काठमाडौंमा चिसो ‘माइनस’सम्मै पुग्नसक्ने, कसरी सावधानी अपनाउने?

हेल्थपोस्ट नेपाल

शरद यामको घाम अहिले नै त्यत्ति धेरै ‘पारिलो’ छैन। शरद भनेको हिउँद यामको सुरूवात र वर्षाको समाप्तीको सिमाना हो।

मनसुन सकिए पनि दुई साताअघि अचानक भएको वर्षाका कारण देशमा ठूलै जनधनको क्षति भयो। सयौ मानिसको ज्यान गयो अनि अर्बौंको बालीनाली नष्ट भयो।

जब वर्षा थामियो फेरि एकाएक चिसो बढ्न थालेको छ। कात्तिक महिनामै काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीसम्म पुग्यो। आइतबार पनि काठमाडौंको तापक्रम ९.२ डिग्रीमा छ। जब कि जुम्लामा माइनस १ डिग्रीमा झरिसकेको छ।

यस्तो किन भयो?

मौसमविद मञ्जु वासी भन्छिन् ‘यो स्वभाविक प्रक्रिया हो। एकएक बढेको होइन। अब हिँउद सुरू हुन लागिसक्यो। यो चियो यसैको संकेत हो।’ उनका अनुसार मौसम परिवर्तनको कारण पनि हो।

हिउँदको सुरूवातमै यति चिसो भइसक्यो। जुम्लामा तापक्रम माइनसमा झरिसक्यो। बितेको १० अघि १७ डिग्रीसम्म रहेको काठमाडौंको न्यूनतम तापक्रम पनि ८ डिग्रीसम्म झरिसक्यो। हिउँदका महिना अझ सिङ्गै छन्। मंसिर र पुसको महिना झन् धेरै चिसो हुने महिना हुन्।

अहिले नै यति घटिसकेको काठमाडौंको तापक्रम पछि झन् कतिसम्म पुग्ला?

‘त्यो त झन् घट्न पनि सक्छ। किनकि अघिल्लो वर्ष पनि काठमाडौंको तापक्रम ० डिग्रीसम्म पुगेको थियो’ मौसमविद वासीले भनिन् ‘काठमाडौंमा यसअघि माइनस ३.५ सम्म पनि पुगेको रेकर्ड छ।’

सन् १९८७ जनवरी ११ (२०४३ साल पुस २७ गते) काठमाडौंको तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो। विगत केही वर्षअघि यही महिनामा काठमाडौंको तापक्रम १.३ सम्म रेकर्ड पनि भएको थियो।

माइनस तापक्रम भनेको हिमपात हुन पनि सक्छ। यद्यपि केही वर्षअघि माइनस नपुग्दै पनि काठमाडौंमा हिउँ परेको थियो।

त्यस्तै यो अचानक बढेको चिसोचाहिँ होइन। तर, मौसमविद वासीका अनुसार यो वर्ष काठमाडौंको तापक्रम माइनससम्मै पनि पुग्नसक्छ सक्छ।

‘अहिलेको एभरेज हेर्दा त माइनससम्म पुग्नसक्छ’ उनले भनिन् ‘किनकि दिनदिनै चिसो बढिरहेको छ। पुसको महिना त झन चिसो हुने समय हो।’

केही दिनदेखि मौसम सफा देखिए रहे पनि आकाश भने धुम्मिएको छ। सोमबारको आकाश पनि धुम्म नै भइरह्यो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानमा बुलुटिनमा पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हिमपात हुने सम्भावना देखाइएको छ।

‘हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ’ विभागले भनेको छ ‘केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ।’

धेरै चिसोमा कसरी सावधानी अपनाउने?

चिसोमा रूघा, खोकीको समस्या सामन्यतया धेरैलाई हुनसक्छ। तर, दम, निमोनिया, स्वासप्रश्वास अनि हातखुट्टा र जोर्नीहरू दुख्ने समस्या धेरै देखिन सक्छन्।

यसले दीर्घरोगी, वृद्धहरू तथा बालबालिकाहरूलाई अझ धेरै सताउन पनि सक्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन् ‘चिसोमा अरू पनि धेरै समस्याहरू आउन सक्छन्। त्यसैले विशेष सावधान हुनुपर्छ।’

अत्यधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, स्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।

चिसो मौसममा श्वासप्रश्वास सम्बन्धी समयस्या, भाइरल इन्फेक्सन, निमोनिया र छालाको संक्रमणको समस्या बढ्ने सम्भावना धेरै हुने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी बताउँछन्।

चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ। मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ।

चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ। चिसो मौसममा हृदयघात, दमको आक्रमण, छाला चिलाउने, जोर्नी दुख्ने, साइनसाइटिस लगायतका रोगले बढी सताउने गर्छ।

चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन चिकित्सकहरूको सुझाव छ। डा. अधिकारीले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए। झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताउँछन्।

– चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन ‘डि’ को कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन्।

– चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ। जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ।

– चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग–सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ।

– जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। महमा आइरन पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

डा. अधिकारीका अनुसार जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन। नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ। दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ।

‘अहिले कोभिड संक्रमणको जोखिम बढी छ। जसले थप जोखिम थपिन्छ। चिसो समस्या देखिँदा तुरुन्तै सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ,’ डा. अधिकारी भन्छन्।

घरेलु उपचार

– तातो पानी पिउने ।

– बेसार, ज्वानो, जिराजस्ता उष्ण खानेकुराको झोल खाने ।

– अदुवाको सुठो बनाएर खाने ।

– केही मरिचका दाना मुखमा राखेर खाने ।

– तुलसीको रसमा मह मिसाएर खाने ।

– एक गिलास तातो दूधमा एक चम्चा बेसार घोलेर खाने ।

– चिल्लो खानेकुरा खाएपछि तातोपानी खाने ।

– न्यानो लुगा लगाउने ।

वायु प्रदुषणको जोखिम

वितेको साता दिल्लीको हावा धेरै प्रदुषित भएको थियो। तर यसपालि त्यो हावा नेपालसम्म आइपुगेन। भर्खरै सकिएको तिहार(दीपावली)का बेला भारतीयले धेरै पटाकाहरू फोडेका थिए र आतीशवाजी पनि गरेका थिए। त्यसैको परिणाम दिल्लीको हावा दुई दिनसम्म प्रदुषित भयो।

उसै पनि भारत विश्वकै सबैभन्दा धेरै वायु प्रदुषण भएको देश हो। विश्वका ३० वटा प्रमुख प्रदुषित सहरहरूमध्य २२ वटा भारतमा छन्। प्रमुख १० कै सूचीमा भारतका तीन सहर पर्छन्। यसमा काठमाडौं सहर ११औं स्थानमा छ।

गत वर्ष पनि नेपालका काठमाडौंलगायत धेरै सहरहरूमा वायु प्रदुषणको मात्रा निकै खतरनाक विन्दुमा पुगेको थियो। काठमाडौं सहर दिउँसै अँध्यारोजस्तो भएको थियो र आँखा पिरो हुनेजस्ता समस्याले मानिस पिरोलिएका थिए।

आइतबार साँझपख पनि सिमरा, पोखरा, बिराटनगर, महेन्द्रनगरलगायतका सहरहरूमा वायु प्रदुषणको मात्रा केही बढेको देखिएको छ। बन तथा वातावरण विभागको ‘एयर क्वालिटी मोनिटरिङ’ इन्डेक्समा बिराटनगर, सिमरा तथा पोखरा र महेन्द्रनगरमा वायु प्रदुषण २.५पिएमको मात्रा १९०भन्दा धेरै देखाइरहेको छ।

सामान्यतया शून्यदेखि ५० सम्मको मात्रा राम्रो र ५१ र १०० बीचमा मात्रा सन्तोषजनक मानिन्छ। तर समग्र नेपालको वायु प्रदुषणको मात्रा भने अहिले औसतमा छ। काठमाडौंमा वायुको गुणवेत्ता सामान्य देखिन्छ।

हिँउद सुरू भइसकेका कारणा धेरै हावा नचल्ने र पानी पनि नपर्ने यो मौसममा वायुमण्डल केही फोहर हुन भनेसक्छ। यो मौसम पनि त्यस्तै हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *