जहाँ बाबुआमाले खुलेआम बेच्छन् आफ्नै सन्तान

हेल्थपोस्ट नेपाल

हामी जब हेरात सहरबाट बाहिरियौं, भीडभाडयुक्त सडकपछि एउटा लामो र खाली राजमार्गमा पुग्यौं। त्यसक्रममा फेला परेका तालिबानका दुई चौकीले बताइरहेका थिए अफगानिस्तानमा कसले शासन गरिरहेको छ।

पहिलो चौकीमा भेटिएका युवक निकै मिलनसार थिए। तर उनले हाम्रो कार र अफगानी संस्कृति मन्त्रालयले दिएको पर्मिटलाई राम्रोसँग हेरे।
जब हामी त्यहाँबाट निस्कनै लागेको थियौं, काँधमा एसल्ट राइफल बोकेका एक व्यक्तिले मुस्कुराउँदै भने, ‘तालिबानबाट नडराउनुस्, हामी राम्रो मान्छे हौं।’

 

तर दोस्रो चौकीका भेटिएका पहरेदार अलिक फरक थिए–चिसा र अलि खतरनाक पनि।

तपाईंले अड्कल पनि काट्न सक्नुुहुन्न कस्ता खालका तालिबानसँग भेट हुन्छ भनेर। तालिबानका केही लडाकूले विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै केही अफगान पत्रकारलाई निर्दयतापूर्वक पिटेका थिए। र, हालै सार्वजनिक एक अनलाइन भिडियोमा एक विदेशी फोटोग्राफरलाई बन्दुकको कुन्दाले पिटिरहेको देखिएको थियो।

भाग्यवश हामी दुवै चेकप्वाइन्टले चाँडै नै बाहिरिन पायौं। तर एउटा कुुरा हाम्रालागि चेतावनीजस्तै लागिरहेको थियो। उनीहरुले भनेका थिए–हाम्रो बारेमा राम्रो कुरा लेख्ने तय गर्नुहोला।

एक बच्चाको मूल्य ६५ हजार
हेरातबाट करिब १५ किलोमिटर टाढा माटो र इँटाले बनेको घर भएको वस्तीमा पुग्यौं। वर्षौंको लडाइँ र सुख्खाका कारण विस्थापित भएर टाढा–टाढाबाट मानिसहरु आफ्नो घर छाडेर यहाँ आएका थिए। जसको उद्धेश्य थियो–सहरमा काम र सुरक्षा पाइयोस्।

हामी कारबाट ओर्लँदा धुलो उड्यो। हावामा एक खालको चिसोपना थियो, जो केही सातामा मुटु छेड्ने जाडोमा परिवर्तन हुँदैथ्यो।

मानिसहरुले गरिबीको पीडाका कारण आफ्नो बच्चा बेचिरहेका छन् कि छैनन् भनेर पत्ता लगाउनुथियो हामीलाई। पहिलोपटक यसबारे सुनेपछि मैले मनमनै सोचेको थिएँ–यस्ता एकाध घटना होलान्। तर त्यहाँ मैले जे भेटेँ, मैले कल्पना पनि गरेको थिइनँ।

हामी त्यहाँ पुगेको केहीबेरमै एक व्यक्तिले हाम्रो टोलीका एक सदस्यसँग सोधे–के तपाईंहरु मेरो बच्चालाई किन्नुहुन्छ? ती व्यक्ति बच्चा बेचेवापत् ९ सय डलर मागिरहेका थिए। मेरो सहयोगीले उनलाई सोधे–तपाईं आफ्नो बच्चा किन बेच्न चाहनुहुन्छ? ती व्यक्तिले भने–मेरा ८ बच्चा छन्, तर मसँग उनीहरुलाई खुवाउने कुरा केही छैन।

६ महिनाकी यी बालिका बेचिइसकेकी छन्। हिँड्न सक्ने भएपछि यिनलाई किन्ने मानिसले लैजानेछन्।

हामी केही अगाडि बढ्यौं। एक महिला आफ्नी छोरी लिएर हामी भएतिरै आइन्। उनी हडबडाउँदै छिटोछिटो बोलिरहेकी थिइन्। हाम्रा अनुवादकले भने–उनले पैसाको अति आवश्यक भएर डेढ वर्षकी काखे बच्चालाई पहिल्यै बेचेको बताइरहेकी छिन्।

हामीले उनलाई केही सोध्नुअघि नै हाम्रो वरपर भीड जम्मा भयो। त्यो भीडबाट एक युवकले पनि आफ्नो १३ महिनाकी भान्जीलाई पहिल्यै बेचिदिएको बताए। घोर प्रान्तको एक आदिवासी समुदायका व्यक्तिले उनलाई किनेका थिए। किन्ने मान्छेले अब ती बच्ची ठूली भएपछि आफ्नो छोरासँग बिहे गरिदिने बताएका छन्।

बेचिएका यी बालबालिकाको भविष्यका बारेका कसैले पनि केही बताउन सक्दैन।

एक घरमा हामीले ६ महिनाकी बच्चीलाई झोलुंगामा सुतिरहेको देख्यौं। थाहा पायौं–तिनी पनि बेचिइसकेकी रहिछन्। अब उनी हिँड्न सक्ने भएपछि उनलाई पनि क्रेताले लैजानेछन्।

परिवारका बाँकी सदस्यलाई बचाउन आफ्ना सन्तान बेच्न बाध्य छ यो परिवार। उनका अरु दुई दाजुहरु छन्। यो परिवारले खान नपाएर कैयौं दिन भोकै बिताउनुपर्‍यो। बाबु फोहोर संकलन गरेर गुजारा चलाउँछन्।

उनले भने, ‘अधिकांश दिन म धेरै कमाउन सक्दिनँ। कमाएका नभएका बेला हामी ६–७ वटा रोटी किन्छौं। बाँडेर खान्छौं। मेरी पत्नी छोरीलाई बेच्न चाहँदिनन्। त्यसैले तनाव भएको छ। तर म लाचार छु। जिउने अरु कुुनै बाटो बचेन।’

मैले उनको पत्नीको आँखालाई अझै बिर्सन सकेको छैन। उनको आँखाका आक्रोश र लाचारी दुवै देखिइरहेको थियो। छोरी बेच्दा आएको पैसाले उसलाई जिउँदो राख्न मद्धत गर्छ। उसलाई खुवाउने खाना उपलब्ध हुन्छ। तर, त्यो केवल केही समयका लागि मात्र।

हामी त्यहाँबाट निस्कनै लाग्दा हामी भएतिर एक महिला आइन्। पैसाको इशारा गर्दै उनी आफ्नो बच्चा हामीलाई सुम्पन तयार थिइन्।

यी महिलालाई आफ्नी अवोध छोरी बेच्न मन छैन, तर पेट पाल्नका लागि त्यसो गर्न बाध्य छिन्।

यस्तो अवस्था हामीले सोचेका पनि थिएनौं

हामीले त यतिधेरै परिवार आफ्नो बच्चा बेच्न बाध्य छन् भनेर कल्पना पनि गरेका थिएनौं। यसबारेमा आपसमा खुलेर कुरा गर्नु त परको कुरा।

हामीले पाएको सूचनाबारे जानकारी दिन हामीले राष्ट्रसंघको युनिसेफमा सम्पर्क गर्‍यौं। युनिसफेका अधिकारीहरुले यस्ता परिवारसम्म पुग्न र उनीहरुलाई सहयोग गर्न प्रयास गर्ने वचन दिए।

अफगानी अर्थव्यवस्था वैदेशिक सहयोगबाट चलिरहेको छ। तालिबानले गत अगष्टमा सत्ता हातमा लिएपछि त्यस्ता सहयोग रोकिए। यसको अर्थ थियो–सबै खालको सरकारी खर्च, चाहे त्यो सरकारी कर्मचारीको तलब होस् या विकास कार्य, सबै ठप्प भए।

यसबाट अर्थव्यवस्थाको तल्लो तहमा रहेका मानिसहरुको अवस्था तहसनहस भयो। यो अवस्था गत अगष्टबाट सुरु भयो।

मानवअधिकारको रक्षाको ग्यारेन्टी नहुँदासम्म र वैदेशिक सहयोगको खर्च कसरी हुन्छ भन्ने पत्ता नलगाई तालिबानलाई पैसा दिनु खतरनाक हुन्छ। तर समस्या समाधानकोे उपाय प्राप्त नहुँदासम्म दिन प्रतिदिन अफगान नागरिकहरु भोकमरीतर्फ उन्मुख हुन बाध्य छन्।

हामीले हेरातमा जे देख्यौं, यसबाट के स्पष्ट हुन्छ भने बाहिरी सहयोग विना अफगानिस्तानका लाखौं मानिस यो चिसो मौसम बिताउन सक्नेछैनन्।

बिबिसी हिन्दीबाट

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *