फोहोरले गिज्याइरहेको जनकपुरः अतिथिगृहलाई डम्पिङ साइट बनाउँदै

हेल्थपोस्ट नेपाल

जानकी मन्दिरभित्र र बाहिर मानिसहरूको निकै भीड छ। हुन त यस्ता भीड जनकपुरका लागि नौलो होइन।

तर, अचेल यहाँ देखिन थालेको यो भीड विशेष छ। दीपावली सकेर छठको तयारी सुरू भइसकेको छ। अर्को झन्डै दुई वर्षपछि नाका खुलेकाले जानकी मन्दिरमा पूजाआजा गर्न छिमेकी भारतबाट आउनेहरूको संख्या उल्लेख्य छ।

 

जानकी मन्दिर र राम मन्दिर छेउछाउ भारतीय नम्बर प्लेटका गाडीहरू लामबद्ध भएर राखिएका हुन्छन्। हरेक दिन सयौंको संख्यामा भारतीय गाडीहरू जनकपुर आउन थालेका छन्।

कोरोनाका कारण लगभग दुई वर्ष पर्यटकविहीन भएको जनकपुरका व्यवसायीहरूलाई भारतीयहरूको आवागमनले ऊर्जा थपेको छ। लामो समय मलीन उनीहरूका अनुहारमा केही भए पनि खुसी छाएको छ।

जानकी मन्दिरको दक्षिणमा छ, सोना बजार। पुरानो बजार भएकाले यसलाई पुराना बजार पनि भनिन्छ। यहाँका अधिकांश पसल गरगहनाका छन्। दीपावली र छठका बेला ठीकै खालको भीडभाड हुन्छ।

तर, त्यहाँ आउने ग्राहक र व्यवसायीहरूलाई हरेक क्षण फोहोरले गिज्याइरहेको हुन्छ। बीच सडकमै फोहोरको थुप्रो छ। नाक थुनेर ती फोहोर छिचोल्दै मानिस आउजाउ गरिरहेका हुन्छन्।

दिनरात लगाएर पसल सरसफाइ गरेका व्यवसायीहरू फोहोरको डंगुरकैबीच दीपावली मनाउन बाध्य भए।

जानकी मन्दिरको उत्तरतर्फ छ, अंगराजसर पोखरी। निश्चल, पवित्र र ऐतिहासक महत्व छ त्यो पोखरीको छ। त्यहाँका पक्की घाटहरूमा बसेर गर्मी छल्नेहरूको ठूलो भीडभाड हुन्छ। तर अंगराजको पूर्वी डिलको सडक पनि फोहोरले भरिएको छ।

फोहोरका बीच दीपावली मनाएका जनकपुरवासीलाई अब छठ पनि त्यसैगरी मनाउनुपर्ने हो कि चिन्ताले सताउन थालेको छ। दीपावलीमा सरसफाइका लागि चासो देखाउन नसकेको उपमहानगरपालिकाले कम्तिमा छठमा पहल गरिदिए हुन्थ्यो भन्ने उनीहरूलाई लागिरहेको छ।
उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब मुस्किलले चार–पाँच महिना बाँकी छ। निर्वाचन आयोगले आगामी चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।

संविधानअनुसार नै सबैथोक अगाडि बढे बढीमा वैशाखसम्म स्थानीय तहको निर्वाचन नगरी सुख छैन। तर, पाँच वर्षको अवधिमा जनकपुरधाम उपमहानगरपालिका फोहोर व्यवस्थापनमा असफल भयो।

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत एशियाली विकास बैंकको सहयोगमा यहाँका प्रमुख सडकहरू निर्माण भइसकेका छन्।

उपमहानगरपालिकाले कम्तिमा फोहोरमात्रै व्यवस्थापन गरिदिएको भए पनि ठूलो काम हुन्थ्यो यहाँका बासिन्दाका लागि।

‘उपमहानरपालिकासँग हाम्रो धेरै अपेक्षा नै थिएन, एउटामात्रै काम थियो सरसफाइ व्यवस्थापन। उपमहानगरपालिकाले चार वर्षमा यति काम पनि गर्न सकेन,’ जनकपुर उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह भन्छन्,‘दीपावली फोहोरमै मनायौंं अब छठ पनि उस्तै हुन्छ कि चिन्ता छ।’

२५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि एडिबीले ४८ करोड ऋण उपलब्ध गराएको थियो।

उपमहानगरपालिकाले तोकिएको अवधिभित्र जग्गा उपलब्ध गराउन नसक्दा दुई वर्षअघि त्यो रकम फिर्ता गइसकेको छ। त्यसयता उपमहानगरपालिकाले ल्यान्डफिल साइट निर्माणका लागि चासो दिएको छैन।

ल्यान्डफिल साइटको अभावमा यहाँका घर, होटल, व्यवसायिक प्रतिष्ठानबाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती देखिएको हो। फोहोर फ्याल्न समस्या हुन थालेपछि उपमहानगरपालिकाले अहिले वडा नम्बर ४ स्थित कार्यालयको अतिथिगृह परिसरलाई प्रयोग गर्न थालेको छ।

पछिल्लो समय एकीकृत सहरी विकास परियोजनाको कार्यालय सञ्चालनका लागि प्रयोगमा ल्याइएको अतिथिगृहमा विशिष्ठ अतिथिहरूको बास हुने गरेको थियो। अहिले अतिथिगृह डम्पिङ साइटको रूपमा प्रयोग हुनथालेको छ।

उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी झा मेयर लालकिशोर साहका कारण फोहोर व्यवस्थापन हुन नसकेको आरोप लगाउँछिन्। चार वर्षमा एकपटक पनि फोहोर व्यवस्थापनका लागि बैठकसमेत नभएको उनको भनाइ छ।

‘सबैभन्दा जरूरी ल्यान्डफिल साइट नै छैन। पटक–पटक भन्दा पनि फोहोर व्यवस्थापनका लागि मेयरले कहिल्यै चासो देखाउनुभएन,’ झा भन्छिन्,‘हुँदाहुँदा अब अतिथिगृह परिसरमै फोहोर फ्याल्ने काम सुरू भएको छ।’

फोहोर व्यवस्थापनकै लागि कार्यपालिकाको बैठक बोलाउन आफूहरूले मेयरसँग माग गरेको उनले बताइन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *