथिका दीर्घ रोगीलाई दिइने भएको छ। कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

यस्तै प्रदेश १ को मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ।

बागमती प्रदेशको चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।
लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

कसले पाउँछन् खोप?
– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ।

फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ। फाइजर खोपको दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।



One thought on “२४ अस्पतालबाट फाइजर लगाइँदै , यी दीर्घरोगीले लगाउन पाउँछन् खोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *