…अनि अध्ययन खर्च जुटाउन मैले आफ्नो ‘प्रजनन अण्डा’ बेच्न थालेँ

मेरा आँखा बिस्तारै खुले। मेरो वरिपरी चार नर्स थिए र मलाई घोप्टो पारेर राखेका थिए। मेरो दिमागमा रगतको बहाब दिन हल्लाइरहेका थिए। जब म होसमा आएँ तब झसङ्ग भएँ। के मैले सही गरेँ, के १० हजार डलरका लागि मेरो त्याग ठीक छ?
सात महिनाअघि कोलम्बिया युनिभर्सिटी स्कुल अफ जर्नालिजमको लागि छानिएँ। म एकदमै उत्साहित थिएँ, तर उक्त विश्वविद्यालयको शूल्कले तर्सें। १ लाख १६ हजार डलर शूल्क, त्यो पनि ट्युसनको मात्रै। त्यहाँ बस्ने, खाने खर्च छुट्टै लाग्ने।
कोलम्बिया युनिभर्सिटी पत्रकारिता अध्ययनका लागि निकै राम्रो मानिन्छ, तर म जस्ताको लागि यो निकै महँगो र पहुँचबाहिरको कुरा हुन थाल्यो।
धन्न आधा पैसा त विश्वविद्यालयको छात्रवृत्तिले व्यहोर्छ। तर, बाँकीको खर्चका लागि मैले काम गरेर व्यहोर्नुपर्ने हुन्छ। त्यसको लागि मैले चाँडो पैसा कमाउने बाटो रोजेँ : डिम्बग्रन्थिको अण्डा दान।
०००
एक दिन बिहानै न्युयोर्क सहरको एक क्लिनिकमा पिसाब जचाउँन हिँडे। चार महिनादेखि मैले मेरो परिवारसँग ढाँटिरहेकी थिएँ। परिवारको खुला सोच नभएको कारण मैले परीक्षा छ भन्दै ढाँट्दै अण्डा दान गर्न हिँड्थेँ। भन्नलाई अण्डा दान गर्ने भनिन्थ्यो, तर वास्तवमा म आफ्नो प्रजनन अण्डा बेच्न हिँडेकी थिएँ। मलाई सामान्य कामभन्दा यसबाट कैयौं गुणा बढी पैसा आउँथ्यो।
मैले आफैं अण्डा दान गर्ने क्लिनिकमा फोन गरेको थिएँ। विश्वविद्यालयले स्वागत गर्ने दिनभन्दा पहिले मैले यो विचार गरेको थिएँ। पहिलो पटक मेरो साथीबाट अण्डा दानको कुरा सुनेकी थिएँ। कामको चापले गर्दा पढाई राम्ररी हुन सक्दैनथ्यो, र विश्वविद्यालयमा पनि पढाईको समयमा काम नगर्नु भन्ने निर्देशन दिएका थिए।
त्यसैले मैले गुगल सर्च गरेँ, आफ्नो नयाँ करिअर समातेँ। म मात्र यसबारे खोज गर्ने व्यक्ति रहेनछु। अण्डा दान गर्नेहरुले हजारौं कमाएका रहेछन्।
अमेरिकाको सिडिसिले यसबारे दशकअगाडि नै पत्ता लगाएको रहेछ। यसका अनुसार आइभिएफको माध्यमबाट बच्चा बनाउन अण्डा दान गर्ने रहेछ। सन् २००७ मा ५ हजार र २०१६ मा १३ हजारभन्दा बढीले अण्डा दान गरेका रहेछन्।
मलाई चिकित्सकहरुले राम्रो व्यवहार गरे ताकी म फेरि पनि दान गर्न आइरहुँ। उनीहरुका लागि म बिरामी नभई एक प्रोडक्ट थिएँ।
मेरो जीनको परीक्षण गरियो ताकी कुनै रोग छ वा छैन बुझ्न सकियोस्, सिस्ट, फ्राजाइल एक्स सिन्ड्रोम–अटिजम छ वा छैन हेर्न, पिसाबसम्बन्धी रोग तथा एमिनो एसिडजस्ता परीक्षण गरियो।
जाँचको रिपोर्ट आउँदा मलाई तीन खालका जेनेटिक कन्डिसनहरु देखिए, डिस्ट्रोफिक इपिडरमालाइसिस बुल्सोवा–छालासम्बन्धी खराबी, मेटाक्रोमेटिक ल्युकोडाइस्ट्रोफी– दुर्लभ आनुवंशिक विकार र नन् सिन्ड्रोमिक हेरिङ लस। यो सुनेर मेरो सातो गयो। तर, क्लिनिकमा मानिसहरुले मलाई कहिलेकाहीँ साना जेनेटिक डिस्अर्डर पोजिटिभ आउनु सामान्य हुने भन्दै सान्त्वना दिए।
इपिडरमालाइसिस बुल्सोवाको कुनै उपचार छैन, र यो डिस्अर्डर लिएर जन्मेकाहरु छालाको क्यान्सर हुने खतरा हुन्छ। त्यसैले क्लिनिकका मानिसले मलाई फिनल्याण्डका फिनिसहरुसँग लभ नगर्नु किनकी उनीहरुमा पनि यस्तो समस्या हुन्छ भनेर जिस्केरै भने।
सबैजनासँग केही न केही जेनेटिक रोग हुँदो रहेछ, र मसँग पनि रहेछ, जसले मेरो सन्तानमा विभिन्न खालका विकार हस्तान्तरण हुने रहेछ। यतिमात्र होइन, अण्डा दान गर्नुअगाडि मेरो सबै रुप रङ्ग पनि हेरे। मेरो खैरो कपाल, निलो आँखा, सेतो छाला, शरीरको बनावट, पर्सनालिटी, शिक्षा आदि। यसवापत उनीहरुले मलाई १० हजार डलर पैसा दिँदै थिए।
०००
त्यसपछि मलाई मनोचिकित्सककोमा लगियो। उनले मलाई दान गर्न म तयार भए–नभएको बुझ्न खोजेकी थिइन् भने मेरो आइक्युको परीक्षा पनि लिइन्। यो न्यूयोर्कको नियम नै रहेछ।
मलाई लाग्यो, मेरो अण्डा मेरो रहेन, र मैले बच्चा अरुलाई दिन लागेको होइन खाली एक समयको महिनावारी मात्र दिएको भन्ने बुझ्न केही समय लाग्यो। मेरो सहयोगले बच्चा नहुने जोडी सन्तानको सुःख लिँदैछ। मेरो अनुहारको बालबालिका संसारभर घुम्नेछन् भन्ने सोचेर मेरो मन आनन्दीत भयो। त्यसपछि भविष्यमा मेरो पनि आफ्नै सन्तान बनाउने रहर जाग्यो र मेरो अण्डा लिने महिलाको कल्पनामा डुब्न थालेँ।
कस्ती होली ती महिला? हसिलि? कस्तो खालको खाजा पठाउँछिन् होला बच्चालाई विद्यालयमा, उनी सोजी होलिन्? उनले बच्चाको हात समाएर माया गर्लिन्?, यावत कुरा दिमागमा खेल्न थाल्यो।
०००
मलाई परिवार नियोजनको औषधी दिइएको थियो। एकदिन उक्त औषधी लिन जाँदा क्लिनिकका मानिसले माफी माग्दै मसँग म्याच गर्ने कुनै क्लाइन्ट नभएको बताइन्।
उनले म यति राम्रो वस्तु भएर पनि क्लाइन्ट म्याच नभएको भनेपछि अचम्म लाग्यो। अण्डा निकाल्ने केही दिनअघि म सोचमग्न भएँ।
मेरो शरीरमा हर्मोन पठाउनुअघि मैले मानसिक जिम्नास्टिक गरेको थिएँ। विभिन्न खालको औषधी चढाउनु पर्थ्यो। मेरो पाठेघरमा दुईवटा हर्मोन राखेर १० देखि २० वटा अण्डा उत्पादन गरिएको थियो। सामान्यतः ओभुलेसनको समयमा एउटामात्र अण्डा उत्पादन हुने गर्दछ।
अन्तिम चरण, अण्डा निकाल्ने दिन म निःशब्द भएँ। हरेक दिन मलाई इन्जेक्सन दिइन्थ्यो। सातपटक अल्ट्रासाउन्ड गरेर थाकीसकेको थिएँ। मलाई अपरेसन गर्न मन थिएनँ। सुईं लगाएर लामो सास फेरेँ।
०००
मैले इन्टरनेटमा विभिन्न उमेर समूहका महिलाहरुले अण्डा दान गरेका र उनीहरुको अनुभवकाबारे सर्भे गरेँ। बाँझोपन भएका महिलाहरुले आइभिएफ र सरोगेसी गरेका बारे धेरै कुरा लेखिएको थियो तर अण्डा दान गर्ने र लिनेले एकआपसमा सहयोग गरेको केही देखिएन।
तर, दान गर्नेले फरकफरक रकम बुझेको सामाजिक सञ्जालमा भेटियो। ३ हजारदेखि २० हजार डलरसम्म पाउने गरेका रहेछन्, जसले महिलाहरुले आफ्नो खर्च टार्ने, पढाई लोन तिर्नेदेखि घुम्ने रहेछन्।
कतिपयले त विज्ञापनमार्फत अण्डा दान गरेका रहेछन्।
जुविस, चाइनिज, भियतनाम, कोरियन तथा एसियन अण्डा दिनेको १० हजार डलर भने अलि इन्टेलिजेन्ट अण्डा दातालाई ४० हजार डलरसम्म दिने रहेछ।
पैसा कमाउने भए पनि कतिपय महिलाले भने धोका पाएका रहेछन्। कतिको अण्डा चोरी हुने त कतिलाई भनेको जति पैसा नदिने रहेछ।
यस्तो समस्या बढ्न थालेपछि अर्गनाइजेसनले डोनर र अभिभावक मिलेपछि मात्र यसको प्रकृया सुरु गर्न थालिएको थियो। अभिभावकहरुले डोनरहरु इन्टरनेटबाटै हेरेर छान्ने रहेछन्।
मेरो साथीले चारपटक अण्डा दान गरिसकिन्। उनलाई पैसाको आवश्यकता भएर त होइन, तर खर्च गर्न भए पनि यसलाई निरन्तरता दिएकी थिइन्। तर, उनले सन्तान नहुने आमाबुवाको पीडा तथा अण्डा लिएर पनि लामो प्रकृयामा जानुपर्ने वाध्यतालाई बुझेर पैसा नलिई पुनः अण्डा दान गर्ने विचार गरेकी छिन्। उनले ६ पटकसम्म अण्डा दिने बिचार सुनाइन्। ६ पटकसम्म मात्र एक महिलाले अण्डा दान गर्न सक्छिन्।
अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेसिनले सार्वजनिक गरेको एक रिपोर्टअनुसार ८८ प्रतिशत अण्डा दान गर्नेलाई ५ हजार डलर मात्र दिने गरेको छ।
डोलान वेल्सले पनि अण्डा दान गरेकी छिन्। दुईपटक आफू रोजगार नभएको समयमा उनले गरेकी थिइन्। त्यतिबेला उनले भाडा तिर्न दान गरेकी हुन् भने तेस्रो पटक ट्युसन फि तिर्नका लागि दान गरेकी थिइन्।
सन् २०१६ मा प्रजननका लागि प्रयोग गरिने औषधीले पाठेघरको क्यान्सर गराउने अध्ययनले देखाएको छ।
२०१७ मा हर्मोन थेरापीका कारण महिलाहरुमा स्तन क्याक्सर भएको द डोनर सिब्लिङ रेजिस्ट्रको रिर्पोटले देखाएको छ।
हरेक वर्ष हजारौं महिलाहरुले अण्डा दान गर्ने तथा हर्मोन थेरापी लिने गरेका छन्। उनीहरुलाई यसको असरका बारे थाहै छैन। धेरैजसो महिलालाई पछि गएर हुने रोग तथा असरबारे मतलब नै छैन। उनीहरुलाई खाली पैसाको मात्र मतलब छ।
०००
मेरो पहिलो दानमा म खुसी थिएँ। बेहोस हुने, आफूलाई वस्तु ठान्ने, सुईंको दुखाईबाहेक मलाई यो प्रकृया राम्रो लागेको थियो।
तर, पछि क्लिनिकको व्यवहार देखेर आफैंमा दया जागेर आयो। मेरो अपोइन्टमेन्ट मेरो पहुँचभन्दा टाढा राख्ने, मैले नाईं भन्दा पनि नमान्ने। मैले अँध्यारोमा आफैंलाई छुरा घोपेजस्तो लागिरहेको थियो। मैले कति औषधी खाने, कहिले खाने पनि भनिएन। मेरो शल्यक्रिया कहिले हुन्छ भन्नेकुरा पनि मलाई थाहा थिएन।
शल्यक्रिया गर्ने अघिल्लो दिनमा मात्र मलाई खबर गरियो, मलाई रिस उठेर आयो र नर्सलाई किन छोटो समयमा मलाई सूचना दिइयो भने प्रश्न गरेँ, तर उनीहरु नाजवाफ भए।
मेरो पाठेघर ठूलो हुन थाल्यो र भारी लाग्न थालेको थियो। मलाई पेट भारी लागेर अप्ठ्यारो महसुस भइरहेको थियो।
मेरो अन्तिम अपोइन्टमेन्टमा मलाई नरमाइलो लाग्यो। मैले आफ्नो आर्टिकलमा लेखेँ ‘मलाई राम्रो व्यवहार भएन, मलाई जान्न मन लाग्यो, के मेरो अण्डा लिने महिलालाई यी कुराबारे जानकारी होला?’
म मेरो १० हजार डलरको चेक पाउने आशामा थिएँ। न्यूयोर्क जस्तो महँगो सहरमा जीवन बाँच्न निकै कठिन भइरहेको थियो र मेरो पर्स दैनिक रुपमा खाली हुँदै थियो। चेक आएपछि काम गर्नुपर्ने तनाव कम हुने र पढाई राम्ररी अगाडि बढाउने सपना देख्दै थिएँ।
मेरो शल्यक्रिया सात मिनेट जति लामो थियो। म एक दिन अस्पतालको शय्यामा र आधा दिन आफ्नो घरको खाटमा थिएँ। मेरो पेट एकदमै दुखिरहेको थियो। मलाई दुखाई कम गर्ने औषधी दिइएको थियो। धन्न मेरो दुखाई धेरै थिएन।
‘म पुनः अण्डा दान गर्नेछु, तर यसको असरबारे पनि चिन्तित छु। तर, यो सोचेर अण्डा दान गर्दिनँ पनि भन्न सक्दिन होला,’ मैले मेरो जर्नलमा लेखेँ।
(द गार्जियनबाट अनिता श्रेष्ठले गरेको अनुवाद।)