जनगणना भोलिदेखि, राष्ट्रपतिको विवरण संकलन गरी सुरु गर्ने

हेल्थपोस्ट नेपाल

१२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि सुरु हुने जनगणनाका लागि ४० हजार गणक फिल्डमा खटिने भएका छन् । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन्।

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने विभागले जनाएको छ। यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । विवरण संकलन पछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन्।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतस् एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ।

भारतले अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा

विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना का लागि विभिन्न विकल्पका बारेमा छलफल भइरहेकाे जनाएकाे छ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *